समाज


कोटेश्वर-कलंकी सडकमा लेन प्रयोगको नयाँ नियम

कोटेश्वर-कलंकी सडकमा लेन प्रयोगको नयाँ नियम

नेपालखबर
चैत २, २०७६ आइतबार १०:२२,

कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी र साना सवारी साधनहरू दाहिने द्रुत लेनबाट मात्र चलाउने नयाँ नियम लागू भएको छ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रम बीच संयुक्त रूपमा रिवन काटेर यो व्यवस्थाको शुरूवात गरेका छन्।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले बोल्दै यस व्यवहारिक र रचनात्मक कार्यलाई अगाडि बढाउन आगामी दिनमा साथ र सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे।

कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायत प्रहरी अधिकृत, यातायात व्यवसायीहरू उपस्थित थिए। ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीले प्रस्तुति समेत दिएको थियो।

सचेतनाको लागि प्ले कार्ड
सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन्। उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्धारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भने, ‘सडक सुरक्षा र त्यसको प्रयोगमा सम्बन्धमा स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूलाई जिम्मेवारपूर्ण बनाई यस नियमलाई कडाईका साथ पालनाका लागी पर्याप्त ट्राफिक प्रहरीहरू खट्टाईएको छ।’

kalanki koteshwor sadak

केही समय पश्चात नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसय सम्म जरिवाना गर्न सक्नेछ र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए।

मासिक ८० को हाराहारीमा सवारी दुर्घटना
देशकै पहिलो ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८० को हाराहारीमा सडक दुर्घटना बढेपछि महाशाखाले लेन अनुशासनलाई कडाईका साथ लागू गरेको हो। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाहीका साथ गरेकाले सडक दुर्घटना भएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको जानकारी श्रेष्ठले दिए।

सरोकारवाला सबैलाई राखेर शुरू गरिएको यो अभियानको अनुगमन र प्रभावकारी कार्यान्वयनमा सघाउनका लागी सम्बन्धित सरोकारवाला संघ संस्था, नागरिक समाजबाट प्रतिनिधीत्व हुने गरि अनुगमन समिति समेत गठन गरिएको छ। पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभावकारी बनाउन स्थलगत रूपमा समस्याको पहिचान गरी ठाउँको ठाउँ कार्यान्वयनको लागि महाशाखाका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सुझाव पेश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad