कारोबार


सेयर बेच्न नजान्दा एकै दिनमा ७ हजारपटक जरिवानामा पर्छन् लगानीकर्ता

३ महिनामै साढे ५ करोडभन्दा बढी जरिवाना
सेयर बेच्न नजान्दा एकै दिनमा ७ हजारपटक जरिवानामा पर्छन् लगानीकर्ता

क्लोजआउट अनभिज्ञता र लापरबाहीका कारण बढी हुने गर्दछ (तस्बिर : एआई)


सम्झना घिमिरे
कात्तिक ६, २०८१ मंगलबार १०:१, काठमाडौँ

सेयर बिक्री गर्न नजानेकै भरमा लगानीकर्ताले ९० दिनमा साढे ५ करोड रुपैयाँ जरिवाना तिरेका छन्।

धितोपत्रको दोस्रो बजारमा सेयर बिक्री गरी समयमै सेयर ट्रान्सफर नगर्दा क्लोजआउटमा परेर जरिवाना तिर्ने लागनीकर्ताको संख्या उच्च देखिएको हो।

साउन, भदौ र असोज महिनामा मात्रै लगानीकर्ताले ६ लाख ३९ हजार ३ सय १६ पटकको क्लोजआउटबाट ५ करोड ६४ लाख ७५ हजार ५ सय ६२ रुपैयाँ जरिवाना तिरेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा एक वर्षमा लगानीकर्ताले तिरेको कुल जरिवानाको ८४ प्रतिशत जरिवाना चालू आवको तीन महिनामै लगानीकर्ताले तिरेका हुन्।

गत आर्थिक वर्षमा लगानीकर्ताले २९ लाख ७१ हजार ८ सय ९४ पटक क्लोजआउटबाट कुल ६ करोड ६५ लाख २७ हजार १ सय २७ रुपैयाँ जरिवाना तिरेका थिए। गत वर्षको तुलनामा यो वर्षको तीन महिनामै ८४ प्रतिशतले जरिवाना संकलन बढेको हो।

गत वर्ष क्लोजआउटमा पर्नेको संख्या बढी भए पनि क्लोजआउटमा पर्ने रकम भने थोरै थियो। सो वर्ष ३३ करोड रुपैयाँको कारोबार २९ लाख पटक क्लोजआउटमा पर्दा लगानीकर्ताले सो बापतको ६ करोड ६५ लाख जरिवाना तिरेका थिए।

तर गएको तीन महिनामा २८ करोड रुपैयाँको कारोबार ६ लाख पटक क्लोजआउटमा पर्दा साढे ५ करोड रुपैयाँ लगानीकर्ताले जरिवानामात्रै तिरेका हुन्।

किन बढ्यो क्लोजआउटमा पर्ने संख्या? 
ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष तथा कोहीनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीका प्रबन्धनिर्देशक भरत रानाभाट गत वर्ष क्लोजआउटमा पर्ने संख्या धेरै हुनुमा आईपीओ बिक्री गर्ने लगानीकर्ता बढी हुनुलाई औँल्याउँछन्।  

‘गत वर्ष २९ लाख वटा कारोबार क्लोजआउटमा पर्दा लगानीकर्ताले ६ करोड जरिवाना तिरेका थिए। यो वर्ष तीन महिनामा ६ लाख वटा कारोबार क्लोजआउटमा पर्दा साढे ५ करोड जरिवाना तिरेका छन्’, उनले भने, ‘यसले यो वर्ष ठूला कारोबारीहरू पनि क्लोजआउटमा परेको भन्ने देखाउँछ। संख्याभन्दा रकम जति धेरै भयो त्यति धेरै पेनाल्टी (जरिवाना) धेरै हुने हो।’

उनका अनुसार आईपीओ बिक्रेताहरू पर्दा क्लोजआउटको संख्या ठूलो देखिने हुन्छ। तर यो वर्ष भने आईपीओ बेच्नेभन्दा अन्य सेयर लगानीकर्ता सेयर बिक्री गर्दा सेयर ट्रान्सफर नगरेकाले क्लोजआउटमा धेरै परेका छन् । 

गत पुसबाटै नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ। अध्यक्ष नहुँदा पुसयता कुनै पनि आईपीओ निष्काशनमा आएका छैनन्। त्यसैले गत वर्षको जसरी आईपीओ बिक्री गर्नेहरू क्लोजआउटमा नपरे पनि त्योभन्दा बाहेकका कारोबारीहरू क्लोजआउटमा परेको देखिन्छ।

अर्को कारणचाहिँ डिम्याट खाता नवीकरण नगर्दा पनि आर्थिक वर्षको सुरुवातमा क्लोजआउटमा पर्नेको संख्या बढी हुने गर्छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै डिम्याट नवीकरण गर्नुपर्ने हुन्छ। तर नवीकरण नगरी सेयर बेच्न खोज्दा लगानीकर्ताहरू क्लोजआउटको फन्दामा पर्ने गर्छन्। यसले पनि सुरुका केही महिनामा क्लोजआउटमा पर्नेको संख्या उच्च हुने रानाभाट बताउँछन्।  

‘डिम्याट रिन्यु नगरी सेयर बिक्री गर्दा मेरो सेयरबाट सेयर ट्रान्सफर गर्नका लागि ईडीआईएस (इलेक्ट्रोनिक डेलिभरी इन्स्ट्रक्सन स्लिप) गर्न मिल्दैन। साउन र भदौमा अधिकांश लगानीकर्ताले डिम्याट रिन्यु गर्नुपर्ने भए पनि बेवास्ता गर्दा क्लोजआउटको फन्दामा पर्छन्’, उनले भने। 

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका नायब प्रबन्धक सुरेश न्यौपाने नेप्से बढ्दा र कारोबार बढ्दा पनि क्लोजआउटमा पर्नेको संख्या बढ्ने बताउँछन्। 

सेयर बढेको वर्षहरूमा क्लोजआउटमा पर्नेहरूको संख्यामा पनि उच्च वृद्धि देखिने गरेको उनको भनाइ छ। 

‘यो वर्ष अधिकतम २९ अर्ब ९५ करोड रुपैयाँसम्मको कारोबार भएको छ। जति धेरै कारोबार भयो त्यति क्लोजआउटमा पर्ने पनि बढ्छन्’, उनले भने। 

न्यौपानेले भनेजस्तै पछिल्लो ४ वर्षमा लगानीकर्ताले सबैभन्दा धेरै जरिवाना आर्थिक वर्ष २०७८/२०७९ मा तिरेका थिए। सो वर्ष नेप्से बढेर ३२ सय अंकको अधिकतम विन्दुमा पुगेको थियो भने कारोबार पनि २२ अर्बमाथि पुगेको थियो। 

कारोबार बढेसँगै यो आर्थिक वर्षमा ९ करोड ७८ लाख रुपैयाँ लगानीकर्ताले जरिवाना मात्रै तिरेका थिए। यो आर्थिक वर्षमा ९ लाख २० हजार १ सय १९ पटक लगानीकर्ता क्लोजआउटमा परेका थिए । 

त्यसपछिको वर्षहरूमा भने क्लोजआउटमा पर्ने लगानीकर्ता र उनीहरूले तिर्ने जरिवाना दुवै घटेको थियो। सीडीएससीका अनुसार त्यसपछिको वर्षहरू २०७९/८० मा ६ लाख २ हजार २ सय ३८ पटक क्लोजआउटमा परेर लगानीकर्ताले ४ करोड १७ हजार ८ सय ५७ रुपैयाँ जरिवाना तिरेका थिए भने आर्थिक वर्ष २०८०/८१ मा २९ लाख ७१ हजार ८ सय ९४ पटक क्लोजआउटमा परेर ६ करोड ६५ लाख २७ हजार १ सय २७ रुपैयाँ जरिवाना तिरेका हुन्। 

आर्थिक वर्ष २०७८/७९ पछिका दुई वर्ष सेयरबजारमा कारोबार रकम र नेप्से सूचक दुवै घट्दा क्लोजआउटमा पर्ने लगानीकर्ताको संख्या पनि घटेको हो। तर चालू आर्थिक वर्ष सुरु हुँदै गर्दा बजारले उच्च वृद्धि लिन थालेपछि लगानीकर्ता कारोबारमा पुनः सक्रिय बनेका थिए। 

अघिल्लो पटकको बुलमा २२ अर्बको दैनिक कारोबार गरेका लगानीकर्ताले यो वर्ष ३ हजारको विन्दुमा नेप्से करिब ३० अर्बको कारोबार गर्न पुगे। यो अवधिमा नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्न पुग्यो। बजार घटेर सुस्ताएका लगानीकर्ता नेप्से बढेको मौका छोपेर सेयर बिक्रीमा लाग्दा क्लोजआउटमा पर्नेको संख्या पनि उच्च अंकले बढेको बताउँछन् न्यौपाने। 

उनका अनुसार दैनिक सेयर किनबेच गर्नेभन्दा आईपीओ बिक्री गर्ने लगानीकर्ता बढी मात्रामा क्लोजआउटमा पर्ने गरेका छन्। आईपीओ परेपछि मूल्य बढ्नासाथ सेयर बिक्री गर्ने लगानीकर्ताहरूमा बिक्रीपछि गरिने ईडीआईएसबारे अनविज्ञ हुँदा क्लोजआउटमा पर्ने गरेको उनको भनाइ छ। 

सीडीएससीका अनुसार लगानीकर्ता क्लोजआउटमा परेको खण्डमा क्लोजआउटमा परेको रकमको २० प्रतिशत पेनाल्टी तिर्नुपर्ने हुन्छ। बजारमा लगानीकर्ताले आफूसँग भएको सेयर मात्रै बिक्रीमा राखून् भन्ने उद्देश्यसहित क्लोजआउटमा जरिवाना लगाइने व्यवस्था छ। तर लगानीकर्ताले बिक्री पछि सेयर ट्रान्सफर गर्न बिर्सने वा समयमै नगर्ने कारणले पनि २० प्रतिशतको पेनाल्टी तिर्दै आएका हुन्। 

नाबालिग बालिग भएपछि डिम्याट पनि परिवर्तन नगरी सेयर बिक्री गर्न खोज्दा पनि क्लोजआउटमा पर्ने गरेको रानाभाट बताउँछन्। 

यदि कुनै नाबालिगको डिम्याट आईडीमा भएको सेयर उक्त डिम्याट होल्डर बालिग भएपछि डिम्याट खाता पनि परिवर्तन गरेर मात्रै सेयर बिक्री गर्नुपर्ने हुन्छ। यदि डिम्याट परिवर्तन नगरी सेयर बिक्री गरेको खण्डमा पनि बिक्रेताले क्लोजआउटबापत कारोबार रकमको २० प्रतिशत पेनाल्टी तिर्नुपर्ने हुन्छ।

यसरी तिरेको जरिवानाबाट सेयर किन्नेलाई भने फाइदा हुने गर्छ। उदाहरणका लागि बेच्ने मान्छे क्लोजआउटमा पर्दा लाग्ने २० प्रतिशत जरिवाना रकममा २५ प्रतिशत सरकारले पाउँदा सेयर किन्नेले ७५ प्रतिशत रकम पाउने रानाभाटको भनाइ छ।

क्लोजआउट के हो, कसरी बच्ने? 
सेयर बेचेर सेटलमेन्ट नगरेबापतको जरिवाना नै क्लोजआउट हो। सेयर बेचेपछि मेरो सेयरमा गएर ईडीआईएस गर्नुपर्छ। यो भनेको सेयर बेच्यौँ भन्ने प्रमाण पनि हो। 

धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट विनियमावली २०६९ को परिच्छेद ४ को विनियम २० मा आंशिक मौज्दात भएमा क्लोजआउट गर्नुपर्ने व्यवस्था छ। सोही विनियमावलीको विनियम २१ मा क्लोजआउटमा पर्दा हुने २० प्रतिशत जरिवानाको व्यवस्था छ। 

सोही व्यवस्थाअनुसार यदि तपाईंले आज सेयर बिक्रीमा राख्नुभएको छ र सो सेयर बिक्री भएपछि भोलिपल्ट ६ बजेसम्म ईडीआईएस गर्नुभएन भने तपाईं क्लोजआउटमा पर्न सक्नुहुनेछ। 

योबाहेक यदि आफ्नो खातामा भएको सेयरसंख्याभन्दा बढी सेयर बिक्रीमा राखेर बिक्री भएको खण्डमा पनि क्लोजआउटमा पर्न सकिन्छ। जस्तो, तपाईंसँग कुनै कम्पनीको १ हजार कित्ता सेयर छ र तपाईंले सो सेयर संख्या नहेरी १२ सय कित्ता सेयर बिक्रीमा राख्नुभयो भने तपाईंसँग नभएको २ सय सेयर क्लोजआउटमा पर्छ र तपाईंले सोबापत २० प्रतिशत पेनाल्टी तिर्नुपर्ने हुन्छ। 

क्लोजआउट अनभिज्ञता र लापरबाहीका कारण बढी हुने गर्दछ। 

मेरो सेयरमा गएर ईडीआईएस नगरेर डीआईएस पनि गरेर सेयर ट्रान्सफर गर्न सकिन्छ। यदि डीआईएसको स्लिप तपाईंसँग छ भने आफ्नो डिम्याट खाता भएको कम्पनीमा गएर सेयर बेचेको दुई दिनभित्र डीआईएस स्लिप बुझाएर पनि सेयर ट्रान्सफर गर्न सकिने व्यवस्था छ। 

योबाहेक बुक क्लोजको मिति याद नगर्दा पनि लगानीकर्ता क्लोजआउटमा पर्ने गर्दछन्। जस्तो, कुनै कम्पनीले बुक क्लोजका लागि कारोबार मिति तोकेर बन्द गर्ने गर्छन्। यो अवधिमा सेयर बिक्री गरेर ईडीआईएस गर्न सकिँदैन। 

यस्तो अवस्थामा बुक क्लोज हुनासाथ सोही दिन ईडीआईएस गरेमा क्लोजआउटमा जोगिन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad