कारोबार


सरकारले पर्यटन क्षेत्र धराशायी हुनबाट जोगाउने गरी कदम चालोस्ः व्यवसायी

सरकारले पर्यटन क्षेत्र धराशायी हुनबाट जोगाउने गरी कदम चालोस्ः व्यवसायी

नेपालखबर
फागुन २५, २०७६ आइतबार १०:४१,

पर्यटन व्यवसायीले सरकारले कुनै निर्णय गर्दा पर्यटन उद्योगको बारेमा पनि सोच्नुपर्ने बताएका छन्। व्यवसायीहरुले कोरोनाको संक्रमण भयावह हुने अवस्था आएमात्रै आउजाउ बन्द गर्न सरकारसँग आग्रह गरेका हुन्।

होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रलाई धराशायी हुनबाट बचाउनेबारे सरकारले सोच्नुपर्ने बताए।

‘सरकार हाम्रो अभिभावक हो। जनताको स्वास्थ्यसँगै पर्यटन व्यवसायलाई कसरी जोगाउने भन्ने ख्याल गर्नुपर्छ’, शाहले नेपालखबरसँग भने, ‘व्यवसाय चलाउन सकेनौँ भने भोलि उद्योग बन्द हुन्छन्। कामदार घर फर्किने अवस्था हुन्छ। अर्थतन्त्र डामाडोल हुन्छ।’

उनले सबै पर्यटन व्यवसायी एक भएको भन्दै सरकारको आगामी कदम व्यवसायको संरक्षण गर्दै कोरोना संक्रमण रोक्ने प्रयासस्वरुप हुनुपर्ने बताए।

‘हामी सरकारलाई सहयोग गर्ने ठाउँमा गर्छौा। हामीले पर्यटन बोर्डमार्फत सरकारलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छौँ। अहिले कसरी अघि बढ्ने पर्ख र हेरको अवस्थामा रहेका छौँ’, शाहले भने।

उनले सरकारलाई सुझाव दिँदै अन्तर्राष्ट्रिय पर्यटक ल्याउँदा असुरक्षित भए पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजना बनाउनुपर्ने बताए।

‘सरकारले आफ्ना कर्मचारीलाई घुम्नलाई प्रेरित गर्नुपर्छ। त्यस्तै बैंक, कर्पोरेट हाउसहरुले घुम्न प्रोत्साहन गर्ने योजना ल्याउन सक्छन्, यसो हुनसके व्यवसायीलाई टाट पल्टिनबाट रोक्न सक्छौँ’, उनले भने ‘अष्ट्रेलिया, मलेसिया, इन्डोनेसियालगायतका केही देशले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिरहेका छन्।’

नेपालमा कोरोनाको संक्रमण कम देखिएकाले अहिलेको अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ।

अन्तर्राष्ट्रियरुपमा व्यापकरुपमा फैलिरहेको कोरोना भाइरसको कारण पर्यटन क्षेत्रलाई पर्न गएका नकारात्मक प्रभावबाट जोगाउन टान, हान, नाट्टा, एनटीभीए, नाटो, सोट्टो नेपाल, टिब्यान, नारा र रिब्यानका अध्यक्ष तथा प्रतिनिधिहरुले यही फागुन २३ गते ६ बुँदे ज्ञापनपत्र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई हस्तान्तरण गरेका थिए।

यस्तो छ व्यवसायीको माग
१) नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा पर्यटन व्यवसायको लागि दिएको कर्जा तथा व्याजलाई, होटलमा दिइँदै आएको पुनर्कर्जाको व्यवस्था, ट्राभल, पर्यटन यातायात लगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा समेत दिने व्यवस्था गर्न।

२) बुँदा नं.१ मा भएको व्यवस्थाअनुसार पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पुनर्तालिका गर्ने तथा ब्याजलाई समेत तत्काल पुँजीकृत गर्ने वा सहुलियत डिमाण्ड कर्जाको व्यवस्था गरी एक वर्षपछि मात्र सावाँसहितको टर्म लोन भुक्तानी गर्ने व्यवस्था मिलाउने।

३) पर्यटन क्षेत्रमा क्रियाशील श्रमिकहरुलाई आवश्यकताअनुसार कटौती गर्न र श्रमिकहरुको राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तीमा ५० प्रतिशत राहतको व्यवस्था।

४) कोरोना भाइरसको प्रभावले पर्यटन क्षेत्रमा रहेका श्रमिकहरुलाई पलायन हुन नदिन नेपाल सरकारले नाथमसँगको सहकार्यमा निजी क्षेत्रको समन्वयमा विशेष तालिम तथा सेमिनारको व्यवस्था गरी श्रमिकहरुको पेशा तथा दक्षता अभिवृद्धि गर्ने।

५) कोरोना भाइरसको कारण पर्यटकहरुले बुकिङ रद्द (होटल तथा हवाई टिकट) गरिरहेकोले पुनर्तालिका वा फुल रिफण्डको लागि व्यवस्था मिलाउने।

६) पर्यटन व्यवसायीले विभिन्न क्षेत्रअन्तर्गत नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, वार्षिक सवारी कर तथा स्थानीय करहरुमा ५० प्रतिशत सहुलियत प्रदान गर्ने तथा हाललाई एक वर्षको लागि कुनै पनि दण्ड जरिवाना नगर्न ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad