कारोबार


रारा विमानास्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा

रारा विमानास्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा

फाइल फोटो


नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १६:५६, मुगु

रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ। खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो।

भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटकपटक गरी चारपटक म्याद थप गरिएको बताउँदै विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

विसं २०७६ असोज १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एरोड्रम इन्जिनियरिङ विभाग र ओम बुद्ध इन्टरनेसनल प्रालिबीच ट्रमिनल भवन निर्माणका लागि सम्झौता भई सोही वर्षको कात्तिक १ गतेदेखि काम थालिएको थियो। विभिन्न बहाना बनाउँदै पहिलो सम्झौता अवधिको तीन वर्षमा काम सम्पन्न नभएपछि हालसम्म चारपटक म्याद गरिएको आयोजना प्रमुख नेपालीले बताए।

निर्माण कम्पनीका प्रतिनिधि विवेक श्रेष्ठका अनुसार मौसमले साथ नदिएको अवस्थामा बाहेक करिब ३० दिनभित्र बाँकी काम सम्पन्न गरी भवन हस्तान्तरण गर्नेगरी काम भइरहेको जानकारी दिए। भौगोलिक कठिनाइ, यातायातको असुविधा, विभिन्न समयमा वर्षाले बाटो अवरुद्ध हुनु, दक्ष कामदारको अभावलगायत कारणले निर्माण समय सम्पन्न गर्न नसकिएको उनले स्वीकार गरे।

विमानास्थलको टर्मिनल भवन निर्माणको वर्तमान, प्रगति र ढिलाइबारे जानकारी लिन बुधबार जिल्ला समन्वय समितिका संयोजक मञ्जनबहादुर कार्कीको संयोजकत्व कर्णाली प्रदेशका सांसदद्वय जितबहादुर मल्ल र मङ्गलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका साथै जनपथ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, पत्रकार र नागरिक अगुवाको उपस्थितिमा  निर्माणाधीन भवनको निरीक्षण गरिएको थियो।

निरीक्षणपछि भवन यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिएको जिल्ला समन्वय समितिका प्रमुख कार्कीले बताए। वर्षाले विमानास्थलको मुनितिर क्षति पुगी पहिरोको जोखिममा परेकाले उक्त समस्या समाधानका लागि सरोकार भएका निकायमा आवश्यक पहल र समन्वय गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए।

सुविधासम्पन्न ट्रमिनल भवन, यात्री सहायता कक्ष र प्रतीक्षालय नहुँदा विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रीले चर्को घाम लाग्दा, झरी, हिउँ पर्दा तथा जाडोयाममा सास्ती भोग्दै आएका छन्। नागरिक उड्डयन कार्यालयले लामो समयदेखि काठको टहराबाट ‘एयर ट्राफिक कन्ट्रोल’को कार्य गर्दै आइएको जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad