यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६ सय २ मेगावाट रेकर्ड गरिएको छ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ। लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो।
यसवर्ष बाढीपहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द छ। यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको हो।
ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य रतन ऐर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन बिहीबार राती स्यूचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा खटिएको थियो। रासस
Shares

प्रतिक्रिया