कारोबार


सञ्चालक पद छाडेलगत्तै सेयर बेच्न पाउनुपर्ने माग राख्दै निर्जीवन बिमा व्यवसायी पुगे धितोपत्र बोर्ड

सञ्चालक पद छाडेलगत्तै सेयर बेच्न पाउनुपर्ने माग राख्दै निर्जीवन बिमा व्यवसायी पुगे धितोपत्र बोर्ड

नेपालखबर
पुस ७, २०८१ आइतबार १७:४, काठमाडौँ

कम्पनीको सञ्चालकले राजीनामा दिएपछि चाहेअनुसार सेयर बेच्न पाउनुपर्ने माग राख्दै बिमा व्यवसायीहरु नेपाल धितोपत्र बोर्ड पुगेका छन्। 

नेपाल निर्जीवन बिमा व्यवसायी संघले आइतबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सेयर बिक्रीसम्बन्धी व्यवस्था अव्यावहारिक भएको गुनासो गरेका हुन्। 

संघले भेटमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको भन्दै बोर्डको ध्यानाकर्षण गराएको छ। 

‘कम्पनीमा कायम रहेका सबै सेयरधनीजस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँछौँ’, संघद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ।

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सो प्रावधान सच्याउन आग्रह गरे। 

‘कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध भइरहेको छ’, उनले भने।

संघले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ।’

सेयर बिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाइ छ। 

‘लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरुको वित्तीय स्वार्थमा कुनै फरक छैन’, उनले भने। 

सञ्चालकहरुले अन्य सेयरधनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad