चालू आर्थिक वर्षको पहिलो चार महिनामा निर्जीवन बिमा कम्पनीहरु व्यवसायमा आक्रामक देखिएका छन्।
चार लघुबिमासहित १४ कम्पनीले कात्तिक मसान्तसम्म १४ अर्ब ३५ करोड रुपैयाँको बिमालेख बिक्री गरेका हुन्।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवमा कम्पनीहरुको कुल बिमा शुल्क १ अर्ब ६१ करोड रुपैयाँले बढी छ। गत वर्षको कात्तिक मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले कुल १२ अर्ब ७४ करोड रुपैयाँको बिमालेख बिक्री गरेका थिए।
समग्रमा कात्तिक महिनासम्म बिमा कम्पनीहरुले कुल ९ लाख ९८ हजार ५ सय ९६ वटा बिमालेख जारी गर्दा १४ अर्ब ३५ करोड ८६ लाखबराबरको बिमाशुल्क संकलन गरेका हुन्।
चालू आवको पहिलो चौमासिक रिपोर्टमा करिब २ अर्बले नाफा बढाएका निर्जीवन बिमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै पनि २ अर्ब ७८ करोड रुपैयाँबराबरको बिमालेख बिक्री गरेका छन्। कात्तिकमा मात्रै यी कम्पनीहरुले २ लाख ६० हजार ६ सय ६५ वटा बिमालेख जारी गरेका छन्।
गत वर्षझैँ यो वर्ष पनि व्यावसायिक रुपमा अगाडि सगरमाथा लुम्बिनी इन्स्योरेन्स नै पहिलो नम्बरमा देखिएको छ। गत वर्षको कात्तिकमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको यो कम्पनीले चालू आवको कात्तिक मसान्तसम्म १ अर्ब ७७ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेको छ। १ अर्ब ७७ करोडसहित यो वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा बढी बिमालेख बिक्री गर्ने कम्पनीको रुपमा सगरमाथी लुम्बिनी इन्स्योरेन्स पहिलो देखिएको हो।
योबाहेक सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड, आईजीआई प्रुडेन्सियलको १ अर्ब १३ करोड हिमालयन एभरेस्टले १ अर्ब १४ करोड रुपैयाँबराबरको बिमाशुल्क संकलन गरेका हुन्।
योबाहेक नेपाल इन्स्योरेन्सले ७८ करोड रुपैयाँबराबरको बिमाशुल्क संकलन गर्दा दि ओरिएन्टल इन्स्योरेन्सले ९२ करोड, राष्ट्रिय जीवन बिमा कम्पनीले ६१ करोड, नेशनल इन्स्योरेन्सले ४९ करोड, प्रभु इन्स्योरेन्सले ६२ करोड, एनएलजी इन्स्योरेनसले ९४ करोड र सानिमा जीआईसी इन्स्योरेन्सले ७७ करोड रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड रुपैयाँबराबरको बिमाशुल्क संकलन गरेका हुन्।
कात्तिकसम्म १४ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल १४ अर्ब ९ करोड ७२ रुपैयाँबराबरको बिमाशुल्क संकलन गर्दा २६ करोड १४ लाख बराबरको बिमाशुल्क संकलन ४ वटा लघुबिमा कम्पनीले गरेका छन्।
लघुबिमातर्फ भने कात्तिकसम्म सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले बिमाशुल्क संकलन गरेको छ। यो कम्पनीले ७ करोड ९० लाख रुपैयाँबराबरको बिमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ४१ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ८९ लाख, ट्रष्ट इन्स्योरेन्सले ५ करोड ९३ लाख रुपैयाँ बराबरको बिमालेख बिक्री गरेका हुन्।
Shares

प्रतिक्रिया