यो साता सेयरबजारमा पाँचै दिन कारोबार भएको छ। ५ मध्ये सूचक भने एक दिन मात्र बढ्यो।
आइतबार र सोमबार नेप्से घटेकामा मंगलबार २५ अंकको पुनरागमन गरे पनि बुधबार र बिहीबार पुन: घटेको थियो।
सूचक घटे पनि साताभरमा लगानीकर्ताले झण्डै ३० अर्बको सेयर किनबेच गरेका छन्।
बिहीबार ५ अर्ब ४१ करोड, बुधबार ६ अर्ब २७ करोड, मंगलबार ४ अर्ब १७ करोड, सोमबार ५ अर्ब ९० करोड र आइतबार ८ अर्ब १८ करोड गरी लगानीकर्ताले यस साता कुल २९ अर्ब ९३ करोडको कारोबार गरे।
कुन दिन कस्तो रह्यो सेयर किनबेच?

आइतबार घटे पनि ८ अर्बको कारोबार
सेयरबजार परिसूचक नेप्से ४७.४४ अंकले घटेर यो साताको सुरुवात भएको थियो। नेप्से २६९७.९१ विन्दुमा झरेको दिन आइतबार बजारमा २ करोड कित्ता सेयर बिक्रीमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको सेयर कारोबार भएको थियो।
यस दिन १८ कम्पनीका लगानीकर्ताले मात्र कमाउँदा २२६ कम्पनीको सेयर मूल्य घटेको थियो। खासगरी यस दिन कुथेली बुखारी हाइड्रोका लगानीकर्ताले २०९.९० रुपैयाँ अर्थात् १० प्रतिशत आम्दानी गरेका थिए भने ङादी ग्रुप पावरका लगानीकर्ताले ४७ (९.८९ प्रतिशत), हिमालयन लघुवित्तका सेयरधनीले ५९ (५.९२ प्रतिशत) रुपैयाँ आम्दानी गरेका थिए।
आइतबार इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले भने १० प्रतिशत अर्थात् ९७.३० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका थिए।यसबाहेक गुडविल फाइनान्सको सेयर पनि ८.४१ प्रतिशतले घटेको थियो। कारोबारमा भने गुडविल फाइनान्सकै सबैभन्दा धेरै अर्थात् ४५ करोड ७ लाखको सेयर किनबेच भएको थियो। यसबाहेक कुमारी बैंकको ३७ करोड, हिमालयन रि इन्स्योरेन्सको २६ करोडको कारोबार भएको थियो।
सोमबार सूचक र कारोबार दुवैमा गिरावट
सोमबार बजारमा सूचक र कारोबार रकम दुवै घटेका थिए। नेप्से सूचक ६०.०८ अंकले घटेर २६३७.८३ विन्दुमा झर्दा कारोबार रकम पनि ५ अर्ब ९० करोड रुपैयाँमा संकुचित भएको थियो।
यस दिन १ करोड ३७ लाख कित्ता सेयर मात्र बिक्री भएको थियो। दोस्रो दिनको कारोबारमा १९ कम्पनीका लगानीकर्ताले कमाए पनि २२४ कम्पनीका सेयरधनीले प्रतिकित्ता नोक्सानी व्यहोरे। सोमबार कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहे। उनीहरुले प्रतिकित्ता ८१.८० रुपैयाँ (९.८२ प्रतिशत) आम्दानी गर्दा अन्य लगानीकर्ताले अधिकतम ४.८४ प्रतिशतसम्म मात्र प्रतिसेयर आम्दानी गरे।
त्यस्तै ङादी पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका थिए। कम्पनीको सेयर ९.२० प्रतिशतले घट्दा लगानीकर्ताले ४८ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका थिए। अन्य लगानीकर्ताले पनि यस दिन अधिकतम ५.६५ प्रतिशतसम्म नोक्सानी व्यहोरे।
कारोबारतर्फ भने हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७३ लाखको सर्वाधिक किनबेच भएको थियो। यस दिन लगानीकर्ताले कुमारी बैंकको १७ करोड ४७ लाख रुपैयाँको कारोबार गर्दा ङादी पावर लिमिटेडको १६ करोड, गुडविल फाइनान्सको १४ करोड र पिपुल्स हाइड्रोपावर कम्पनीको १२ करोडको खरिदबिक्री भएको थियो।
मंगलबार २५ अंकको पुनरागमन
लगातार दुई दिन उच्च अंकले घटेको सेयरबजारले मंगलबार भने २५.८८ अंकको पुनरागमन गर्यो। यस दिन बजार ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा फर्किएको थियो। योसँगै साताको तेस्रो कारोबार दिन ४ अर्ब १७ करोड १६ लाखको किनबेच भएको थियो। कुल १ करोड कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
उक्त कारोबारमा १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको थियो।
मंगलबार रावा इनर्जी डेभलपमेन्टको ८.८६ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोको ७.८२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.३६ प्रतिशत, महुली लघुवित्तको ६.१० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको ६.०९ प्रतिशतले सेयर मूल्य बढेको थियो। कम्पनीको सेयर मूल्य बढ्दा सेयरधनीले क्रमशः ७०, २९, ५५, ९४ र २६.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरे।
गिरावटतर्फ विन नेपाल लघुवित्त, सिक्लेस हाइड्रोपावर लगायत रहे। यी कम्पनीको सेयर अधिकतम ४.७५ प्रतिशतसम्मले घटेको थियो। कारोबारतर्फ गुडविल फाइनान्सको १७ करोड, कुमारी बैंकको १३ करोड, हिमालयन रि इन्स्योरेन्सको १२ करोड, पिपुल्स हाइड्रोपावरको १० करोड र नेपाल एसबीआई बैंकको ८ करोडको किनबेच भएको थियो।
बुधबार फेरि घट्यो
सेयरबजार बुधबार फेरि घट्न पुग्यो। यस दिन नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झर्यो। योसँगै कुल ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ९३ लाख कित्ता सेयर किनबेच भएको थियो। बुधबार १४५ कम्पनीको सेयर मूल्य बढेको थियो भने ९० वटाको घटेको र ९ वटाको उही मूल्यमा कारोबार भएको थियो।
यस दिन आईसीएफसी फाइनान्सका लगानीकर्ताले कमाए। कम्पनीको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले ७४.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। यसबाहेक समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्सका सेयरधनीले पनि कमाए।
कम्पनीहरुको सेयर बुधबार अधिकतम ४.२८ प्रतिशतसम्म मात्र घटेको थियो। कारोबारमा भने आईसीएफसी फाइनान्सको सर्वाधिक ४३ करोड ४४ लाखको कारोबार भएको थियो। यसबाहेक कुमारी बैंकको २६ करोड, साहस ऊर्जाको २६ करोड, समृद्धि फाइनान्सको २४ करोड र हिमालयन डिस्टिलरीको १९ करोडको सेयर खरिदबिक्री भएको थियो।
बिहीबार साढे ५ अर्बको किनबेच
साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो। १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको थियो।
सूचक नेप्से १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा नेप्से रोकिएको थियो। यस दिन ६७ कम्पनीको सेयर मूल्य बढे पनि १७० कम्पनीको घटेको र ७ वटाको मूल्यमा कुनै परिवर्तन भएन। अन्तिम दिन नेपाल एसबीआई बैंकको सेयर ९.७५ प्रतिशतले बढ्दा लगानीकर्ताले ४७.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरे।
यसबाहेक पिपुल्स हाइड्रोपावरका सेयरधनीले ८.०५ प्रतिशत, सनराइज ब्लुचिप फन्डका सेयरधनीले ७.६७ प्रतिशत, समृद्धि फाइनान्सका सेयरधनीले ६.१८ प्रतिशत र आरबीबी म्युचुअल फन्ड१ का लगानीकर्ताले ६.०१ प्रतिशत आम्दानी गरे।
तर रावा इनर्जी डेभलपमेन्टको सेयर भने १० प्रतिशतले घट्दा लगानीकर्ताले प्रतिकित्ता ८८.८० रुपैयाँ नोक्सानी व्यहोरे। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले पनि गुमाए।
कारोबारमा एनएलजी इन्स्योरेन्सको ३४ करोडको सर्वाधिक किनबेच भयो। साहस ऊर्जाको २४ करोड ९३ लाख, आईसीएफसी फाइनान्सको २४ करोड ९२ लाख, पिपुल्स हाइड्रोपावरको २४ करोड र समृद्धि फाइनान्सको १९ करोडको खरिदबिक्री भएको थियो।
Shares

प्रतिक्रिया