नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन्।
नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा उक्त समिट आयोजना गरेका हुन्।
समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे।
उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए।
नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उल्लेख गरेका छन्।
सीसीपीआईटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए।
चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए।
उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताए।

समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी गराए।
उनले सीमा क्षेत्रको पूर्वाधारलगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए।
चीनले यही डिसेम्बर एकदेखि आफ्नो कूटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरुलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे जानकारी गराउँदै नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए।
समिटमा १२० जना चिनियाँ व्यवसायीहरुको सहभागिता रहेको थियो। नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो।
Shares

प्रतिक्रिया