आर्थिक वर्ष २०७६/७७ को ७ महिनामा कुल वस्तु निर्यात २२.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ९७ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.५ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८.० प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत र अन्य मुलुकतर्फ २.४ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिष्टर तथा अन्य), लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०७६/०७७ को ७ महिनामा कुल वस्तु आयात ३.६ प्रतिशतले घटेर ८ खर्ब ३ अर्ब ६० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ८.० प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.८ प्रतिशत र ०.८ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा कुल वस्तु व्यापार घाटा ५.३ प्रतिशतले संकुचन भई रु.७३८ अर्ब ६३ करोडमा सीमित हुन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २७.१ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.४ प्रतिशत रहेको थियो।

प्रतिक्रिया