कारोबार


भोटेकोसीको जोखिममा साढे २ अर्ब खर्चिएको तातोपानी बन्दरगाह

हिउँदमा २ पुल निर्माण नभए वर्षात्‌मा नाका ठप्प हुने
भोटेकोसीको जोखिममा साढे २ अर्ब खर्चिएको तातोपानी बन्दरगाह

वसन्त अर्याल
मंसिर १७, २०८१ सोमबार ७:४०, सिन्धुपाल्चोक (तातोपानी)

साढे २ अर्ब खर्चिएको तातोपानी बन्दरगाह भोटेकोशीको जोखिममा परेको छ। 

असोजमा आएको बाढीले नदी गहिरिँदा केही भाग भत्किएको छ भने केही चर्किएको अवस्थामा छ।   

तातोपानी बन्दरगाह नेपाल–चीन सीमा नाकाभन्दा करिब ५ किमि तल लार्चामा निर्माण गरी सञ्चालनमा ल्याइएको छ। बन्दरगाहको तल भोटेकोशी नदी र माथि चट्टान छ। नदीबाट रिटेनिङ वाल उठाएर बनाइएको छ। 

‘असोज ११ र १२ गतेको बाढीले बन्दरगाह नै जोखिममा परेको छ। गेट छेउमा रिटेनिङ वाल भत्काएको छ’, बन्दरगाहको नियमन गर्ने यातायात विकास समितिका कार्यकारी निर्देशक आशिस गजुरेलले भने, ‘खोला गहिरिँदा तलबाट उठाएको सबै ठाउँ चर्किएको छ। चालू आर्थिक वर्षमा त्यसलाई मर्मत गर्ने योजना छ।’

तातोपानी सुख्खा बन्दरगाहका लागि ९० करोड बजेट छुट्याइएको छ। मुख्य उद्देश्य गोदाम आधुनिकीकरण गर्ने भए पनि रिटेनिङ वाल भत्काएकाले त्यसमा खर्च बढाउनुपर्ने अवस्था रहेको गजुरेल बताउँछन्। 

बन्दरगाह निर्माण हुँदा भूकम्प गएपछि सुरुको ठेक्का तोडियो। ८६ करोड खर्चपछि अर्को ठेक्का लाग्यो। दोस्रो ठेक्कामा १ अर्ब ८० करोड खर्च भयो। साढे २ अर्ब रुपैयाँ खर्च गरेसँगै २०७६ जेठमा यसको उद्घाटन भएको थियो। त्यसपछि लगत्तै कोभिडले १ वर्ष अघिसम्म नाका प्रभावित बनेको थियो। 

करिब ५ हेक्टर क्षेत्रफलमा बन्दरगाह र पार्किङ फैलिएको बन्दरगाहमा एक पटकमा १२० कन्टेनर पार्किङ गर्न मिल्छ। पछिल्लो समय विद्युतीय गाडीसँगै अन्य कन्टेनरले नाका प्रयोग गर्नथालेसँगै आयात बढेको छ। 

चालू आर्थिक वर्षको ४ महिनामा १५ अर्ब ८३ करोडबराबरको वस्तु आयात भएको छ। सबै नाकामध्ये ३ प्रतिशत आयात तातोपानी हुँदै हुन्छ।

इन्टरमोडल यातायात विकास समितिले ८ वटा बन्दरगाह सञ्चालनमा ल्याएको छ। समितिले सबै बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापन गर्न दिएर नियमनको काम आफूले गरिरहेको छ। 

‘निजी क्षेत्रलाई सञ्चालन गर्न दिँदा सरकारलाई आउने आम्दानीसँगै सेवा स्तर पनि बढेको छ’, समितिका कार्यकारी निर्देशक गजुरेलले भने, ‘बन्दरगाहमा कन्टेनर उठाउन प्रविधिसहित गोदाम आधुनिकीकरण गर्दै छौँ।’

तातोपानी सुख्खा बन्दरगाह ५ वर्षका लागि ट्रास सिल्क जेभीलाई प्रतिस्पर्धाबाट व्यवस्थापन गर्न दिइएको छ। बन्दरगाहलाई ५ वर्षमा न्यूनतम १३ करोड आम्दानी हुनेछ। भन्सारको चाप बढ्दा बन्दरगाहको पनि आम्दानी १६ देखि १८ करोड हुने गजुरेल बताउँछन्। 

सुख्खा बन्दरगाहमा २०० बढी विद्युतीय गाडी भन्सार पासको पर्खाइमा छन्। पहिला एमजीका गाडी सबैभन्दा बढी आउँथे। त्यसपछि डिप्पल गाडी आए। पछिल्लो समय लिप मोटर, जेको र डोङफेङका कार तथा विद्युतीय भ्यान तातोपानी नाकाबाट आउँछन्। 

गाडीबाहेक तातोपानी नाकाबाट स्पेयर पार्ट्स, लसुन, स्याउ, लत्ता कपडा, विद्युतीय घरायसी सामग्री, कस्मेटिक सामग्री बढी आइरहेका छन्। 

तातोपानी भन्सारबाट कुनै पनि निर्यात हुँदैन। पछिल्लो समय भैँसीको मासु निर्यात गर्ने चर्चा चले पनि सुरु भएको छैन। 

‘तातोपानी सुख्खा बन्दरगाहबाट निर्यात हुन नेपालले उत्पादन बढाउनुपर्छ’, उनले सुनाए, ‘बन्दरगाह आफैँले निर्यात गर्ने होइन। उत्पादन बढाउन सके निर्यात गर्न कुनै समस्या छैन।’

हिउँदमा २ पुल निर्माण नभए वर्षातमा नाका ठप्प हुने
असोजमा आएको बाढीले बन्दरगाह लार्चादेखि लिपिङसम्मका २ वटा पुल बगाएको छ। तत्काल भोटेकोशी नदीमा ह्विमपाइप राखेर ट्रक बन्दरगाहसम्म आउजाउ गरिरहेका छन्। 

ठूलो पानी आउनेबित्तिकै लार्चाको विकल्प छैन। आउँदो जेठअगावै सरकारले पुल बनाइसक्नुपर्ने अवस्था छ।

केही समयअघि व्यवसायीहरुले सीमा छेउ आएर रोकिएका फलफूललगायत कुहिनसक्ने वस्तु भरियालाई बोकाएरै ल्याउनुपरेको थियो। सो बखत दैनिक २ गाडीसम्म फलफूल बोकाएर भन्सार पास गरिएको थियो।

तिहारयता भने नाका नियमित सञ्चालनमा छ।

‘लिपिङमा बेलिब्रिज बनाउन फाउन्डेसनको काम भइरहेको छ’, कोदारी राजमार्गसमेत हेर्ने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले भने, ‘बेलिब्रिज तयारी अवस्थामा छ। नेपाली सेनाले जडान गर्ने भएकाले कुनै समस्या छैन।’

लिपिङभन्दा लार्चामा लामो पुल बनाउनुपर्ने अवस्था छ। सडक डिभिजन कार्यालयले ७० मिटरको पुल बनाउनुपर्ने अनुमान गरेको छ। तर पुल निर्माण ठेक्का लगाउने भएकाले समय लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ। 

‘लार्चामा ७० मिटरको बेलिब्रिज बनाउने प्रस्ताव सडक विभागमा पुगेको छ’, श्रेष्ठले भने, ‘अहिले अध्ययन भइरहेकाले केही समयमा ठेक्का लाग्छ। वर्षाअघि नै बेलिब्रिज निर्माण गरिसक्छौँ।’

लार्चा बन्दरगाह छेउको बेलिब्रिज बनाउन हेटौंडाबाट लैजानुपर्ने उनले बताए। 

भूकम्पअघि गुल्जार तातोपानी नाका त्यसयता बारम्बार बन्द हुँदा पुरानो लयमा फर्किन पाएको छैन। नेपाल–चीन सीमा नजिकको खासा बजार भूकम्पले भत्किएपछि सुनसान छ। नेपाली खासा बजारसम्म किनमेलका लागि जाने गरेकामा चिनियाँले कडाइ समेत गरेका छन्।

थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad