विद्युत प्राधिकरणले अतिरिक्त शुल्कमार्फतको विद्युत् महसुल नतिरेको भन्दै बुधबार काटेको विद्युत् लाइन आफैँ जोडिदिने सहमति गरेको छ।
कोरोना भाइरसको त्रासले उद्योग क्षेत्र तहसनहस भइरहेको भन्दै तत्कालको लागि विद्युत् आपूर्ति नरोक्ने निर्णय भएको हो। बुधबार साँझ उद्योग सचिव, ऊर्जा सचिव र उद्योगीहरु छलफल गरी विद्युत् लाइन हाललाई यथावत् राख्ने निर्णय गरेको एक उद्योगीले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार उद्योगहरुलाई विद्युत् प्राधिकरणले अतिरिक्त शुल्कमार्फत पठाएको बिलमा अध्ययन भइरहेकोले उक्त अध्ययन रिपोर्टको आधारमा अघि बढ्ने समेत सहमति गरेको छ।
बुधबार विद्युत् प्राधिकरणले डेडिकेटेट विद्युत् लाइन प्रयोग गरेबापत लाग्ने अतिरिक्त शुल्क नतिरेको भन्दै दुई ठूला उद्योगको विद्युत्लाइन काटेको थियो।
गोल्छा अर्गनाइजेसनको रघुपति जुट मिल र गोल्यान ग्रुपको रिलायन्स स्पिनिङ मिलको विद्युत् प्राधिकरणले काटेको हो।
प्राधिकरणको इटहरी वितरण केन्द्रले रिलायन्स स्पिनिङ मिल र विराटनगर वितरण केन्द्रले रघुपति जुट मिलको बिजुली काटेको थियो। रिलायन्सले १ अर्ब ५० करोड ९ लाख ३४ हजार ८ सय ६७ रुपैयाँ ६७ पैसा नतिरेकोले प्राधिकरणको भनाइ छ। उक्त रकम ०७२ सालदेखिको बक्यौता हो।
त्यस्तै विराटनगर वितरण केन्द्रका १५ करोड ५५ लाख ६८ हजार बक्यौता नतिर्ने रघुपति जुट मिलको बिजुली काटेको थियो।

प्रतिक्रिया