कारोबार


टेलिकमले भन्यो : बबरमहल कार्यालयमा धर्ना दिइरहेका व्यक्तिसँग कम्पनीको कुनै सरोकार छैन

टेलिकमले भन्यो : बबरमहल कार्यालयमा धर्ना दिइरहेका व्यक्तिसँग कम्पनीको कुनै सरोकार छैन

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १७:५, काठमाडौँ

नेपाल टेलिकमले काठमाडौंस्थित दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल प्राङ्गण बाहिर धर्ना दिइरहेका जनशक्तिसँग आफ्नो कुनै सरोकार नरहेको स्पष्ट पारेको छ।

यही कात्तिक १२ गते देखि सो कम्पनी अन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहलमा केही व्यक्तिहरूले धर्ना दिइरहेको र आमसर्वसाधारण तथा आमसञ्चार माध्यममा समेत यस बारेमा भ्रम पर्न गएको भन्दै कम्पनीले विज्ञप्तिमार्फत धर्ना सदने समूहसँग कम्पनीको दायित्व नरहेको स्पष्ट पारेको हो।

प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाई लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी ‘आउटसोर्सिङ’ को माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियमरकानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको बताएका छन्।

सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको कम्पनीको भनाई छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस कम्पनी अन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाईको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ। यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको अवस्था छ।’

टेलिकमले ‘हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भईसकेको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहेको’ पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad