नेपाल वायुसेवा निगमसँगै हिमालय एयरलाइन्सले पनि दोहा (कतार)को नियमित उडान स्थगित गरेको छ।
कोरोना भाइरसको संक्रमण जोखिम देखाउँदै कतारले आइतबारदेखि १४ मुलुकका नागरिकलाई प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि एयरलाइन्सले उडान अनिश्चितकालका लागि स्थगित गरेको हो।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अनिश्चित समयको लागि दोहा उडान स्थगित गरिएको नेपालखबरलाई जानकारी दिए।
नेपाल वायुसेवा निगमले पनि कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको जनाएको छ।
निगमले फागुन २६ गतेपछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने बताएको छ। साथै टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
ट्रान्जिट खुल्ला
त्यस्तै कतार एयरवेजले कतार ट्रान्जिट भएर अन्य देश जानेको लागि भने खुला रहेको बताएको छ। कतार सरकारले नै १४ देशका नागरिकलाई कतारभित्र जान रोके पनि कतार ट्रान्जिट भएर जानको लागि नरोकेको कम्पनीले स्पष्ट पारेको छ।
एयरवेजका नेपाल मार्केटिङ प्रमुख अर्णव नरसिंह राणाले ट्रान्जिट खुल्ला रहेकाे नेपालखबरसँग बताए।
Shares

प्रतिक्रिया