नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्य (बीआईआई) को फ्रेमवर्कमा हस्ताक्षरसँगै नेपालका २ सडक परियोजना त्यसभित्र परेका छन्।
फ्रेमवर्कका १० वटा परियोजनामध्ये हिल्सा–सिमकोट सडक र किमाथांका–खाँदबारी सडक र पुल परेका छन्।
बुधबार चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकारबीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।
फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेसनल डेभलपमेन्ट एन्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुसेले हस्ताक्षर गरे।
गत भदौमै हिल्सा–सिमकोट सडकखण्डलाई २ लेनमा स्तरोन्नति गर्ने विषयमा चीनसँग ‘लेटर अफ एक्सचेन्ज’ भइसकेको छ। यसले कर्णाली र सुदूरपश्चिम जोड्नलाई सहयोग पुग्छ।
पूर्वमा विराटनगरसँग जोड्न नेपालले किमाथांका र ओलाङचुङगोला नाका अघि सारेकामा चीनले किमाथांका नाका विस्तारमा सहयोग गर्ने भएको छ। मंगलबार २ देशको १२ बुँदे संयुक्त वक्तव्यमा समेत नेपालमा तीन उत्तर–दक्षिण करिडोरलाई प्राथमिकता दिने उल्लेख छ। जसमा कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरको विकास अघि बढाउन सहमत भएका छन्।
नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर
वक्तव्यमा करिडोर निर्माणलाई तीव्रता दिन दुवै पक्षले प्रवेश बन्दरगाहको विकासलाई सुदृढ गर्ने, भन्सार निकासी र दुईतर्फी यात्रामा सहजीकरण गर्ने, द्विपक्षीय आर्थिक तथा व्यापारिक सहयोग प्रवद्र्धन गर्ने र सीमा क्षेत्रको सामाजिक तथा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने सहमति भएको उल्लेख छ।
दुवै देशको व्यापारसँग जोडिएको वक्तव्यमा केरुङ–रसुवागढी बन्दरगाह, झाङ्मु–कोदारी बन्दरगाह, पुलान–यारी बन्दरगाह र लिजी–नेचुङ (कोरला) बन्दरगाहको सुचारु र व्यवस्थित सञ्चालनको दुवै पक्षले प्रशंसा गर्दै १४ वटा चीन–नेपाल सीमा व्यापार नाका सामान्य सञ्चालनलाई स्वागत गरेका छन्।
नेपाली पक्षले थप द्विपक्षीय र अन्तर्राष्ट्रिय बन्दरगाह खोल्ने सम्भावनाबारे विचार गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ।
‘पूर्वको किमाथांका सडक र हिल्सा सिमकोट सडक निर्माण गर्न चिनियाँ सकरात्मक नै थिए’, सडक विभागका महानिर्देशक रामहरि पोखरेलले भने, ‘बीआआई परियोजनामा पर्दा नेपाललाई फाइदा नै हुन्छ। पूर्व र पश्चिमका महत्वपूर्ण नाका बन्न सक्छन्।’
कुन करिडोरको अवस्था कस्तो छ?
सडक विभागअन्तर्गत उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले कोशी करिडोरको मात्रै ट्रयाक खोल्न बाँकी छ। करिडोरको खाँदबारी किमाथांकामा १ किमि ट्रयाक खोल्न बाँकी रहेको विभागले जनाएको छ।
पश्चिम नेपालमा कर्णाली करिडोर २ खण्डमा विस्तार भइरहेको छ। खुलालु–सिमकोट–हुम्लाखण्ड १९६ किमि र हिल्सा–सिमकोट ८८ किमि सडक निर्माण भइरहेको छ। कर्णाली करिडोर हिल्सा–सिमकोट सडक ट्रयाक खुलेर साउनबाट गाडी गुड्न सक्ने भएको आयोजनाले बताएको छ।
‘हिल्साबाट सिमकोटसम्म गाडी कुद्न सक्ने अवस्था छ। सिमकोटमा जग्गा मुआब्जाका कारण ६०० मिटर ट्रयाक खुलेको छैन’, एक सडक इन्जिनियरले भने।
छारे भीरलगायत अप्ठेरा पहाड नेपाली सेनाले नै काटेर ट्रयाक खोलेको थियो। चीनतर्फबाट हिल्सा नाकासम्म कालोपत्रे सडक भइसकेको छ।
चीनतर्फबाट नेपालको सीमासम्मै कालोपत्रे सडक छ । नेपालतर्फको सडकलाई राम्रो विस्तार गर्न सके दुईतर्फी गाडी गुड्न कुनै समस्या हुँदैन। कर्णाली करिडोरकै दक्षिण खण्डमा ग्राभेल हाल्ने काम भइरहेको छ।
‘खुलालु–सल्लीसल्ला खण्डमा १ वर्षभित्र सबै सडक ग्राभेल हुने अवस्था छ’, निमित्त प्रमुख तुलाराम शर्माले भने, ‘खार्पुङलगायत खोलामा पुल अत्यावश्यक छ। उक्त ठाउँमा पुल बन्दा सिमकोटसम्म नियमित गाडी गुड्न समस्या हुँदैन।’
नेपालको मध्यभागमा पर्ने कालिगण्डकी करिडोर नवलपुरको गैँडाकोटदेखि मुस्ताङको कोरला नाकासम्म कालीगण्डकी नदी किनारबाट निर्माण भइरहेको छ। ट्रयाक खुलेर अहिले गाडी सञ्चालन भइरहेका छन्। मुस्ताङ पुग्ने पर्यटक कोरला नाकासम्म गाडीमै पुग्ने गरेका छन्।
गैँडाकोटसम्म सडकको लम्बाइ करिब ४३५ किमि छ। छिमेकी मुलुक भारत र चीनको व्यापारमा महत्त्वपूर्ण ट्रेड ट्रान्जिटमा भूमिका हुने उल्लेख गरिएको छ। चीन–भारत क्रसबोर्डर व्यापार गर्ने उद्देश्यले सडक निर्माण थालिएको थियो।
Shares

प्रतिक्रिया