कारोबार


सुधारिएन अर्थतन्त्र : आयातनिर्यात खुम्चियो, विदेशी मुद्रा थुप्रियो

तर बढेन कर्जा प्रवाह
सुधारिएन अर्थतन्त्र : आयातनिर्यात खुम्चियो, विदेशी मुद्रा थुप्रियो

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १५:३०, काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक विवरणले आन्तरिक अर्थतन्त्र चलायमान हुन नसकेको देखाएको छ।

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अपेक्षित बढ्न नसक्दा त्यसको असर आन्तरिक अर्थतन्त्रमा देखिएको हो।

यद्यपि पहिलो तीन महिनामा शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चितिलगायत बाह्य अर्थतन्त्रका सूचक भने सकारात्मक देखिएका छन्।  

यो अवधिमा आयात र निर्यात दुवै घटेको छ भने उत्पादनशील क्षेत्रमा जाने कर्जा प्रवाह पनि अपेक्षित रुपमा बढ्न सकेको छैन। 

मुद्रास्फीति गत वर्षको पहिलो त्रैमासको तुलनामा घटे पनि दैनिक प्रयोगमा आउने खाद्य तथा गैरखाद्य वस्तुको मुद्रास्फीति उल्लेख्य रुपमा बढेको छ। 

यो तीन महिनामा रेमिट्यान्स ११.५ प्रतिशतले बढेको छ भने वैदेशिक विनिमय सञ्चिति पनि ९.४ प्रतिशतले बढेर १७ महिना ६ दिनको आयात देशले धान्न सक्ने अवस्थामा पुगेको छ। बजारमा खपत बढ्न नसकी आयात घट्दा त्यसको असर वैदेशिक सञ्चितिमा देखिएको हो। 

चालू आवको पहिलो त्रैमासमा आयात ४.२ प्रतिशतले घटेको छ भने निर्यात पनि ६.१ प्रतिशतले घटेको छ। खर्च नहुँदा देशको शोधनान्तर स्थिति पनि १ खर्ब ८४ अर्ब रुपैयाँले बचतमा देखिएको छ। 

यता आम्दानीभन्दा सरकारको खर्च यो तीन महिनामा बढी देखिएको छ। यसका लागि यो वर्ष पनि सरकारले ऋण लिएर खर्च धान्नुपर्ने अवस्था देखिएको हो। 

ब्याजदर घटेर एकल अंकमा आइसक्दा पनि बजारमा माग र आपूर्ति दुवै बढ्न सकेको देखिँदैन। बैंकहरुमा तरलता पर्याप्त हुँदा हुँदै पनि कर्जा विस्तार सुस्त देखिएको छ भने तरलता व्यवस्थापन नै गर्न नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था पुगेका छन्। 

ब्याजदर एकल अंकमा आउदा पनि उद्योग व्यवसाय देखी सर्वसाधारणसम्म अपेक्षित रुपमा ऋण प्रवाह हुन सकेको छैन। 

नेपाल राष्ट्रबैंकले चालू आवमा १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिए पनि पहिलो त्रैमासमा कर्जा प्रवाहमा अपेक्षित वृद्धि नदेखिँदा यो वर्ष पनि कर्जा प्रवाहको उद्देश्य पूरा नहुने देखिन्छ। 

यस्ता छन् अर्थतन्त्रका यी ७ सूचकको अवस्था 

उपभोक्ता मुद्रास्फीति घट्दो क्रममा, दैनिक प्रयोग हुने वस्तुमा महंगी कायमै 
गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा बार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेको छ। 

अघिल्लो वर्ष ७.५० प्रतिशतमा रहेको मुद्रास्फीति चालू आवको सोही अवधिमा घटेर ४.८२ प्रतिशतमा आइपुगेको छ।

यो अवधिमा खाद्य र गैरखाद्य वस्तुहरुको मुद्रास्फीति प िनगत वर्षको तुलनामा घटेको देखिएको हो। 

अघिल्लो वर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ८.४८ प्रतिशत रहेकोमा यो वर्षको पहिलो त्रैमासमा ७.१८ प्रतिशतमा ओर्लिएको छ भने गैरखाद्यतर्फ ६.८५ प्रतिशतबाट यो वर्ष३.४९ प्रतिशतलमा ओर्लिएको हो। 

यो अवधिमा तरकारी, दाल गेडागुडी, घ्यु तेल लगायतका वस्तुको मूल्य बढेको छ भने माछामासु तथा चिनी र मरमसालामा घटेको छ। गैरखाद्य वस्तुहरुको मुद्रास्फीति पनि यो अवधिमा बढेको हो। 

खुम्चिँदो अवस्थामा आयातनिर्यात
पहिलो त्रैमासमा आयात र निर्यात दुवै बढ्न सकेको छैन। यो तीन महिनामा वस्तु आयात ४.२ प्रतिशतले घटेको छ। यो अवधिमा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको हो। 

अघिल्लो वर्षको सोही अवधिमा १.७ प्रतिशतले आयात बढे पनि कुल वस्तु आयात भने यो तीन महिनामा ४.२ प्रतिशतले घटेको हो। यो अवधिमा कुल वस्तु व्यापार घाटा ४ प्रतिशतले कमी आएर ३ खर्ब ५२ अर्ब पुगेको छ। निर्यात पनि यो अवधिमा ६.१ प्रतिशतले कमी आई कुल ३८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको हो। 

यो अवधिमा चीन, भारत तथा अन्य मुलुकामा हुने निर्यात उल्लेख्य घट्न पुगेको हो। 

रेमिट्यान्स बढेको बढ्यै 
चालू आवाको पहिलो अवधिमा ११.५ प्रतिशतले धेरै रेमिट्यान्स भित्रिएको छ। 

चालू तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपालमा भित्रिएको हो। 

यस्तै यो अवधिमा खुद ट्रान्सफर पनि बढेर ४ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। 

१७ महिनाको आयात धान्न सक्ने डलर सञ्चिति
वैदेशिक मुद्रा सञ्चिति बढेर १७ महिना ६ दिनको आयात धान्न सक्ने अवस्थामा पुगेको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०८१ असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ। 

त्यस्तै आर्थिक वर्ष २०८१÷८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

चालू र शोधनान्तर खाता दुवै बचतमा 
चालू खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो। 

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ३ अर्ब ३८ करोड रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ६६ करोडले बचतमा रहेको थियो। 

सरकारको आयभन्दा व्यय बढी
आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा नेपाल सरकारको कुल खर्च ३ खर्ब २९ अर्ब २० करोड रहेको छ। समीक्षा अवधिमा चालू खर्च २ खर्ब २९ अर्ब ८५ करोड, पँुजीगत खर्च २९ अर्ब ३७ करोड र वित्तीय व्यवस्था खर्च ६९ अर्ब ९७ करोड रहेको छ। 

यो अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन भने (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब ४८ अर्ब २६ करोड पुगेको छ।

यसअन्तर्गत कर राजस्व २ खर्ब १९ अर्ब ६८ करोड र गैर कर राजस्व २८ अर्ब ५८ करोड परिचालन भएको हो। 

बैंकमा तरलता अधिक हुँदा पनि कर्जा प्रवाह सुस्त
बैंकमा तरलता पर्याप्त रहँदा पनि कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न सकेको छैन।

यो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजदर एकल अंकमा झर्दा पनि कर्जा प्रवाहमा अपेक्षित गति देखिएन। यद्यपि यो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह २.५ प्रतिशतले भने बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब२८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो। 

वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको छ। 

यो अवधिमा बैंकहरुमा कर्जा नजाने तर निक्षेप थुप्रिने अवस्थाले तरलता पर्याप्त रह्यो। राष्ट्रबैंकले तरलता व्यवस्थापका लागि मात्रै यो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट ७८ खर्ब रुपैयाँ प्रशोचन गरेको छ। 

अघिल्लो वर्ष बैंकहरुसँग तरलता पर्याप्त नहुदा राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत ३ खर्ब ६३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा प्रवाह गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad