नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि सेयर कारोबारको समय एक घण्टा थप गरेको छ। नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ।
बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको होे। नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले कारोेबार समय परीक्षणकोे रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताए।
उनले सेयर कारोबारका लागि लगानीकर्ताले समय कम भएको गुनासो गरेकोे र अन्तर्राष्ट्रिय पुँजीबजारकोे समय बढी हुने गरेकोे अवस्थामा नेपालमा पनि लगानीकर्ताको हितमा हुने गरी नेपाल धितोपत्र बोेर्डको निर्देशनअनुसार कारोबारको समय थप गरेको बताए।
महाप्रबन्धक साउदले नेप्सेको कारोेबार समय बढ्दा बजारमा सकारात्मक फाइदा पुग्ने दाबी समेत गरे। उनले समय बढाउँदा कारोबार रकम अझ बढ्न सक्ने अपेक्षा गरिएको बताए। तर कारोबार समय थप हुँदा बजारमा इण्डेक्स बढ्छ या घट्छ भन्ने प्रतिक्रिया दिन नहुने र कसैले दिए विश्वास नगर्न समेत आग्रह गरे।
नेप्सेले कारोबार समय थप गरेसँगै तीन भागमा वर्गीकरण हुने गरी कारोबारको समय निर्धारण गरेको छ । जस अनुसार प्रारम्भिक कारोबार समय १० बजेर ३० मिनेट देखि ११ बजे सम्म, बोलकबोल तथा निरन्तर कारोबार समय १ घण्टा बढाएर ११ बजे देखि ४ बजे सम्म र अन्तिम कारोबार ४ बजेर ५ मिनेटसम्म कायम गरेको हो ।
महाप्रबन्धक साउदले कारोबार समय थप गर्दा नेप्सेमा प्राविधिक रुपमा कुनै समस्या नरहेको समेत बताए।

प्रतिक्रिया