कारोबार


एक महिना पनि टिक्न सकेन भैरहवा विमानस्थलको खुसी, निगमको मात्रै उडान

एक महिना पनि टिक्न सकेन भैरहवा विमानस्थलको खुसी, निगमको मात्रै उडान

नेपालखबर
पुस १०, २०८१ बुधबार ९:५, काठमाडौँ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन पाँच अन्तर्राष्ट्रिय उडान भएको खुसी एक महिना पनि टिक्न सकेन। 

मंसिरमा दैनिक ५ उडान भएको भैरहवामा पुसमा आइपुग्दा नेपाल एयरलाइन्सले मात्रै उडान गरिरहेको छ। 

यहाँ नेपाल एयरलाइन्सले हप्ताको ४ उडान मात्रै गर्छ। जजिरा एयरवेज, फ्लाई दुवई, कतार एयरवजेज, थाई एयर एसियाले उडान स्थगित गरिसकेका छन्। 

त्रिभुवन विमानस्थल विस्तारका लागि राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द भएसँगै वायुसेवा कम्पनीले भैरहवाबाट उडान सुरु गरेका थिए। नागरिक उड्डयन प्राधिकरणले जाडोयामका लागि स्वीकृत गरेको उडान तालिकाअनुसार उडान नै हुन सकेन। 

गौतमबुद्ध विमानस्थलका प्रवक्ता दिपक बज्राचार्यले नेपाल एयरलायन्सले हप्ताको ४ उडान मात्रै भैरहवा विमानस्थल हुँदै गरेको बताए।

फ्लाई दुवई र जजिरा एयरवेजले जनवरीबाट मात्रै उडान गर्ने तालिका प्रस्तुत गरेको उनको भनाइ छ। 

‘फ्लाई दुवईले जनवरी १३ र जजिरा एयरवेजले जनवरी ३१ बाट नियमित उडान गर्ने पुनः तालिका स्वीकृत गराएका छन्’, उनले नेपालखबरसँग भने, ‘अहिले मौसमको कारण उडान बन्द भएको भन्दा पनि कम्पनीहरुकै कारण नियमित उडान रोकिएको हो।’

फ्लाई दुवईले नोभेम्बर ९ देखि मार्च ३१ सम्म दैनिक उडान गर्ने तालिका स्वीकृत भएको थियो। 

जजिरा एयरवेजको २८ अक्टोबरदेखि १४ जनवरीसम्मको एउटा उडान तालिका स्वीकृत भएको अवस्थामा छ। कम्पनीको ३१ जनवरीबाट २९ मार्चसम्मको अर्को उडान तालिका छ। नेपाल एयरलाइन्सको हप्ताको ४ उडान काठमाडौं–भैरहवा– दुबई–काठमाडौंको तालिका छ।

नेपाल एयरलाइन्सकै काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौंको उडान तालिका पनि छ। थाई एयर एसियाले हरेक सोमबार र बिहीबार बैंकक–भैरहवा–बैंककको उडान तालिका स्वीकृत गराएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले यात्रु नपाएको भन्दा पनि मौसमको कारण १ महिना स्थगित गरेको बताए। 

‘मौसमलगायत प्राविधिक कारणले उडान १ महिना स्थगन भएका मात्रै हुन्’, उनले भने, ‘जनवरीबाट जजिरा र फ्लाई दुवईले नियमित उडान गर्ने तालिका प्रस्तुत गरेका छन्।’

पाण्डेले कतार एयरवेजले उडान नै कटौती गरे पनि थाई एयर एसिया, जजिरा र फ्लाई दुवईले नियमित उडान सुरु गर्ने दाबी गरे। 

‘विन्टर (जाडो) सिजनमा भैरहवाबाट नियमित उडानमा कमी आए पनि समर सिजनमा उडान फेरि बढ्नेछन्’, पाण्डेले भने, ‘बारम्बार मौसम खराब हुँदा ल्यान्ड गर्न नसकी डाइर्भट गर्नुपर्ने अवस्था आएकाले स्थगन भएका उडान सुचारु हुन्छन्।’

गौतमबुद्ध विमानस्थलले आईएलएसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपीएआर ल्यान्डिङ विधि जडान गर्ने तयारी गरिरहेको छ।

अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आईकाओ)ले मान्यता दिएको रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) उडान विधिबाट यो विमानस्थलमा उडान गर्न सकिन्छ। आरएनपीएआर एउटा विधि हो जसमा विमानस्थलमा थप उपकरण राख्नुपर्दैन।

भूउपग्रहका सिग्नलको आधारमा कसरी उडान गर्ने भन्ने यस विधिमा हुन्छ। तर यसको लागि नागरिक उड्डयन प्राधिकरणले विधि बनाई स्वीकृत गर्नुपर्छ। 

भैरहवा विमानस्थल चल्न नसक्नुमा अर्को कारण भने सबै प्रशासनिक निकाय नराख्दा समेत यात्रु काठमाडौं आउनुपर्ने अवस्था बनेको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले भैरहवा विमानस्थलमा उडान नहुनु प्रशासनिकसँगै प्राविधिक कारणले अप्ठ्यारो परेको बताए।  

‘प्राविधिक विषय भिजिबिलिटी कम र यात्रुको संख्या कम देखिएको छ’, सहसचिव लामिछानेले भने, ‘प्रशासनिक विषय समाधान गर्नको लागि श्रम, अर्थ, परराष्ट्र, गृह सबै मन्त्रालयले सरकारको कार्ययोजनाअनुसार प्रयास गरे पनि सफल भइसकेको छैन।’

श्रम स्वीकृति अनलाइनबाट हुने भए पनि केही भौतिक रुपमै काठमाडौं आउनुपर्ने बाध्यता छ। अर्को मुख्य समस्या मेनपावर कम्पनीको मुख्य कार्यालय काठमाडौं र भिसा सेन्टरहरु काठमाडौंमै हुँदा थप अप्ठ्यारो छ। 

‘भिसा सेन्टरका लागि कूटनीतिक पहल गर्नुपर्छ। परराष्ट्र मन्त्रालयले गरिरहेको छ’, उनले थपे, ‘मेनपावर कम्पनीले अनलाइनबाटै गर्ने काम शाखा कार्यालयबाटै गर्दा काठमाडौं आउने बाध्यता हट्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad