नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्ति पाएकै दिनबाट विवादमा मुछिँदै आएका सूर्यप्रसाद सिलवाल कार्यकाल सकिनै लाग्दा भ्रष्टाचार मुद्दामा तानिएका छन्।
सरकारले २०७७ माघ २० गते चार वर्षे कार्यकालका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका सिलवालको कार्यकाल माघ १९ गते सकिँदै छ। कार्यकाल सकिनुअगावै उनी भ्रष्टाचार मुद्दामा तानिएका हुन्।
कार्यकाल सकिनु करिब २ महिना बाँकी छँदै उमेर लुकाएर कानुनविपरीत पदमा बसेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा परेको हो।
अख्तियारको आरोपत्रमा २०१५ साउन १५ गतेको जन्ममितिलाई केरमेट गरी राहदानीमा २०१८ कात्तिक २४ गते उल्लेख गरी प्राधिकरणको अध्यक्षको नियुक्ति लिएको उल्लेख गरिएको छ।
कानुनतः उनी २०८० साउनमा ६५ वर्ष पूरा गरी ६६ वर्ष लाग्ने देखिए पनि हालसम्म पनि पदमा रहनु कानुनविपरीत भएको आयोगको ठहर छ।
नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) बाट अवकाश पाएका उनी प्राधिकरणमा अध्यक्ष बनेपछि विशेष ज्ञान नभएको व्यक्तिलाई अध्यक्ष बनाएको भन्दै विरोध भएको थियो।
पूर्वगृह सचिव उनलाई तत्कालीन एमाले नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।
सुरुवातबाट विवादास्पद बनेका उनको कार्यकाल पनि विवादापूर्ण नै रह्यो। यसअघि नै बिमा कम्पनीलाई प्रिमियम मूल्यमा सर्वसाधारणलाई सेयर बिक्रीको अनुमति दिएको तथा सीमित घरानालाई पुनर्बिमा तथा लघुबिमाको लाइसेन्स दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदको सार्वजनिक लेखा समितिमा उनीमाथि नीतिगत भ्रष्टाचारको उजुरी परेको थियो।
सोमबार भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्ममितिमा छेडखानी गरेको, राहदानीमा केरमेट गरेको तथा कानुनविपरीत गएर ९ महिनासम्म पदमा रही पदीय लाभ लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
चारथरी जन्ममिति
सिलवाल नेपाल बिमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा २०८० साउन १६ गतेबाट ६६ औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो ९ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको पाइएकोले भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार, सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२ फागुन २४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख छ। त्यसअनुसार उनको जन्ममिति २०१६ फागुन २४ हुन्छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट २०६६ वैशाख १७ नागरिकताको प्रतिलिपि प्राप्त गर्दा जन्म मिति २०१६ कात्तिक २२ उल्लेख छ। त्रिभुवन विश्वविद्यालयवाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा भने जन्म मिति २०१५ साउन १५ लेखिएको छ।
सरकारी जागिर खाँदा उनी स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा ट्रान्सक्रिप्टको नै जन्म मिति अर्थात् २०१५ साउन १५ उल्लेख गरी २०४३ साउन १ मा शाखा अधिकृतको नियुक्ति पाएका छन्। यही जन्म मितिको आधारमा निजामती किताबखानाबाट उनले निवृत्तभरण अधिकार पत्र प्राप्त गरेको पाइएको छ। उनले नेपाल सरकारको सचिव पदबाट २०७३ साउन १५ गते ५८ वर्षे उमेर हदबाट अनिवार्य अवकाश पाएका थिए।
तर, उनले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न दिएको आवेदनमा झुटा विवरण दिई जन्म मिति २०१८ कात्तिक २४ अर्थात् सन् १९६१ नोभेम्बर ९ कायम गरेको देखिएको छ। आफ्नो वास्तविक जन्ममितिभन्दा करिब ३ वर्ष उमेर घटाएर कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरेको भेटिएपछि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो।
‘२०८० साउन १५ मै अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदा नपाउनेमा जानीजानी सो ओहदामा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा उक्त कार्यहरू प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर पुष्टि भएको’ अख्तियारको निष्कर्ष छ।
यस कसुरका लागि कैद तथा जरिवानाका साथै सिलवालले २०८० साउन १५ देखि हालसम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार रूपैयाँ जफत तथा असुल गर्न पनि अख्तियारले माग गरेको छ।
Shares

प्रतिक्रिया