त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारबाट दैनिक १० घण्टा उडान बन्द गरेर बिस्तारको काम थालनी गरेको हो। यसअघि विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’ गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम थालनी गरेको हो।
प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब रूपैयाँ खर्च हुने गरी काम थलनी गरेको छ। स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द हुनेछन्। आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले प्राधिकरणले विमानस्थल स्तरोन्नति गुरुयोजना अनुरूप दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’ गरी तीन प्याकेजमा काम थालनी गरेको बताए।
उनका अनुसार, स्तरोन्नतिले विमानस्थलको क्षमता अभिवृद्धि अर्थात् रन वे र ट्याक्सी वेको क्षमता वृद्धि हुनेछ। एअर ट्राफिक कन्ट्रोलरहरूलाई एअर ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने र यसले सुरक्षामा पनि अभिवृद्धि हुनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानहरू सञ्चालन गरिनेछ। विमानस्थल सञ्चालन समय घटाउँदा अहिले ३० प्रतिशतसम्म उडान कटौती हुने भए पनि विमानस्थल विस्तार र पूर्वाधार निर्माणले जहाज आवतजावत तथा दीर्घकालीन ट्राफिक व्यवस्थापन सहज हुने अधिकारीहरूको भनाइ छ।
मानस्थलको मुख्य धावनमार्गसँगै समानान्तर हुने गरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको श्रेष्ठको भनाइ छ। उनले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरी विमानस्थल स्तरोन्नतिको काम गर्न लागेको उल्लेख गरे।
नेपाल एअर ट्राफिक कन्ट्रोलर संघका अध्यक्ष तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रबन्धक विपिन वज्रचार्यका अनुसार, विमानस्थल स्तरोन्नति हुँदा रनवे अकुपेन्सी डेढ मिनेटको समय घट्नेछ। विमानस्थलमा हुने विमान डिले, ट्याक्सी वेमा हुने डिले समेत कम हुनेछ। यसबाट विमास्थलको क्षमता अभिवृद्धिसँगै एअर ट्राफिक कन्ट्रोलर र वायुसेवा सञ्चालकहरूलाई बढी फाइदा हुनेछ।
विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशतसम्म उडान कटौती हुने भन्दै वायु सेवा सञ्चालकहरू भने असन्तुष्टि जनाइरहेका छन्।
विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ।
प्राधिकरणका अनुसार, आईकाओले तोकेको विमानस्थलसम्बन्धी मापदण्ड परिपालना हुने गरी तयार भएको गुरुयोजनाअनुसार विमानस्थलको क्षमता विस्तार गर्न विभिन्न ट्याक्सी वेहरू, एप्रोनहरू निर्माण गर्ने कार्यको लागि कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको छ।
वर्तमान ट्याक्सी वे रनवेदेखि ११० मिटरको मात्रको दूरीमा रहेको र निर्माणाधीन समानान्तर ट्याक्सी वे १७२.५ मिटरको दूरीमा हुने भएकाले आइकाओको मापदण्ड परिपालना हुन्छ। निर्माणाधीन १८ वटा पार्किङ एप्रोनहरू तयार भएपछि विमानहरू आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुन्छ।
विमानस्थलमा विमान गुड्ने मार्ग, ट्याक्सी वे, विमानस्थलमा यात्रु वा मालसामान चढाउने, उतार्ने, इन्धन भर्ने, पार्किङ र मर्मतसम्भार गर्ने क्षेत्र एप्रोन बनाउने कार्य गर्नको लागि विमानस्थल बन्द गर्ने निर्णय करिब ७ महिना अघि नै वायुसेवा कम्पनीहरूलाई समेत जानकारी लिएर एयर एआईपी सप्लिमेन्ट प्रकाशनसमेत गरेको थियो। वायुसेवा सञ्चालक कम्पनीहरूसँग परामर्श गरी लिखित सहमतिका आधारमा निर्माण कार्य अघि बढेको प्राधिकरणको भनाइ छ।
हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अद्यावधिक गरी क्रमिकरूपमा क्षमता विस्तार गर्ने लागेको छ। जसअनुसार रनवेको लम्बाई बराबर हुने गरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी वे तथा ट्याक्सी वेहरू, अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोनहरू, विमान मर्मतसम्भार गर्ने सुरक्षित ह्यांगरहरू निर्माण गर्ने योजना छ।
अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक भवनमा रूपान्तरण गरी नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन क्षमता १ करोड यात्रु प्रतिवर्ष र ३ हजार ५ सय यात्रु प्रतिघण्टा) बनाउने योजना छ।
पर्यटनको सिजन भए पनि विकास निर्माणको कार्य गर्ने उपयुक्त समय भएकाले अहिलेको समय रोजेको प्राधिकरणको तर्क छ। प्राधिकरण अधिकारीहरूका भनाइमा, असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले निर्माणको काम गर्न सहज हुँदैन। त्यसैले मनसुन सकिएसँगै कात्तिकदेखि जेठ महिनासम्म विकास निर्माणका काम गर्ने अभ्यासअनुसार प्राधिकरणले ७ महिनाअघि सबैको सहमतिमा अहिलेको तालिका प्रकाशन गरेको हो।
ट्याक्सी वे विमानस्थलमा सञ्चालन हुने सानदेखि ठूला प्रकारका जहाजसम्मको तौल, चाप र जमिनको मोटोको भारवहन क्षमतालाई मध्यनजर गरी तयार पारेको डिजाइनमा ७५ मिटरभित्रको क्षेत्रमा करिब ३ मिटर गहिरो जग खनेर निर्माण गरिन्छ। ७५ मिटरको भित्रको क्षेत्रमा साना–साना सेक्सन बनाएर काम गर्नुपर्ने हुन्छ। बिहान विमानस्थल सञ्चालन हुने समयमा खाडल खुला छोड्न मिल्दैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरसाईडतर्फ हाल ३३७४ मिटर लम्बाइको एक रनवे, १९०० मिटर लम्बाइको एक समानान्तर ट्याक्सी वे (रनवे देखि ११० मिटरको दूरीमा),५ वटा एक्जिट ट्याक्सी वे, ११ वटा अन्तर्राष्ट्रिय विमान पार्किङ एप्रोन र १८ वटा आन्तरिक विमान पार्किङ एप्रोन छन्। रनवेको क्षमता भीएमआर उडानमा ३३ वटा प्रतिघण्टा र आईएमआर उडानमा १२ वटा प्रतिघण्टा छ। टर्मिनलतर्फ एक अन्तर्राष्ट्रिय टर्मिनल भवन (क्षमता ३६ लाख यात्रु प्रतिवर्ष, १ हजार ५ सय ७० यात्रु प्रतिघण्टा) एक आन्तरिक टर्मिनल भवन (१० लाख यात्रु प्रतिवर्ष, ५ सय यात्रु प्रतिघण्टा) र एक कार्गो टर्मिनल भवन छ।
कहिले-कहिले भयो विमानस्थल मर्मत?
अन्तर्राष्ट्रिय विमानस्थल पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ। विसं २०७७ मा पनि प्राधिकरणले विमास्थलको धावनमार्ग विस्तार गरेको थियो। उक्त समयमा धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो। त्यतिबेला पनि विमानस्थल बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ रनवे जिरो–टु विस्तार गरिएको थियो।
२०७७ सालमा विमानस्थलको उडान करिब ३० प्रतिशत बढी कटौती गरिएको थियो। त्यस्तै प्राधिकरणले विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर धावनमार्ग पूर्णरूपमा कालोपत्रे गरेको थियो। उक्त समयमा पनि चार महिना अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो।
विमानस्थल मर्मतको अवधिमा २०७५ सालमा पनि आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो।
Shares

प्रतिक्रिया