अमेरिकी सेयर लगानीकर्ता अर्बपति वारेन बफेटले आफ्नो सम्पत्तिबारे भविष्यको योजना सम्बन्धमा सोमबार खुलाएका छन्।
आफ्नो मृत्युपछि सम्पत्ति व्यवस्थापनलाई लिएर उनले सेयरसदस्यहरुलाई अवगत गराएको सीएनएनले जनाएको छ।
बर्कशायर हाथवेका प्रमुख कार्यकारी रहेका बफेट ९४ वर्षका पुगेका छन्। उनले कम्पनीका सेयरसदस्यसँग मृत्युबारेका कुरा बाँडेका हुन्। उनले कुनै बेला आफूले पहिलो श्रीमती आफूभन्दा धेरै बाँच्ने सोचेको र उनैले सम्पत्तिबारे निर्णय लिने आशा गरेको खुलाएका छन्।
१ हजार ३ सय शब्दको पत्रमा उनले ६० र ७० को दशकमा रहेका आफ्ना तीन सन्तान सुसी, हवार्ड र पिटर बफेटले नै आफ्ना बुबाको सम्पत्ति कस्तो संस्थालाई दान गर्दा उपयुक्त हुनेबारे निर्णय लिने उल्लेख गरेका छन्।
यदि उनीहरुले कहाँ दान गर्ने निर्णय नसकेको अवस्थामा भने उनले अन्य ३ जना विश्वासपात्रलाई यसको जिम्मा दिएका छन्। तीन जनाको नाम उनले खुलाएका भने छैनन्।
उनले आफ्नो सम्पत्ति सदैव सन्तानमै रहनेबारे नसोचेको खुलाएका छन्।
बफेटले आफ्नो क वर्गका १ हजार ६ सय कित्ता सेयरलाई ख वर्गको २४ लाख सेयरमा रुपान्तरण गर्ने बताएका छन्। जोसँग कम भोटिङ राइट्स हुनेछ। ती सेयरमध्ये १५ लाख कित्ता सेयर सुसन थम्प्सन बफेट फाउन्डेसनलाई दान गरिनेछ। यो फाउन्डेसन उनको पहिलो श्रीमतीको नाममा हुनेछ र ३ लाख कित्ता सेयर आफ्ना सन्तानले चलाएका अन्य ३ फाउन्डेसनमा जानेछ। जुन १ अर्ब २० करोड अमेरिकी डलरबराबरको हो।
यसबाहेक बिल मेलिन्डा गेट्स फाउन्डेसनसँगै चारवटा पारिवारिक फाउन्डेसनमा वार्षिक उपहारमा समेत दानस्वरुपमा उनको सम्पत्ति बाँडिनेछ। सन् २००६ देखि बफेटले आफ्नो सम्पत्ति दानमा खर्चिनथालेका थिए। ब्लुमबर्गका अनुसार हाल उनीसँग डेढ खर्ब अमेरिकी डलर हाराहारीमा सम्पत्ति रहेको छ। आफ्नो मृत्युपछि बाँकी सम्पत्ति पनि दानमै जाने उनको भनाइ छ।
‘जब तपाईंका बालबच्चा परिपक्व हुन्छन्, हस्ताक्षरअघि नै तपाईंको चाहना पढ्न लगाउनुहोस्’, उनले सेयरसदस्यलाई आग्रह गर्दै भनेका छन्, ‘तपाईंको मृत्युपछिको निर्णय सबै सन्तानले राम्ररी बुझ्छन् र त्यसपछिको दायित्वको सामना गर्नेछन् भन्नेमा निश्चिन्त हुनुहोस्।’
Shares

प्रतिक्रिया