कारोबार


त्रिविले अब स्नातकोत्तरमा भ्रष्टाचार निवारण अध्ययन विषय पढाउने

त्रिविले अब स्नातकोत्तरमा भ्रष्टाचार निवारण अध्ययन विषय पढाउने

नेपालखबर
पुस ७, २०८१ आइतबार १७:३२, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले देशमा बढ्दो नीतिगत भ्रष्टाचारसँग जुध्न सक्ने खालको जनशक्ति उत्पादनको काम थालेको छ।

यसको लागि विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा नीतिगत भ्रष्टाचारसँग सम्बन्धित विषयहरु थपिएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यक्रम संयोजक डा. दिपक बहादुर अधिकारीले भने, ‘नयाँ विषय थपिएसँगै सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनको नाम पनि परिवर्तन गरी सार्वजनिक नीति सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन बनाएको छ। यो कार्यक्रमले नीतिगत भ्रष्टाचारको विषयमा केन्द्रित भएर सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिनेछ।’

भ्रष्टाचारले असर नगर्ने खालका नीति निर्माणमा यो कोर्सले सहयोग गर्नेछ। कार्यक्रममा धारणा राख्दै त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका पूर्वसहायक डिन प्राडा. तारा प्रसाद भुसालले यो कार्यक्रम नेपालको अहिलेको आवश्यकताले निर्माण गरेको बताए।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन हुने यो कार्यक्रम अहिले स्नातकोत्तरस्तरको हो। यसलाई क्रमिक रुपमा तल्लो तहमा झार्दै जाने सोच रहेको पूर्वसहायक डिन भुसाललले बताए।

उनले भने, ‘यो कार्यक्रमको लक्ष्य सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारविरोधी ज्ञान तथा सीपको दायरा बढाउन विशेष ध्यान दिने हो। आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको भ्रष्टाचारसँग लड्नसक्ने जनशक्ति तयार पार्नु हो।’

यस कार्यक्रमले विद्यार्थीहरुलाई सुशासन, सार्वजनिक नीति निर्माण, कार्यान्वयन र मूल्यांकनमा दक्ष बनाउँदै सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

यसमा समावेश पाठ्यक्रमले सुशासन, भ्रष्टाचार र सार्वजनिक प्रशासनका जटिल चुनौतीहरुको सामना गर्ने सक्षम मानस संसाधनको विकास गर्ने सोच रहेको संयोजक अधिकारीले बताए।

स्नातक गरेका विद्यार्थीहरुले भर्ना हुन सक्ने यो कार्यक्रम ४ सेमेस्टरको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad