कारोबार


किन एकै अंकमा रुमलिइरहेको छ सेयरबजार?

किन एकै अंकमा रुमलिइरहेको छ सेयरबजार?

सम्झना घिमिरे
कात्तिक २३, २०८१ शुक्रबार १२:८, काठमाडौँ

तिहारपछि खुलेको सेयरबजार दुई दिनसम्म स्थिर देखियो– न घट्यो न बढ्यो।

सामान्यत: बजारमा सूचकले हरेक दिन कि उकालो यात्रा गर्छ कि ओरालो यात्रा। बजार घटबढ नगरी सुचारु हुँदाकै अंकमा बन्द भएको दृश्य भने विरलै मात्रै देखिन्छ। तर पछिल्लो दुई कारोबारमा भने सूचकले यस्तै देखायो। 

पहिलो कारोबार मंगलबार नेप्से सूचक ०.० प्रतिशतले घटबढ भयो भने बुधबार पनि ०.०७ प्रतिशतले घट्यो। अंकमा भन्नुपर्दा मंगलबार ०.२१ अंकले घट्दा बुधबार नेप्से १.८८ अंकले घटेको थियो। 

दुवै दिनको बजारमा कारोबार सुरु हुँदा नेप्से बढ्ने र १ बजेपछि भने सूचक निरन्तर घट्ने क्रम देखियो। अन्तमा भने दुवै दिन झिनो अंकको घटाइसँगै बजार बन्द भएको छ।  

दशैँ र तिहारअगाडि बजारमा लगानीकर्ताको आकर्षण राम्रो थियो। सामान्यतया दशैँ र तिहार अगाडिको कारोबारमा लगानीकर्ताको उपस्थिति पातलिने र सूचक पनि घट्ने गर्थ्यो। 

तर यसपालि दशैँ र तिहार दुवै पर्वअगाडि न लगानीकर्ताको बाक्लै देखियो। औसतमा हरेक दिन लगानीकर्ताले ६ अर्ब हाराहारीको कारोबार गरे। 

यसले लगानीकर्ता चाडबाडमा पनि सक्रिय छन् भन्ने देखिएको थियो। तिहारअगाडिको अन्तिम कारोबार दिनमा १४ गते मात्रै नेप्से १५ अंकले घटे पनि लगानीकर्ताको उपस्थिति बाक्लो देखिँदा करिब ६ अर्बको कारोबार हुनपुग्यो। त्यसको अघिल्लो दिन १३ कात्तिकमा भने ४७ अंकले नेप्से बढ्दा कारोबार रकम ६ अर्ब माथि नै थियो। 

बजारमा देखिएको लगानीकर्ताको सक्रियताले तिहारपछि बजार अझै धेरै बढ्न सक्ले आकलनका बीच बजार दुई दिन नै स्थिर बनेपछि लगानीकर्ता अलमलमा परेका छन्। 

सेयरबजार विश्लेषक तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा वित्तशास्त्रका उपप्राध्यापक भरत थापा यस्तो अवस्था सेयरबजारका लागि सुखद नहुने बताउँछन्। बजारलाई लिएर लगानीकर्ता विश्वस्त बन्न नसक्दाको अवस्थामा यस्तो अवस्था सिर्जना हुने उनको तर्क छ। 

‘सूचक तल जान पनि नसक्नु माथि उक्लिन पनि नसक्नु भनेको बजारमा गरिएको लगानीलाई लिएर लगानीकर्ता सशंकित बन्नु हो’, उनले भने, ‘बजारप्रतिको विश्वास नबढ्दा यस्तो अवस्था हुन्छ।’

बजारमा लगानीकर्ताको मनोविज्ञान बलियो बन्न नसक्दा सूचकले गति लिन नसकेको थापा बताउँछन्। उनले यति भनिरहँदा कारोबार रकममा देखिएको वृद्धिलाई पनि नजरअन्दाज गर्न सकिँदैन। 

मंगलबार ३ अर्ब २० करोडको कारोबार भएको बजारमा बुधबार सूचकमा घटबढ नदेखिए पनि कारोबार रकम भने एक अर्ब रुपैयाँले नै बढेको छ। 

यसको अर्थ बजारमा लगानीकर्ताले कारोबार सुस्तै गतिमा भए पनि बढाउँदै छन् भन्ने बुझिन्छ। तर थापा भने तिहारअघिको कारोबारसँग तुलना गरेर मात्रै सक्रिय भए/नभएको थाहा पाइने बताउँछन्। 

तिहारअगाडि करिब ६ अर्ब माथिको कारोबार गरेका लगानीकर्ताले तिहारपछि ४ अर्बमाथिको कारोबार पनि गर्न नसक्नुलाई उनी लगानीकर्ता सक्रिय भएको मान्दैनन्। 

लगानीका लागि वातावरण सिर्जना भए पनि कारोबार रकम अपेक्षित रुपमा नबढेको उनको बुझाइ छ। 

दशैँ र तिहारअगाडिको कारोबारसँग तुलना गर्ने हो भने पनि यो दुई दिनमा लगानीकर्ताले लगानीलाई खुम्च्याउँदा त्यसको असर सूचकमा समेत परेको देखिन्छ। 

धरमराउँदै छ लगानीकर्ताको आत्मविश्वास
जब जब नयाँ सरकार बन्छ र सरकार बलियो छ भन्ने लगानीकर्तालाई लाग्छ तब लगानीलाई पनि बढाउने गर्छन्। अर्थतन्त्र सुधारोन्मुख रहँदा, सेयरबजारमैत्री सरकार बन्दा वा देशमा सकारात्मक घटनाक्रमहरुको विकास हुँदा त्यसको सकारात्मक असर सेयरबजारमा पर्ने गर्छ।

नेपालमा मात्रै नभएर विश्वका सेयरबजारमा यस्तो प्रवृत्ति देखिन्छ। नेपालमा पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रम, अपेक्षित रुपमा अर्थतन्त्र चलायमान बन्न नसक्नु, सूचीकृत कम्पनीहरुले लगानीकर्ताले अपेक्षा गरेअनुसारको लाभांश दिन नसक्नु र लगानीकर्ताभन्दा बढी बजारमा छोटो समयका कारोबारी (सर्ट टम ट्रेडर) हावी हुनुले पनि लगानीकर्ताको आत्मविश्वास कमजोर पारको थापा बताउँछन्। 

उनले थपे, ‘लामो समय साइडवेजमा गएर फर्किएको बजारमा लगानीकर्ताहरु छोटो समयको नाफा निकालेर सुरक्षित बन्ने होडमा देखिएका छन्, छोटो समयमै थोरै प्रतिफल पाउनासाथ बजारबाट निस्किने प्रवृत्तिले बजारलाई स्थिर बनाउन मद्दत गरेको हो।’ 

अर्को प्रमुख कारण भनेको लाभांश नपाउनु हो। अहिले लाभांश घोषणा र वितरण गर्ने समय हो। अधिकांश कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने तथा वितरण गर्ने गरिरहेका छन्। 

यो अवस्थामा बजारको नेतृत्व गर्ने बैंकिङ क्षेत्रले पनि लगानीकर्तालाई अपेक्षित लाभांश वितरण गर्न सकेन। सीमित बैकहरुले पनि थोरै मात्रै लाभांश वितरण गरे। यता अन्य सूचीकृत कम्पनीहरुको लाभांश पनि यस वर्ष आकर्षक देखिएन। यसले दीर्घकालीन लगानी गर्ने लगानीकर्तालाई निराश बनाउन पुग्यो।

योबाहेक आत्मविश्वास बलियो बनाउने अर्को कारक पनि यो समयमा कमजोर देखिएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया दशैँअघि नै सकिने अपेक्षामा बसेका लगानीकर्ता तेस्रो पटक पनि सफल हुन नसकेपछि बजारलाई लिएर सुरक्षित महशुस गर्न सकेका छैनन्।

बोर्डले अध्यक्ष नपाउँदा झण्डै वर्ष दिनदेखि नयाँ आईपीओ निष्काशन रोकिएको छ। आईपीओ निष्काशनले पनि लगानीकर्ताको सक्रियतालाई बढाउने गर्छ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर घटेर औसतमा ६ प्रतिशतमा ओर्लिँदा पनि बजारमा अधिक तरलताको अवस्था छ। तर पनि कन्फिडेन्सको अभावमा लगानीकर्ताले कर्जा लिएर गर्ने लगानीलाई भने बढाउन सकेका छैनन्। 

यी यावत् कारणहरुले लगानीकर्तामा बजारप्रतिको आत्मविश्वास कमजोर बन्दै गएको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad