कारोबार


एनआरएनए ग्लोबल कन्क्लेभमा प्रधानमन्त्री– खुला सत्रै त गर्न गाह्रो छ, बन्दसत्र परको कुरा!

एकजुट हुन गैरआवासीय नेपालीलाई सुझाव
एनआरएनए ग्लोबल कन्क्लेभमा प्रधानमन्त्री– खुला सत्रै त गर्न गाह्रो छ, बन्दसत्र परको कुरा!

काठमाडौंमा एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभा सुरु भएको छ (सरोज बैजु)


नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १२:२१, काठमाडौँ

काठमाडौंमा एनआरएनए ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभा सुरु भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कन्क्लेभको उद्घाटन गरेका हुन्। 

कार्यक्रममा उनले विगत केही वर्षमा गैरआवासीय नेपालीको छवि धमिलिएको बताउँदै संघ एकजुट भएर देश र समुदायको लागि काममा केन्द्रित हुनुपर्ने टिप्पणी गरे। 

‘सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप हुँदैन। तपाईंहरुले राजनीतिक दलको राजनीति संघमा नगरिदिनु’, उनको सुझाव थियो, ‘म एमालेको प्रधानमन्त्री होइन, देशको हो। एनआरएनएको पदाधिकारी दलको होइन, संस्थाको हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन के के गर्नुपर्ने हो प्रस्ताव ल्याउन आग्रह गरे।

संसदबाट त्यसका लागि ऐन संशोधन गर्ने उनको भनाइ छ।  

‘कहिले कहिले खुल्लासत्रै गाह्रो। होटलकै नोक्सानी हुने डर’, उनले भने, ‘बन्दसत्र त गर्नसक्ने अवस्था नै छैन। पहिला तपाईंहरु एकजुट हुनु!’

एनआरएनएलाई नेपालमा काम गर्नको लागि पूर्वाधार तयार भइसकेको पनि प्रधानमन्त्री ओलीले बताए।

‘सगठनलाई एकताबद्ध राख्न सक्नुभयो भने काम गर्न कुनै समस्या हुँदैन’, उनले भने, ‘नेपालमा काम गर्नको लागि सडक, हवाइ पूर्वाधारले जोडिएकाले विकासका लागि सुगम भएको छ।’

कार्यक्रममा विशेष अतिथि गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली एकजुट भएर राष्ट्रलाई योगदान गरेको बताए। 

‘गैरआवासीय नेपाली विश्वभर अवैतनिक दूतको रुपमा हुनुहुन्छ। नेपाललाई कसरी देखाउनुहुन्छ, नेपालको इमेज त्यस्तै बन्छ’, उनले भने।

गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको उनको भनाइ छ। 

‘अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार पाएको छैन’, उनले भने, ‘संविधानमै भएको व्यवस्था कार्यान्वयन गर्न आगामी अधिवेशनमा संशोधन प्रस्ताव लैजान सक्छौँ।’
 
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रुपमा जति सफल भए पनि देश सफल हुनुपर्ने उद्देश्यले एनआरएनए अभियान सुरु भएको स्मरण गर्दै सुरुमा मुटुबाट सोचे पनि पछिल्लो समय बुद्धि लगाउँदा गैरआवासीय संघमा समस्या आएको बताए। 

‘हामीले विदेशको धनाढ्य, ठूलो विश्वविद्यालयको प्रोफेसर भनेर नेपालमा मन्त्रालय, विश्वविद्यालयलाई सुझाव दिने गरेका छौँ’, महतोले भने, ‘तर अभियानलाई नै सँगै राख्न सकेनौँ। सबैले संकल्प गरौँ– देश समृद्ध नभएसम्म केही हुँदैन।’

उनले छिट्टै एकजुट भएर गैरआवासीय अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले विश्वभर नेपालको राम्रो इमेज बनाउने काम गरिरहेको बताए। उनले नेपालमा प्राकृतिक प्रकोप पर्दा गैरआवासीय नेपाली सधै तयार रहेको बताए।

‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठूलो लगानी समेत भित्रिएको छ’, अध्यक्ष केसीले भने, ‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संशोधन गरेर सीमा नतोकी लगानी भित्र्याउन दिनुपर्छ।’

उपाध्यक्ष हेमराज शर्माले नेपालमा १ खर्ब बढी लगानी गरेको तथ्यांक रेकर्डमा रहेको बताए। नेपालबाट विदेशिएका नेपाली पाँच तारे होटल सञ्चालनदेखि हावर्ड, अक्सफोर्ड, एमआईटी जस्ता विश्व चर्चित विश्वविद्यालयमा पुगेको बताउँदै भविष्यमा नेपाल निर्माण गर्न फर्कने विश्वास व्यक्त गरे। 

‘गैरआवासीय नेपाली संघ सीमित व्यक्तिको बनाउने कि सबैको बनाउने भन्ने द्वन्द्वको कारण उतारचढाव देखिएको छ’, उनले भने, ‘केहीले नयाँ पद्धति स्वीकार नगर्दा समस्या देखिएको छ।’

कार्यक्रममा संघका अध्यक्ष बद्री केसी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, खेलकुदमन्त्री तेजुलाल चौधरीसहित विभिन्न राजनीतिक दलका नेता, व्यावसायिक संघ÷संस्थाको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad