कारोबार


सम्राट सिमेन्टमा चौधरी ग्रुपको सेयर हिस्सा ७४.८ प्रतिशत, १५ अर्ब लगानी

सम्राट सिमेन्टमा चौधरी ग्रुपको सेयर हिस्सा ७४.८ प्रतिशत, १५ अर्ब लगानी

अनिल कुमार रुंगटा, निर्वाण चौधरी र वरुण चौधरी


वसन्त अर्याल
मंसिर २२, २०८१ शनिबार १०:२२, काठमाडौँ

सम्राट सिमेन्टमा चौधरी ग्रुपको सेयर हिस्सा ७४.८ प्रतिशत पुगेको छ।

सन् २०१३ देखि सञ्चालनमा आएको सिमेन्टले चौधरी ग्रुपको प्रवेशसँगै क्षमता बढाउँदै लगेको हो। 

सुरुमा ५१ प्रतिशत सेयर खरिद गरेको चौधरी ग्रुपले अहिले दुई तिहाइ सेयर खरिद गरेको छ। चौधरी ग्रुपले नेपाली कांग्रेसनिकट व्यवसायी अनिल रुंगटासँगको साझेदारीमा उद्योग चलाइरहेको छ। 

‘सम्राट सिमेन्ट परियोजनाको सम्भाव्यता अध्ययन गर्न समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको छ’, लगानी बोर्डको ६०औँ बैठकबारे लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले भने, ‘सम्राट सिमेन्ट कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गर्ने निर्णय भएको छ।’

सुरुमा उद्योग विभागमा दर्ता भएको यो सिमेन्ट उद्योग ६ अर्बभन्दा बढी लगानी भएसँगै लगानी बोर्डमातहतमा आएको थियो। 

‘सम्राट सिमेन्ट दाङमा सञ्चालन भइरहेको छ। पुँजी वृद्धिसँगै क्षमता पनि वृद्धि गर्ने लक्ष्य राखेको छ’, बोर्डका प्रवक्ता उपाध्यायले भने, ‘चौधरी ग्रुपको ७४.८ प्रतिशत सेयर संरचना छ। अनिल रुंगटालगायतका सेयर होल्डर छन्।’

सम्राट सिमेन्ट २०१३ मा स्थापना भएको थियो। उद्योगको दाङमा क्लिङ्करसहितको ग्रिन्डिङ प्लान्ट छ। पूर्वपश्चिम राजमार्गको २ किमिको दूरीमा सिमेन्ट उद्योग छ। सम्राट सिमेन्टले ओपीसी, पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। भीआरएम र रोबोटिक टेक्नोलोजीले सिमेन्ट उत्पादन गरिरहेको छ। गजराज, बजा र बादशाह, सम्राट ब्रान्डमा सिमेन्ट छ। लुम्बिनी, सुदूरपश्चिम र कर्णालीमा यी गजराज सिमेन्ट बढी चर्चित छन्। 

सम्राट सिमेन्टमा १५ अर्ब बढी लगानी 
पहिला दैनिक १८०० मेट्रिक टन रहेको प्लान्ट क्षमतालाई उद्योगले ४५०० मेट्रिक टन पु¥याउने उल्लेख रहेको उपाध्यायले जानकारी दिए। 
चौधरी समूहको प्रवेशसँगै पहिलो चरणमा उद्योगको क्षमता बढाइएको थियो। 

रेटिङ एजेन्सी केयर रेटिङका अनुसार सन् २०२२ मा १८०० मेट्रिक टनबाट सम्राट सिमेन्टको प्लान्ट क्षमता ३६०० मेट्रिक टन प्रतिदिन पु¥याएको छ। कम्पनीले प्रतिदिन ४ हजार मेट्रिक टन क्षमताको क्लिंकर प्लान्ट समेत स्थापना गरेको छ।  

‘सम्राट सिमेन्टको लगानी १५ अर्बभन्दा बढी पुगेको छ’, बोर्डका सहसचिव उपाध्यायले भने, ‘निजी क्षेत्रको लगानीमा निर्माण हुँदै छ। सरकारको तर्फबाट अझै केही सहजीकरण गर्न बाँकी छ।’

सम्राट सिमेन्टका लगानीकर्ता मुकुन्दप्रसाद तिमिल्सिना, छुतेन लामा लगायतले चौधरी ग्रुपलाई सेयर बिक्री गरेका थिए। त्योसँगै यसलाई देशकै ठूलो सिमेन्ट उद्योग बनाउने चौधरी ग्रुपले जनाएको छ। सुरुमा चौधरी ग्रुपको ५१ प्रतिशत सेयर रहेकोमा बढाएको छ। 

सम्राट सिमेन्टले आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो। अर्को आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब आम्दानी बढाएर ४ अर्ब ८७ करोड रुपैयाँ पुर्‍याएको उद्योगको आर्थिक वर्ष २०७९/८० मा फेरि घटेर ३ अर्ब ३७ करोड रुपैयाँ आम्दानी भएको छ। 

सम्राटले आर्थिक वर्ष २०७८/०७९ मा ३ लाख ४२ हजार मेट्रिक टन क्लिंकर बिक्री गरेको थियो। आव ०७९/०८० मा ७१ हजार ५६८ टन मात्र क्लिंकर बिक्री गर्दा र नयाँ भौतिक संरचना नबन्दा आम्दानीमा गिरावट आएको थियो। 

४६ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा चौधरी ग्रुपबाट निर्वाण चौधरी र वरुण चौधरी निर्देशक छन् भने कम्पनीको अध्यक्षमा अनिल कुमार रुंगटा छन्। अनिल जगदम्बा इन्टरप्राइजेजको निर्देशक समेत हुन्। उनी स्टिल उद्योगमा समेत आबद्ध छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad