आईसीटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय आईसीटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ। स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड र सोसल इन्नोभेसन आईसीटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ।
उत्कृष्ट ५ छनौटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो। अवार्डका सेमिफाइनलिष्टहरू १४ जना विज्ञ जुरी समक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुती दिएका थिए।
उनीहरूको प्रस्तुती, इन्नोभेसन, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो समेत प्रशारण भइरहेको छ।
उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा बसियो सर्भिसेस प्रालि, क्रिमसन टेक प्रालि, फ्यान्टासी गेम्स प्रालि, जियोभेसन नेपाल प्रालि र हेल्थ याद आयो प्रालि रहेका छन्।
यसैगरी प्रडक्ट आईसीटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरूमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ईनिर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन्।
त्यस्तै राइजिङ स्टार इन्नोभेसन विधामा बालि विज्ञान, डा। फिस, हाइपर्स, स्पीकअप नेपाल र राइट अन एआई परेका छन्।
साथै यसै वर्षदेखि थप भएको सोसल इन्नोभेसन विधामा कताहो, ईकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन्।
आईसीटी अवार्ड २०२४ का यी ४ विधाहरूमा ३०० बढिको नोमिनेसन प्राप्त भएको थियो। यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो।
सेमिफाइनलिष्टहरूले मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट र गत कात्तिक २९ र ३० गते भएको टेकस्पायर स्टार्टअप आईडिया फेस्ट २०२४ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए।
उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ। पब्लिक भोटिङ हाम्रो पेमार्फत गर्न सकिने छ। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ।
साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आईसीटी अवार्ड २०२४ मा सहभागी हुन पाउने छन्। हाम्रो पेबाटै आफुलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ। सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आईसीटी अवार्ड प्रदान गरिने छ।
सर्वोत्कृष्टहरूलाई आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुने आईसीटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान गरिने छ।
यसैगरी आईसीटी अवार्ड २०२४ अन्तर्गत अन्य व्यक्तिगत र संस्था तर्फका विधाहरूमा पनि छनौट प्रकृया जारी रहेको छ। व्यक्तिगततर्फ प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, वुमन आइकन र नेपाली डायस्पोरा आईसीटी अवार्ड तथा संस्थागततर्फ डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा छनौट प्रकृया सञ्चालन भइरहेको छ।
साथै साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड विधामा पनि छनौट प्रक्रिया चलिरहेको छ। यस विधामा सार्क राष्ट्रबाट १०० बढीको आवेदन प्राप्त भएको थियो भने सर्वोत्कृष्ट छनौटको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरू रहेका छन्।
यस बाहेक सातै प्रदेशका एक एक स्टार्टअपलाई प्रोभिसियल स्टार्टअप आईसीटी रिकग्निसन समेत प्रदान गरिने छ। यसले मोफसलमा स्टार्टअप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसका लागि सातै प्रदेशमा केही समय अगाडि स्टार्टअप मिटअप समेत आयोजना गरिएको थियो।
सन् २०१६ बाट लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको आईसीटी अवार्डको यो नवौं संस्करण हो। सर्वोत्कृष्ट छनौटका लागि ६ महिनासम्म निरन्तर सञ्चालन हुने यस कार्यक्रम सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित छ।
अवार्डमा १४ जना विज्ञ जुरी सदस्यहरू रहेका छन भने १३ जनाको विशिष्ट सल्लाहकार समिती रहको छ। ६ महिनासम्म विभिन्न २५ बढी जुरी मिटिङ र दर्जन बढी प्रि इभेन्टहरू हुने गरेका छन्।
अवार्ड कार्यक्रमलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण र नास्टको सहयोग रहेको छ।
यसैगरी एनसेल मुख्य सहयोगी संस्था, इन एसोसिएसन विथमा नेपाल क्युआर र पावर्ड बाइमा स्मार्टन टेक्नोलोजीज रहेका छन। कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, एमआइटी कलेज, हाम्रो पात्रो, आईसीटी फाउन्डेसन लगायतको सहकार्य रहेको छ।

Shares

प्रतिक्रिया