कारोबार


श्रीलंकाले भन्यो- अदानी बन्दरगाह परियोजना जारी रहन्छ

श्रीलंकाले भन्यो- अदानी बन्दरगाह परियोजना जारी रहन्छ

रासस/एएफपी
मंसिर २८, २०८१ शुक्रबार १८:२८, काठमाडौँ

श्रीलंकामा भारतीय अदानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र यसको वित्तपोषणमा अचानक परिवर्तनको बाबजुद अगाडि बढ्ने श्रीलंकाले बताएको छ।

गत महिना न्यूयोर्कमा अर्बपति उद्योगपति गौतम अदानी र उनका सहकर्मीले जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रभावित पारेको आरोप लगाइएको थियो।

यो आरोपले अदानीको कम्पनीको सेयरमा व्यापक गिरावट आएको थियो भने र पारिवारिक फर्मको ‘कर्पोरेट गभर्नेन्स’मा प्रश्न उठाएको थियो। 

श्रीलंकाका बन्दरगाहमन्त्री विमल रत्नायकेले अदानीमाथि लागेको आरोपले राजधानी कोलम्बोमा रहेको कन्टेनर टर्मिनल परियोजनामा कुनै असर नपारेको बताए। 

“अदानी र अमेरिकाबीचको समस्या के हो, हाम्रो चिन्ताको विषय होइन,” उनले भने, “अदानीद्वारा पश्चिमी कन्टेनर टर्मिनल विकास अगाडि बढ्नु हाम्रो लागि उच्च महत्वको कुरा हो।”

रत्नायकेका अनुसार सन् २०२२ मा अभूतपूर्व सङ्कट र विदेशी ऋण नतिरेपछि समस्यामा परेको श्रीलंकाको अर्थतन्त्रका लागि राजस्व सङ्कलन गर्न यो परियोजनाको निर्माण हुनु महत्त्वपूर्ण छ।

बन्दरगाह परियोजनाको अनुमानित लागत ७० करोड अमेरिकी डलर रहेको छ र यो चिनियाँद्वारा सञ्चालित परियाजनाको नजिकमा अवस्थित छ ।

अदानी समूहले न्युयोर्कको अभियोगपछि अमेरिकी सरकारद्वारा समर्थित ५५ करोड ३० लाख अमेरिकी डलर को ऋणका लागि गरेको अनुरोध फिर्ता लिएको केही दिनपछि रत्नायकेको यो टिप्पणी आएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) सँगको ऋण सम्झौतालाई गत वर्ष अन्तिम रूप दिइएको थियो, यस परियोजनालाई हिन्द महासागरमा बेइजिङको बढ्दो प्रभावको सामना गर्ने माध्यमको रूपमा हेरिएको थियो ।

श्रीलंका विश्वको सबैभन्दा व्यस्त सामुद्रिक ढुवानी मार्गमा अवस्थित छ, जसले मध्य पूर्व र पूर्वी एशियालाई जोड्छ र देशको समुद्री सम्पत्तिलाई रणनीतिक महत्व दिन्छ ।

अदानी समूहले अब यो परियोजनाका लागि आफ्नै कोषबाट लगानी गर्ने बताएको छ ।

श्रीलंकाले गत महिना अभियोग लगाएपछि उक्त बन्दरगाह र टापुको उत्तरमा ४४ करोड २० लाख अमेरिकी डलर बराबरको वायु ऊर्जा सम्झौतासहित समूहको स्थानीय परियोजनामा अनुसन्धान सुरु गरेको थियो ।

नयाँ बामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नोभेम्बरमा भएको चुनावमा भारी मतले विजयी हुनुअघि वायु ऊर्जा परियोजनाको विरुद्धमा अभियान चलाएका थिए। बन्दरगाह मन्त्री रत्नायकेले पनि आफ्नो सरकार यसको विपक्षमा रहेको बताए। 

रत्नायकेले भने, “यो देशलाई अहितकर हुनेछ।”

दिसानायकेले यो परियोजनालाई श्रीलंकाको ऊर्जा सम्प्रभुताका लागि खतरा को संज्ञा दिएका थिए।  

अदानी समूहका संस्थापक र अन्य वरिष्ठ अधिकारीहरूले भारत सरकारका अधिकारीलाई घूस दिएको आरोप लागेपछि अदानी समूहले सेयर बजारमा करिब ५५ अर्ब अमेरिकी डलर गुमाएको जनाएको छ ।

कोइला, एयरपोर्ट, सिमेन्ट र मिडियाको व्यापार साम्राज्यको साथ, अदानी समूहले पहिलेका कर्पोरेट धोखाधडीको आरोपहरूको सामना गरेको छ र गत वर्ष पनि यस्तै आरोपको सामना गरेको छ।

सन् २०२३ मा ह्यान्डेनबर्ग रिसर्चको एक रिपोर्टले ‘कर्पोरेट फ्रड’को आरोप लगाएपछि सन् २०२३ मा यसको सेयरको बजार मूल्यबाट १५० अर्ब अमेरिकी डलर कम भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad