कारोबार


नयाँ स्टक एक्सचेन्ज आवश्यक छ, सरकारको निर्देशनबमोजिम अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ

नयाँ स्टक एक्सचेन्ज आवश्यक छ, सरकारको निर्देशनबमोजिम अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १३:५४, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।

बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको काम धेरै अघि बढेको र त्यसमा सरकारको नीति निर्देशनबमोजिम अघि बढ्ने बताएका हुन्।

उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको पनि उनको भनाइ थियो। 

‘नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु,’ उनले भने, ‘नेपाल सरकारको नीति निर्देशन जे हुन्छ, त्यहीअनुसार अगाडि बढ्ने हो। धेरै विषयहरू अगाडि बढेको स्थिति छ। सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ। अब सरकारको के निर्देशन आउँछ, त्यहीअनुरूप अगाडि बढ्ने हो।’

धितोपत्र बोर्ड अध्यक्षविहीन भएको लामो समयपछि यस जिम्मेवारीमा आएका उनले बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गरे।

उनले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम गर्ने जानकारी पनि दिए।

बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू क्रमशः अगाडि बढाउने र पुँजीबजारको भूमिका तथा दायरा बढाउँदै लैजानुपर्ने धारणा पनि राखे।

उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारी सम्हाल्न आइपुगेको छु। बोर्डमा ठूलो जिम्मेवारीका साथ आएको छु। चुनौतीहरू धेरै छन्। नेतृत्वको अभावमा अड्किएका कामहरू त्यत्तिकै छन्। मैले विशेष गरेर पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्छ। लगानीकर्ताहरूको सुरक्षा पहिलो प्राथमिकता हो।’

पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै भए पनि त्यसको सदुपयोग गर्न नसकिरहेको भन्दै उनले अगाडि थपे, ‘पुँजीबजारलाई अत्यधिकरूपमा प्रयोग गर्न सक्छौँ। यिनै विषयलाई प्राथमिकताका साथ काम गर्ने उद्देश्यले जिम्मेवारीमा आएको छु।’

उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने जानकारी दिए।

‘आईपीओ निष्कासनको विषयमा साथीहरूसँग वस्तुस्थिति बुझ्छु। आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो। प्रक्रियाबाट अगाडि बढ्छ। स्थायी नेतृत्व नहुँदा रोएिको थियो। त्यो समस्या समाधान हुँदै जान्छ।’

पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायसँगको सहकार्यमा लाग्ने र नेपाली पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने गरी काम गर्ने योजना रहेको पनि उनले बताए।

अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गर्दै एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad