उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। कोरोना भाइरस (कोभिड—१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको बताए। मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताए।
उनले भने, ‘चाडपर्वमा सञ्चालन गरेजस्तो सुलभ, सस्तो पसल भनेर सञ्चालन गर्ने तयारीमा छौँ। खाद्य व्यवस्था विभाग र साल्ट ट्रेडिङले तत्काल ती ठाउँहरुमा अलिअलि सहज हुनेगरी आवश्यक कोटा निर्धारण गरेर वितरण गर्ने व्यवस्था गर्ने तयारी छ।’
मन्त्री भट्टले बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लामा अनुगमन गरी कारवाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने बताए। संकट आउँछ थुपारौँ भन्ने मनोवृतिका कारण केही समस्या देखिएको उनको भनाइ छ। उनले आवश्यकताभन्दा बढी सिलिण्डर भरेर नराख्न पनि आग्रह गरेका छन्।
असुरक्षित हुने भएकाले भरेका सिलिण्डर घरमा भण्डारण नगर्न नेपाल आयल निगमले पनि चाँडै सूचना प्रकाशन गरी आग्रह गर्ने मन्त्री भट्टको भनाइ छ ।

प्रतिक्रिया