कारोबार


तिहार बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण

तिहार बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण

नेपालखबर
कात्तिक १८, २०८१ आइतबार १६:२४, तनहुँ

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो।

आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ। दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ।

चरण–१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छभने चरण–२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत्गृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिए। उनका अनुसार दुई चरणमा दुई सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ। यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो।

सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

‘आयोजनाको तीन चरणमध्ये अहिले दुईवटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ’, उनले भने, ‘निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ।’

चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ। चरण–२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताए। उनका अनुसार सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन्।

चरण–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ। भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन्। आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिए।

पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ।

एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad