कारोबार


अर्बमा नाफा कमाउने बैंकहरूले लगानीकर्तालाई किन बनाउँछन् खाली हात?

अर्बमा नाफा कमाउने बैंकहरूले लगानीकर्तालाई किन बनाउँछन् खाली हात?

सम्झना घिमिरे
कात्तिक २७, २०८१ मंगलबार २०:२७, काठमाडौँ

गत वर्ष नाफा बढाएका वाणिज्य बैंकहरू सेयरधनीलाई दिने लाभांश वितरणमा भने खुम्चिँदै गएका छन्।

धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले धमाधम सेयरधनीको खातामा हालिसक्दा हालसम्म ७ वाणिज्य बैंकले मात्र लाभांशको प्रस्ताव गरेका छन्।

एभरेष्ट बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई दिने लाभांश प्रस्ताव गरेका हुन्।

गत वर्षको नाफाबाट स्ट्यान्डर्ड चार्टर्डले २५.५ प्रतिशत, सानिमाले ५.२६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ५ प्रतिशत, सिटिजन्सले ४.३२ प्रतिशत, ग्लोबल आईएमई बैंकले ५.५० प्रतिशत, नबिल बैंकले १० प्रतिशत र एभरेष्ट बैंकले १५.५३ प्रतिशतले लाभांश दिने प्रस्ताव गरेका छन्।

बाँकी १२ वटा बैंकले भने हालसम्म लाभांश दिने/नदिने निर्णय गरेका छैनन्। तीमध्ये पनि ३ वटा बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक भएका कारण लगानीकर्ताले लाभांश नपाउने पक्का छ। बाँकी ९ वटा बैंकहरूले भने हालसम्म पनि लाभांशको प्रस्ताव अगाडि बढाएका छैनन्।

हालसम्म लाभांश प्रस्ताव नगर्नेमा लक्ष्मी सनराइज, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, नेपाल बैंक र कृषि विकास बैंक छन्।

अघिल्लो आर्थिक वर्षमा पनि ८ वटा बैंकहरूले लगानीकर्तालाई कुनै प्रकारको लाभांश वितरण नगरेकोमा यो वर्ष पनि लाभांशमा बैंकहरू संकुचित देखिएका छन्। 

नाफामा सुधारोन्मुख देखिएका बैंकहरूले यस वर्ष लाभांशमा भने लगानीकर्तालाई खुसी पार्न सकेनन्।

गत आर्थिक वर्षमा मात्रै वाणिज्य बैंकहरूले ६४ अर्ब बराबरको खुद नाफा गरेका छन्। अघिल्लो वर्षको तुलनामा खुद नाफामा १३ प्रतिशतले सुधार गरे पनि सेयरधनीले पाउने लाभांशमा भने सुधार नदेखिएको हो।

लाभांश वितरण बैंकहरूको खुद नाफाका आधारमा नभएर वितरणयोग्य नाफाका आधारमा गरिन्छ। गत वर्ष ३ वटा बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक छ। योबाहेक ९ वटा बैंकहरूले लाभांश दिने क्षमता भए पनि हालसम्म प्रस्ताव गरेका छैनन्। 

बैंकहरूको वितरणयोग्य नाफामा सुधार नहुँदा यो वर्ष पनि बैंकका सेयरधनीहरूको हात रित्तै हुने सम्भावना बढेको छ। 

खुद नाफा बढाइरहँदा कर्जा असुलीका कारण बैंकहरूको कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याउनुपर्ने रकम, खराब कर्जाको अवस्थालगायतका कारण वितरणयोग्य नाफामा असर गर्दा यस वर्ष पनि लगानीकर्ताहरूले अपेक्षित लाभांश नपाउने देखिएको हो।

लाभांशका कारण सेयर लगानीकर्ता सधैँ मारमा 
बैंकहरूको वितरणयोग्य नाफा नबढ्दा त्यसको मारमा भने सधैँ लगानीकर्ता पर्दै आएका छन्। 

अघिल्लो आर्थिक वर्षमा ८ वटा बैंकहरूका लगानीकर्ताले लाभांश नपाउँदा यो वर्ष पनि सोही हाराहारीमा लगानीकर्ताले लाभांश नपाउने देखिएको छ। प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाका कारण बैंकहरूको लाभांश संकुचित बनेको बैंकिङ क्षेत्रका जानकार अनलराज भट्टराई बताउँछन्। 

‘बैंकहरूको नाफा बाँडियो, प्रोभिजनिङमा राख्नुपर्ने, कर्जा असुलीमा गत वर्ष समस्या देखिँदा बैंकहरूको खराब कर्जा बढ्यो। यसले पनि वितरणयोग्य नाफामा कमी आएको देखिन्छ’, उनले भने।  

हाल वाणिज्य बैंकहरूले असल कर्जामा १.१० प्रतिशत, सूक्ष्म निगरानीका कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जाका लागि १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था छ। 

भट्टराई कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने दायित्वका कारण बैंकहरूको नाफा बढे पनि सेयरधनीलाई प्रतिफल दिन मिल्ने वितरणयोग्य नाफा भने बढाउन नसकेको बताउँछन् । 

चालू आवमा बैंकहरूको कर्जा असुली सुधारोन्मुख देखिँदा यो वर्षको वितरणयोग्य नाफा पनि सुधारिने सम्भावना रहेको उनको भनाइ छ। 

‘अहिले बैंकहरूको कर्जा असुलीमा देखिएको सुधारले पनि वितरणयोग्य नाफा आगामी वर्ष बढ्ने देखिन्छ, यसकारण बैंकहरूको लगानीकर्ताले लाभांश पाउँदैनन् भन्ने भाष्य गलत हो’, उनले भने।

त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन केन्द्रीय विभागमा वित्तशास्त्रका उपप्राध्यापक डा. भरत थापा बैंकहरूको वित्तीय अवस्था सबल नहुँदा त्यसको असर लगानीकर्तामा परेको बताउँछन्।

‘कारोबारी हावी भएको बजारमा लाभांश समेत नपाएपछि दीर्घकालीन लगानीकर्ता बैंकबाट डाइभर्ट भएका छन्। यसले लगानीकर्ताको आकर्षण घटाएको देखिन्छ’, उनले भने।   

थापा कर्जाको ब्याजदर घटेर एकल अंकमा आउँदा पनि कर्जा प्रवाह बढाउन नसक्नु, कर्जा असुलीमा समस्या देखिँदा खराब कर्जा सीमानजिक पुग्नु र कर्जा नोक्सानी व्यवस्थापनमै अर्बौँ रकम छुट्याउनुपर्ने प्रावधानले बैंकको वितरणयोग्य नाफा घटेको बताउँछन्। 

प्रतिफल नहुँदा लगानीकर्तामा छैन आकर्षण 
धितोपत्रको दोस्रो बजारमा कारोबार गरिने साधारण सेयर होस् वा संस्थापक सेयर लगानीकर्ताले प्रतिफलप्राप्तिका आधारमै लगानी बढाउने वा घटाउने गर्छन्।

लगानीकर्ताले कम्पनीले हरेक वर्ष दिने लाभांश र दोस्रो बजारमा कम्पनीको मूल्यमा आएको उतारचढावबाट निस्किने लाभबाट लगानीको रणनीति बनाउँछन्। यसो हुँदा कम्पनीले दिने लाभांशले पनि लगानीको बाटो तय गर्ने गर्छ।

सेयरधनीलाई लाभांश वितरण गर्न नसकेपछि केही वर्षयता नै वाणिज्य बैंकहरू सेयर लगानीकर्ताको रोजाइमा पर्न छोडेका छन्। बजारमा तीव्र उतारचढाव नहुने र बैंकले हरेक वर्ष निकाल्ने नाफाबाट समेत प्रतिफल नपाउने भएपछि लगानीकर्ताको आकर्षण वाणिज्य बैंकहरूमा खस्किएको छ।

सेयर लगानीकर्ता संघका अध्यक्ष घनश्याम पाण्डे बैंकबाट आउने प्रतिफल कम भएपछि कारोबारीको नजरमा बैंकिङ समूह पर्न छोडेको बताउँछन्।

उनले भने, ‘दीर्घकालीन लगानीकर्ताले लाभांश हेरेर लगानी गर्छन् भने छोटो नाफा कमाउने कारोबारीले उतारचढावलाई हेरेर कारोबार गर्छन्। यो दुवैमा बैंकिङ समूह पछाडि पर्दै गएको देखिन्छ।’

कारोबारीहरू हावी भएको दोस्रो बजारमा छोटो समयमा नाफा कमाउने सम्भावाना न्यून भएपछि बैंकिङ समूह लगानीकर्ताको नजरमा पर्न छोडेको उनको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad