समाज


अक्षर नचिनेर महिला शौचालय छिरेका जुँगेबहादुरलाई पढ्ने इख

अक्षर नचिनेर महिला शौचालय छिरेका जुँगेबहादुरलाई पढ्ने इख

पुरुषोत्तम थापा
फागुन २७, २०७६ मंगलबार ९:७,

नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको भए। उनी आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्छन्। बिहान सबेरै उठ्छन्, अनि घरको जे काम छ सकाउँछन्। जब ९ बज्छ उनी विद्यालय जानका लागि तयार हुन्छन्। एक हातमा लौरो, एक हातमा कान्छो छोराको कान्छी छोरी अर्थात नातिनी, काँधमा झोला। अनि अर्की जेठी नातिनी पनि साथमा लिएर सँगै विद्यालयतर्फ लम्कन्छन्।

विद्यालय जाने समयमा आफ्नी श्रीमती धर्मालाई खाना पस्किन र पोसाक तयारी गर्दिन आग्रह गर्छन्। श्रीमती धर्मा कहिलेकाहीँ भन्छिन्, ‘मर्ने बेलामा हरियो काँक्रो।’

उमेर ढल्केका श्रीमान्को स्कूले जीवन देख्दा धर्मा अचम्म मान्छिन्। धर्मा कहिलेकाहीँ ठट्ठा गर्छिन्, ‘यो बूढाले कहिले पढाइलेखाइ गर्नुहोला र कहिले जागिर खानुहोला, उहाँ कसैको कुरा नसुनेर नियमित विद्यालयमा जानुहुन्छ।’

विद्यालयको पोसाकमा बिहान १० बजे नियमित राष्ट्रियगान र अभ्यासमा सहभागिता जनाउँछन्। रोचक त के छ भने उनी स्कूलमा पुग्ने बित्तिकै सम्पूर्ण विद्यार्थी र शिक्षकहरूले ‘बाजे नमस्ते!’ भन्दै अभिवादन गर्छन्। विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले आदर–सम्मान गर्ने गर्दछन्, जयबहादुरलाई।

सोही विद्यालयको व्यवस्थापन समितिको पूर्वसदस्य समेत रहेका जयबहादुरको स्कूले जीवन देख्दा जो कोही पनि आश्चर्य मान्छन् तर उनलाई कसैको मतलब छैन, मतलब छ त पढाइ–लेखाइको। बिहान १० बजे नातिनीसँग विद्यालय जाने र बेलुकी ४ बजे घर फर्किने उनको दैनिकी बनेको छ अहिले।

बेलुकाको खाना खाइसकेपछि जयबहादुरका कान्छा छोरा जनकले आफ्नी छोरीलाई भन्छन्, ‘जाऊ बाजेले कस्तो लेख्नुभयो, चेक गरेर आऊ।’ अनि नातिनी बाजेको गृहकार्य चेक गर्न जान्छिन्, बाजेको कोठातिर। नातिनीसँगको दैनिकी र पढाइ–लेखाइ गर्न लागेको जयबहादुरको दुई वर्ष भयो। कक्षा १ मा उनी विद्यालयको नै प्रथम विद्यार्थी भयो २०७५ मा। अहिले पनि विद्यालयमा राम्रो विद्यार्थीका रूपमा चिनिन्छन्।

आखिर उनलाई ढल्कँदो उमेरमा विद्यालय जाने आशा कसरी पलायो त! सबैको मनमा लाग्ने कुरा यही नै हो। जयबहादुर विगत लामो समयदेखि पिसाबसम्बन्धीको बिरामी छन्। उनका भाइहरुले दुई वर्षपहिले उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगे। ‘तीन घण्टा हराइयो’, उनी मुस्कुराउँदै भन्छन्, ‘लेखेको कुरा पढ्न नजानेर महिलाको शौचालयमा गइयो, आफ्नो ‘बेड’ नं थाहा नपाएर अर्काको ‘बेडमा’ गइयो। डाक्टरहरु रिसाउनुभयो।’ उनलाई त्यहिबेला पढाइ–लेखाइ अमूल्य रहेछ भन्ने लागेछ। ‘त्यसैको झोँकले भाइलाई विद्यालयमा नाम लेखाइदिन भनेँ, भाइले कक्षा १ मा नाम लेखाए र गत सालदेखि ‘खुरुखुरु’ स्कूल जान थालेँ’, उनले भने, ‘अहिले अंग्रेजी धेरै नआए पनि नाम लेख्नदेखि सबै नेपाली ‘खरर’ पढ्न सक्ने भएँ।’

जयबहादुुरका मात्रै चार छोरा र तीन छोरी छन्। परिवारको ज्येष्ठ सदस्य उनका सात भाइमध्ये प्रायः कोही सरकारी जागिरे छन् भने कोही प्रहरी त कोही सामाजिक अभियानकर्मीका रूपमा सक्रिय छन्। जयबहादुरका माइला भाइ सन्तबहादुर सुनार अहिले रक्षा मन्त्रालयमा सहसचिव छन्। उनको शिक्षित परिवार। जयबहादुरका सबै छोराछोरी पनि धेरथोर पढेलेखेकै छन्। आफू नपढेकामा पछुतो पनि थियो।

‘सानो छँदा गाईभैँसीको गोठाला र अलि ठूलो भएपछि कालापहाडमा (भारत) मजदूरी गर्न जाने गरियो। शिक्षाको महत्व नै बुझिएन’, उनी भन्छन्, ‘नेपालगञ्जमा यस्तो घटना भएपछि थाहा भयो कि शिक्षाको महत्व कति रहेछ।’

जयबहादुरलाई गाउँमा सबैले ‘जुँगे’ भनेर चिन्दा रहेछन्। उनी भन्छन्, ‘सबैले प्रशंसा गर्छन्।’ जयबहादुरका भाइ जनक सुनार भन्छन्, ‘दाजुको यो पढाइले समाजमा केही सन्देश प्रवाह गरेको छ। घरपरिवारको पहिचान बनेको छ।’

खड्ग आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश थापा भन्छन्, ‘उनी हाम्रो अभिभावक हो। अहिले आएर विद्यार्थी बन्दा विद्यालय परिवारमा थप प्रेरणा थपिएको छ। बालबालिकाको भन्दा स्मरण शक्ति उनको कम छ तर पनि उनले हरेक कुराहरु सजिलै स्मरण गर्छन्। विद्यालयको शोभा बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad