कारोबार


खोकनाका किसानको गुनासो : उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाउँदा धानखेती घट्यो

खोकनाका किसानको गुनासो : उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाउँदा धानखेती घट्यो

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १४:४१, काठमाडौँ

तिहार सुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसान धानबाली भित्र्याउने चटारो छन्।

मंसिर लाग्न नपाउँदै धानबाली पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसान यतिबेला व्यस्त छन्। तिहारअघि नै धान बाली भित्र्याउने चटारो उपत्यकाका किसानलाई छ।

मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन्। गत असार–साउनमा रोपेको धान समयअगावै पाकेकाले खोकनाका किसानहरू तिहारअघि धान भित्र्याउन व्यस्त भएका हुन्।

खोकनाका किसानले खेतमा पोखरेली, ताइचिन र मसिनो धानको खेती गरेका छन्। ललितपुर महानगरपालिका भित्र पर्ने खोकनाका अधिकांश मानिसहरू कृषिमा आश्रित छन्। तर काठमाडौँ–निजगढ द्रुतमार्ग लगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धानखेती कमी हुँदै आएको खोकनाका किसान बताउँछन्।

सरकारले आवास क्षेत्र घोषणा गरेकाले धान खेती गरेपनि समय बीउ सरकारले दिन छाडेको गुनासो गरे। किसानहरूले विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएकाले भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आएको बताए।

विगतका वर्षहरूमा तिहारपछि धानबाली भित्र्याउने गर्दथे। यो वर्ष समयअगावै धान पाकेकाले धान भित्र्याउने चटारो रहेको किसान बताउँछन्।

ललितपुर खोकनामा किसान सद्धिचरण डंगोलले विगतको भन्दा उत्पादनमा कमी आएको बताए। उनले विगतमा प्राङ्गरिक मल हुँदा धान बाली राम्रो हुने गरेको तर अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न नसकेको बताए।

उनले खेती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन नसकेको गुनासो गर्नुभयो।

उनले भने, ‘विगतको भन्दा उत्पादनमा कमी आएको छ। विगतमा प्राङ्गरिक मल हुँदा धानका बाला राम्रो लाग्थ्यो। अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न सकेको छैन। पहिला खेतीपती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन गाह्रो मान्ने गरेको छ। विगतको भन्दा मानिसहरूको बस्ती भएकाले धेरै खेतीयोग्य जमिन छैन।’

ललितपुर बुङमतिका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताए। उनले अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको अवस्थामा उत्पादन हुने क्षेत्रलाई आवास क्षेत्र बनाउन नहुने बताए। उनले अहिले विगतको तुलनामा पछिल्लो समय धान उत्पादनमा कमी रहेको बताए।

उनले भने,‘अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्न थाल्यो भने के खाएर बस्ने हो। अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको छ। महंगी बढेको छ। चार रोपनीमा धान फलाएको छु। विगतको तुलनामा धान फल्न सकेको छैन। सरकारले समयमा मलको उपलब्ध नगराउँदा उत्पादन बढ्नेको छैन।’

ललितपुर बुङमतिका अर्का किसान रामकृष्ण महर्जनले पनि विगतको तुलनामा धान उत्पादन कमी आएको बताए। उनको रासायनिक मल नपाउँदा धान उत्पादन कमी भएको भनाई थियो। ललितपुर खोकनामा सानु डंगोलले पनि विगतको तुलनामा अहिले रासायनिक मलको मात्रै भर पर्दा धान उत्पादन कमी आएको बताए।

समय अगावै धान पाकेकोले अहिले भक्तपुर, ललितपुर र काठमाडौंका किसानले धानबाली काटिसकेका छन्। दशैँ मनाएसँगै धान भित्र्याउने चटारोले अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad