कारोबार


‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ नारासहित बुटवलमा औद्योगिक व्यापार मेला हुने

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ नारासहित बुटवलमा औद्योगिक व्यापार मेला हुने

नेपालखबर
पुस १, २०८१ सोमबार २०:३५, काठमाडौँ

बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला सुरु हुने भएको छ। बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा ‘औद्योगिक व्यापार मेला बुटवल–२०८१’ गर्न लागिएको हो।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। बुटवल उद्योग वाणिज्य सङ्घले आयोजना गरेको औद्योगिक व्यापार मेलाको यो २४औँ संस्करण हो।

बुटवलमा हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र उद्यमशीलताको माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्न मेला आयोजना गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए।

औद्योगिक उत्पादन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यवसायीकरणका लागि आयोजना गरिएको मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रोनिक्स, ब्यूटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाइल्स र होटलको छुट्टाछट्टै १० वटा मण्डप रहने आयोजकले जनाएको छ। मेलामा औद्योगिक, हस्तकला, कृषि र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण हुने जनाइएको छ।

विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकको भनाइ छ।

पुस १८ गतेसम्म सञ्चालन हुने मेलामा पाँच सय स्टल रहने छन् भने पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र मेलाभित्र रु १५ करोड बढीको कारोबार गर्ने लक्ष्य राखिएको छ।

मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, भजन, चुट्का प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रतियोगिता, हास्यव्यङ्ग्य, ब्यूटी शो र टिकटक प्रतियोगिता गरिने मेला कार्यसम्पादन समितिका सदस्य दीपकप्रसाद चापागाईंले जानकारी गराए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad