कारोबार


बैंकहरूमा थुप्रियो ३७ अर्ब बढीको गैरबैंकिङ सम्पत्ति, लिलाम गर्नै मुस्किल

बैंकहरूमा थुप्रियो ३७ अर्ब बढीको गैरबैंकिङ सम्पत्ति, लिलाम गर्नै मुस्किल

सम्झना घिमिरे
मंसिर ३, २०८१ सोमबार १४:३८, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन नै गर्न नसक्ने गरी बढेको छ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै बैंक तथा वित्तीय संस्थाहरूमा करिब ३८ अर्ब रुपैयाँबराबरको यस्तो सम्पत्ति थुप्रिएको हो।

यसले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असुलीमा सुधार नआएको देखिएको छ। ऋणीले ऋण नतिर्दा उनीहरूले सुरक्षण राखेको धितोबापतको सम्पत्ति गैरबैंकिङ सम्पत्तिमा गणना हुन्छ। 

यसलाई बैंकले लिलामी गरेर कर्जा असुल गर्नुपर्छ। तर पछिल्लो समय बैंकहरूले लिलामी नै गर्न नसक्दा बैंकहरूको गैरबैकिङ सम्पत्ति क्रमशः बढिरहेको छ।

असोज महिनामा मात्रै बैंकमा यस्तो सम्पत्ति ७१ करोड रुपैयाँले बढेको छ। भदौ महिनासम्ममा ३७ अर्ब ९३ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति बैंक तथा वित्तीय संस्थाहरूमा थियो। 

बैंकको ब्याजदर घटेर एकल अंकमा ओर्लिसक्दा पनि कर्जा असुलीमा सुधार नदेखिँदा बैंकहरूको गैरबैकिङ सम्पत्ति बढ्दै गएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरूको यस्तो सम्पत्ति ३५ अर्ब ५४ करोड रुपैयाँ थियो। यो तीन महिनामा मात्रै बंैक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति २ अर्ब २१ करोड रुपैयाँले बढेको छ। 

अघिल्लो वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूसँग १८ अर्ब ६८ करोड रुपैयाँबराबरको मात्रै गैरबैंकिङ सम्पत्ति थियो। गत वर्षबाट बैंकहरूले कर्जा उठाउन नसकेपछि धितो जफत गर्दा गैरबैंकिङ सम्पत्ति बढेको हो। 

यस्तो सम्पत्ति सबैभन्दा धेरै वाणिज्य बैंकहरूमा छ। असोज मसान्तसम्म वाणिज्य बैंकहरूसँग ३१ अर्ब ७३ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ। गत भदौ महिनामा बैंकसँग ३१ अर्ब ३८ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो। यो एक महिनामा बैंकको यस्तो सम्पत्ति १.१३ प्रतिशतले बढेको हो। 

कुन वाणिज्य बैंकमा कति छ गैरबैंकिङ सम्पत्ति?
चालू आवको पहिलो तीन महिनासम्म सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा छ। यो बैंकमा ५ अर्ब १२ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहँदा एनआईसी एसिया बैंकसँग ४ अर्ब २१ करोड रुपैयाँ, हिमालयन बैंकसँग ३ अर्ब २८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग ३ अर्ब ३ करोड रुपैयाँबराबरको सम्पत्ति छ।  

योबाहेक नेपाल बैंकसँग २० करोड, राष्ट्रिय वाणिज्य बैंकसँग २९ करोड, नबिल बैंकसँग २ अर्ब ५१ करोड, नेपाल एसबीआई बैंकसँग ३५ करोड, एभरेस्ट बैंकसँग ४९ करोड, माछापुच्छ्रे बैंकसँग १ अर्ब ४ करोड, कुमारी बैंकसँग २ अर्ब ६० करोड, लक्ष्मी सनराइज बैंकसँग १ अर्ब ६० करोड र सिद्धार्थ बैंकसँग ७० करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ। योबाहेक कृषि विकास बैंकसँग ९७ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहँदा सिटिजन्स बैंकसँग ९० करोडको, प्राइम कमर्सियल बैंकसँग १ अर्ब ६९ करोड र एनएमबी बैंकसँग ९७ करोड रुपैयाँबराबरको सम्पत्ति छ। 

अर्थतन्त्र चलायमान बन्न नसक्नु तथा घरजग्गा कारोबार बढ्न नसक्दा पनि बैंक तथा वित्तीय संस्थाहरूले लिलामी गरेका सम्पत्ति बिक्री गर्नसकेका छैनन्। यसले बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढाउनुका साथै खराब कर्जा समेत सीमामा पुर्‍याएको छ।

अहिले अधिकांश वाणिज्य बैंकहरूको खराब कर्जा ४ प्रतिशतमाथि पुगेको हो। राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म ८ वटा वाणिज्य बैंकहरूको खराब कर्जा ४ प्रतिशत माथि पुगेको छ। कर्जा असुलीमा समस्या देखिएपछि प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा रेसियो ४ प्रतिशत माथि उक्लिएको हो।

योबाहेक ३ अर्ब ७० करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति विकास बैंकसँग रहँदा वित्त कम्पनीहरूसँग २ अर्ब २८ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ। असोज महिनामा मात्रै विकास बैंकको यस्तो सम्पत्ति ३.०८ प्रतिशतले बढ्दा वित्त कम्पनीहरूको १२.२६ प्रतिशतले बढेको हो। 

सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूमा रहेको गैरबैंकिङ सम्पत्तिलाई तरल सम्पत्तिको रुपमा लिइँदैन। यस्ता सम्पत्ति बिक्री गरेर कर्जा असुल गर्नुपर्दा बैंकहरूको समयसँगै थप रकम खर्चिनुपर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरूले गैरबैंकिङ सम्पत्तिलाई भारको रुपमा लिने गर्छन्। 

गत आर्थिक वर्षबाट गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरू खराब कर्जाको चपेटामा मात्रै परेका छैनन्, सम्पत्ति व्यवस्थापमा समेत समस्या खेप्दै आएका छन्। गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेपछि बैंकहरूले नै यस्तो सम्पत्ति व्यवस्थापन गर्न छुट्टै संस्था स्थापना गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। 

राष्ट्र बैंकले समेत गैरबैंकिङ सम्पत्ति व्यवस्थापनको उल्झनबाट बैंक तथा वित्तीय संस्थाहरूलाई निकाल्नका लागि व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापनाका लागि अध्ययन सुरु गरिसकेको छ। यसअघि एक सार्वजनिक कार्यक्रममै नेपाल राष्ट्र बैंकका गभर्नर डा.महाप्रसाद अधिकारीले गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि छुट्टै संस्था स्थापना गर्नेबारे अध्ययन भइरहेको बताएका थिए।

उनले ऋणीहरूमा कर्जा नतिर्ने लहर चलेको भन्दै यसले बैंकको खराबकर्जा र गैरबैंकिङ सम्पत्ति बढाएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad