सरकारले विदेशबाट नेपाल आउने सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्नैपर्ने निर्णय गरेको हो।
शनिबारदेखि नै उक्त निर्णय कार्यान्वयनमा आएको छ। अध्यागमन विभागले यसबारे सूचना जारी गर्दै नेपाल आउने विदेशीलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा र नेपालीलाई होम क्वारेन्टाइनमा बस्न भनेको छ।
विदेशी नागरिकले नेपाल आउन चाहे १ हप्ताभित्रको स्लाब रिपोर्ट त्रिभुवन विमानस्थलमा देखाउनुपर्ने बताएको छ। सरकारले नेपाल आउने विदेशीलाई १४ दिन सेल्फ क्वारेन्टाइन्मा बस्नु भने पनि नियमन गर्न कुनै संयन्त्र छैन। कुन पर्यटक कहाँ गयो, को–कोसँग भेट्यो कुनै रेकर्ड राख्ने सरकारले कुनै संयन्त्र खडा गरेको छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले सरकारको निर्णय व्यावहारिक नभएको बताउँछन्। ‘पर्यटक आए हामीले सम्हाल्न सक्ने स्थिति नै छैन’, उनले भने, ‘मोनिटरिङ गर्न नसक्ने कुरा सक्दैन भन्दा राम्रो हुन्छ।’
‘आफ्नो घरमा आएका मान्छे त बस्न पनि सक्छन्’, मरासिनीले भने, ‘तर विदेशी सेल्फ क्वारेन्टाइनमा कसरी बस्छन्?’ उनले सरकारले आफैँ आइसोलेसनमा राखे मात्रै सम्भव हुने बताए।
धेरैजसो पर्यटक ७ दिनभन्दा कमको भिसा लिएर आउने भएकाले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस भन्नु अव्यावहारिक भएको उनको भनाइ छ। यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेपाल आउन चाहने जोसुकैले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बताउँछन्।
कुनै विदेशी वा नेपाली नागरिकले १४ दिन बस्न सक्दैनन् भने नेपाल नआउन उनको सुझाव छ। उनले भने, ‘नेपाल सेफ छ, कुनै होटलमा १४ दिन क्वारेन्टाइनमा बस्छु। त्यसपछि बाहिर घुम्छु भन्न पनि सक्छ।’
पर्यटक जुन होटलमा बस्छन्, तिनै होटलले उनीहरुको निगरानी गर्नुपर्ने लामिछाने बताउँछन्।
पूर्वनिर्देशक मरासिनी भने विदेशीलाई आउन दिने भए होटललाई पनि हस्पिटलजस्तै बनाउनुपर्ने बताउँछन्।
‘पर्यटकलाई कस्तो व्यवहार गर्ने, कसरी सुरक्षित हुने, सरसफाइ कसरी गर्ने, होटलमा आएर मानिस बिरामी भए भने के गर्ने? यी कुराहरु होटलका कर्मचारीलाई सिकाउनुपर्छ’, उनले भने।
होटलमा राखेको पर्यटकलाई बढी ज्वरो तथा रुघाखोकी लाग्यो भने सरकारले टिम पठाई उपचार गर्नसके सरकारले भनेजस्तो सम्भव हुने उनको भनाइ छ।
इबोलामा यसरी अपनाइएको थियो सतर्कता
यसअघि इबोला रोगको समयमा पनि सरकारले यसैगरी सतर्कता अपनाएको थियो।
‘पहिला इबोलाको समयमा डाक्टरको सर्टिफिकेट लिएर आउन भनेको थियो। नेपाल आउनुभन्दा २४ घण्टाअघि म संक्रमित छैन र संक्रमित भएको मानिसको सम्पर्कमा पनि गएको छैन भन्ने रिपोर्ट डाक्टरले रिपोर्ट दिनुपथ्र्यो’, मरासिनीले आफ्नो अनुभव सुनाउँदै भने, ‘तर त्यस्तो रिपोर्ट बनाउन डाक्टरलाई अहिले अप्ठ्यारो छ। संक्रमित नभएको भनेर डाक्टरले रिपोर्ट दिन सक्छ तर कोरोना भएको मानिसको सम्पर्कमा नआएको भन्ने डाक्टरले रिपोर्ट दिन सक्दैन।’
कि होटल छुट्याऔँ कि पर्यटकलाई भिसा नै नदिऔँ
१४ दिन क्वारेन्टाइन बस्नुपर्ने र नेपाल आउँदा सर्टिफिकेट देखाउनुपर्ने भन्नुभन्दा सिधै भारतले जस्तो नेपाल प्रवेश निषेध गर्दा राम्रो हुने मरासिनीको सुझाव छ।
उनले भने, ‘यदि भित्र्याउने नै हो भने होटलहरु फिक्स (निश्चित) गरिदिनुपर्यो। कुन होटलमा कुन देशको नागरिकलाई राख्ने र कसरी हेरचाह गर्ने भनेर सरकार तयारीका साथ आयो भने गर्न पनि सक्छ।’
एकैठाउँमा विभिन्न देशका मानिसलाई राख्न नहुने उनको सल्लाह छ। उनले भने, ‘होटलमा राखेको विदेशीलाई हरेक स्वास्थ्यका प्रतिनिधिले हेर्नुपर्ने हुन्छ। त्यसरी होटलमा राखेको पर्यटकलाई ज्वरो आयो भने उसलाई आइसोलेसनमा राख्दा अरुमा सर्न सक्दैन।’
विभागको तथ्यांकअनुसार गत १४ दिनको अवधिमा नेपालमा २४ हजार १ सय ५० जना विदेशी नेपाल आएका छन्। त्यस्तै, ४४ हजार १ सय ४७ जना नेपाली स्वदेश फर्किएका छन्। साेही अवधिमा देश छाडेर जाने विदेशीकाे संख्या ११ हजार ६ सय ५ छ भने नेपालीकाे संख्या ४३ हजार ८ सय ८९ रहेकाे छ।
Shares

प्रतिक्रिया