कारोबार


इन्दु शंकरले दिन थाल्यो उखु किसानलाई तुरुन्तै भुक्तानी

७ लाख क्विन्टल उखु क्रसिङ हुँदा किसानको खातामा २८ करोड
इन्दु शंकरले दिन थाल्यो उखु किसानलाई तुरुन्तै भुक्तानी

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८१ मंगलबार १४:४०, सर्लाही

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले क्रसिङ भएको उखुको भुक्तानी किसानलाई एक सातामै दिन थालेको छ।

पुस १७ गतेसम्म किसानको खातामा २८ करोड रुपैयाँ भुक्तानी गइसकेको इन्दु शंकर चिनी उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले जानकारी दिए। 

इन्दु शंकरले सरकारले दिने अनुदानको रकमबाहेक उद्योगको तर्फबाट किसानलाई दिनुपर्ने प्रतिक्विन्टल पाँचसय ८५ रुपैयाँका दरले भुक्तानी तुरुन्तै दिन थालेकाे हो। 

‘हामीले किसानको भुक्तानी रोकेका छैनौँ,’ उनले नेपालखबरसँग भने, ‘क्रसिङ भएको उखुको एक सातामै भुक्तानी दिने गरेका छौँ। तुरुन्तै भुक्तानी पाउँदा किसान पनि खुसी भएका छन्।’ 

गएको मंसिर २७ गतेदेखि सञ्चालन आएको इन्दुशंकरले आज (मंगलबार) बिहानसम्म सात लाख तीन हजार क्विन्टल उखु क्रसिङ गरेको छ। ‘हामीले यस वर्ष ३० लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गर्ने लक्ष्य राखेका छौँ,’ नेपालले भने, ‘यो लक्ष्यमा थोरै तलमाथि हुनसक्छ। तर, यसवर्ष ३० लाख क्विन्टलभन्दा बढी नै उखु क्रसिङ हुने हाम्रो अनुमान छ।’

गत वर्ष इन्दु शंकरले २९ लाख क्विन्टलभन्दा धेरै उखु क्रसिङ गरेको थियो। विगत केही वर्षदेखि इन्दु शंकरले उखु क्रसिङ बढाउँदै लगेको छ। 

विगतका वर्षमा पनि इन्दु शंकरले कहिल्यै किसानको भुक्तानी नरोकेको र भुक्तानी दिनमा ढिलाई पनि नगरेको नेपालले बताए। उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न पनि इन्दु शंकरले तुरुन्तै भुक्तानी दिने नीति लिएको हो। 

तुरुन्तै भुक्तानीसँगै उद्योगले किसानको हितमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जानकारी उनले दिए। 

‘हामीले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न उन्नत जातको उखुको बिउ, त्यसको उपचार, प्रांगारिक मल र विषादीहरु उपलब्ध गराउँदै आएका छौँ,’ नेपालले भने, ‘उखु खेतीमा अन्तरबाली, उन्नत कृषि उपकरणको प्रयोग जस्ता विधि पनि हामीले किसानलाई सिकाएका छौँ। त्यसका लागि किसान लक्षित अवलोकन भ्रमण, तालिम र गोष्ठीहरु पनि सञ्चालन हुँदै आएका छन्।’

उखुको तुरुन्तै भुक्तानी पाउँदा किसानलाई इन्दु शंकरप्रति विश्वास र भरोसा बढेको दाबी उनले गरे। 

गतवर्ष किसानले उखुको मूल्य ६ सय ५५ रुपैयाँ पाएका थिए। गतवर्ष किसानले पाएको मूल्यमा प्रतिक्विन्टल २० रुपैयाँ थप गरेर चालु सिजनको लागि सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको हाे। 

सरकारले दिने अनुदानबाहेक प्रतिक्विन्टल पाँचसय ८५ रुपैयाँका दरले इन्दु शंकरले किसानलाई उखुको भुक्तानी दिएको हो। गत वर्ष उद्योगीले किसानलाई उखुको मूल्य प्रतिक्विन्टल पाँचसय ६५ रुपैयाँ दिएका थिए। 

गत गर्ष सरकारले किसानलाई उखुमा प्रतिक्विन्ल ७० रुपैयाँ अनुदान दिएको थियो। गएको सिजनमा सरकारी अनुदानसहित किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ पाएका थिए। तर, यस वर्ष सरकारले किसानलाई कति रुपैयाँ अनुदान दिन्छ, आधिकारिक रुपमा टुंगाे लागिसकेको छैन। 

तर संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारीले भने यस वर्ष पनि सरकारले किसानलाई दिने अनुदान रकम गतवर्षभन्दा नघट्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad