कारोबार


विपद् व्यवस्थापन गर्न विश्व बैंकले नेपाललाई १५ करोड डलर सहुलियतपूर्ण ऋण दिने

विपद् व्यवस्थापन गर्न विश्व बैंकले नेपाललाई १५ करोड डलर सहुलियतपूर्ण ऋण दिने

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार ९:३५, काठमाडौँ

नेपालको विपद् व्यवस्थापनका लागि विश्व बैंकले १५० मिलियन (१५ करोड) अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने भएको छ। 

विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपी ड्र-डाउन) अन्तर्गत नेपाल सरकारलाई विश्व बै‌ंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। 

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आज बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डिरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बजेटरी सहायताका रूपमा उपयोग हुने उक्त रकम विपद्अन्तर्गत पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५औँ वार्षिक बैठकका सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरूको संयुक्त बैठकमा सहभागी भएका हुन्। 

आजै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलसँग विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीको अलग-अलग भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष  मार्टिन रेजर र कार्यकारी निर्देशक वेम्पी सपुत्रसँग बहुपक्षीय सहायता परिचालनका विविध विषयमा छलफल भएको छ।

सो अवसरमा उपप्रधानमन्त्री पौडेलले विश्व बैंकले नेपालको  यातायात, ऊर्जा, शिक्षालगायतका पूर्वाधार विकास एवम् सामाजिक क्षेत्रका कार्यक्रम तथा परियोजनामा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा सहयोगको क्षेत्रलाई अझ फराकिलो र प्रभावकारी बनाउन आग्रह गरे। 

त्यसैगरी एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिन याङसँग पनि आजै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले विश्व बैंक मुख्यालयमा भेटवार्ता गरेका छन्। एसियाली विकास बैंक नेपालको मुख्य विकास साझेदारको भूमिकामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार एवम् सामाजिक विकासको क्षेत्रमा थप सहायता परिचालन गर्न आग्रह गरे।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीको पनि भेटवार्ता भएको छ। भेटका क्रममा निगमले नेपालमा निजी क्षेत्रको विकासमा लगानी बढाउँदै लगेकामा उपप्रधानमन्त्री पौडेलले खुसी व्यक्त गरे।

साथै आगामी दिनमा निगमका गतिविधिमा प्रभावकारी बनाउन र थप विस्तार गर्न आग्रह गर्दै सरकारका तर्फबाट निजी क्षेत्रको विकासमा अनुकूल वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad