कारोबार


कोरोना भाइरसको प्रभाव : सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने

कोरोना भाइरसको प्रभाव : सोमबारदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने

नेपालखबर
चैत २, २०७६ आइतबार १२:१६,

भोलि सोमबारदेखि सरकारले नेपालमा बिक्री हुने सबै प्रकारको पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट भइरहेको तथा भारतको रिफाइण्ड तेलको मूल्यमा समेत केही गिरावट आएकोले सरकारले मूल्य समायोजनको तयारी गरेको हो।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार भाउअनुसार पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै आएको छ। १५-१५ दिनमा हुने मूल्य समायोजन मार्च १ तारिखमा भने भएन। जसको कारण सरकारले बढाएको करमा नै त्यसलाई मिलान गरेको नेपालको पेट्रोलियम पदार्थको बिक्रेता निगमले जानकारी गराएको छ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले नेपालखबरसँग कुरा गर्दै अघिल्लोपटक सरकारले पूर्वाधार करमार्फत प्रतिलिटर ५ रुपैयाँ कर थप गरेकोले मूल्य समायोजन गर्न नसकिएको जानकारी दिए। उनले भने, ‘तर भोलि (सोमबार) भने अवश्य हुनेछ।’

नेपालले हरेक १५-१५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्यसँग पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। नेपालले इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको रेटअनुसार पेट्रोल र डिजेलको मूल्य समायोजन गर्दै आएको छ। त्यही रेट (दर)अनुसार नै गर्ने भन्ने विषयमा निगमले छलफल गरिरहेको उनले जानकारी दिए। आईओसीले पनि नयाँ रेट भोलि नै पठाउले उनले जानकारी दिए।

कोरोना भाइरसको कारण कच्चा तेलको मूल्यमा गिरावट आइरहेको बेला भारतमा पनि पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटिरहेको छ। शनिबार भारत सरकारले पेट्रोलमा अन्तःशुल्क कर ३ भारुले बढाएको थियो। यसका बाबजुद पेट्रोल र डिजेल मूल्य भने घटिरहेको छ।

भारतमा २७ फेब्रुअरीयता लगातारजसो मूल्य घटिरहेको भारतीय सञ्चारमामाध्यमको भनाइ छ। आइतबार पनि भारतीय सहरमा औसत १२ पैसाको दरले पेट्रोलको र १५ पैसाका दरले डिजेलको मूल्य घटेको छ। भारतीय सहर नयाँ दिल्लीमा पेट्रोलको मूल्य आज ६९.७५ भारु र डिजेलको ६२.४४ भारु प्रतिलिटर कारोबार भएको छ। आज मुम्बईमा सबैभन्दा बढी ७५.४६ भारु (पेट्रोल) र ६५.३७ भारु (डिजेल) कारोबार भएको छ। भारतमा पेट्रोल र डिजेलको दैनिकजसो मूल्य परिवर्तन हुन्छ र बिहान ६ बजे नै अपडेट भइसकेको हुन्छ।

यसैबीच, गत हप्ता २९ वर्षयताकै उच्च दरमा घटेको कच्चा तेलको मूल्य आइतबार केही बढेको छ। बीबीसीका अनुसार ब्रेन्ट क्रुड १.९० प्रतिशतले बढेर ३३.८५ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको छ। त्यस्तै वेस्ट टेक्सास इन्टरमेडिएट क्रुड आयल शून्य दशमलव ७३ प्रतिशतले बढेर ३१.७३ अमेरिकी डलर प्रतिब्यारेल कारोबार भएको छ। त्यस्तै प्राकृतिक ग्यासको मूल्य पनि बढेको छ।

जनता ढाँटेर असुलियो ३ रुपैयाँ प्रतिलिटर
गत फाुगन ११ गतेको मन्त्रिपरिषद् बैठकले पेट्रलियम पदार्थमा लाग्ने करमध्ये पूर्वाधार कर बढाएको थियो। योभन्दा अघि पूर्वाधार करमार्फत सरकारले पेट्रोल र डिजेल प्रतिलिटर ५ रुपैयाँ लिँदै आएको थियो। यो बढाएर उक्त बैठकले १० रुपैयाँ पुर्याएको थियो।

उक्त कर उपभोक्तालाई प्रत्यक्ष मारमा नपार्ने तर नेपाल आयल निगमको नाफाबाट कटौती गर्ने भन्दै सरकारले पूर्वाधार करको दर बढाएको स्पष्टीकरण दिइसकेको छ। तर सरकारले यसमा जनतालाई भने ढाँटेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले उपभोक्तालाई मारमा नपर्ने गरी करवृद्धि गरेको भनिए पनि औसत ३ रुपैयाँ बढी लिएको पाइएको छ। निगम स्रोतका अनुसार मार्च १ तारिखमा औसत ३ रुपैयाँ मूल्य गिरावट हुनुपर्ने थियो तर यहाँ घटाइएन। ३ रुपैयाँ उपभोक्ताबाट नै संकलन गरी २ रुपैयाँ मात्रै निगमको नाफाबाट कर कटौती गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad