कारोबार


मूल्य बढेपछि आलु किसान खुशी

मूल्य बढेपछि आलु किसान खुशी

पेमा लामा
फागुन २५, २०७६ आइतबार १०:३,

पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरेका छन्। गत वर्ष त्यही अनुपातमा खेती गरेको उनले यस वर्ष राम्रो आम्दानी पाएको बताए।

पहिलो पटक खनेर बिक्री गरिसकेका उनले प्रतिकिलो रु ३२ सम्ममा बिक्री गरेको बताए। आलुको अवस्थाअनुसार किलोको रु ३५ सम्म मूल्य पाएको अधिकारीको भनाइ छ। ‘केही वर्षयताको मूल्यमा यस वर्ष राम्रो भाउ पाएका छौँ’, उनले भने, ‘गत वर्षभन्दा यस वर्ष आलुखेती गर्ने किसानले राम्रो मूल्य पाएको छ।’ गत वर्ष किलोको रु २० देखि रु २२ सम्म मात्रै पाएको उनले बताए। पच्चीस रोपनीमा आलुखेती गरेका उनले अझै चार/पाँच पटक खन्न बाँकी नै रहेको जानकारी दिए।

सोही वडास्थित लाम्डीका अर्का किसान यादव अधिकारीले यस वर्ष आलुको राम्रो मूल्य पाइएको बताए। ‘खेती गरेअनुसार यस वर्ष किसानले राम्रो भाउ लिइरहेका छन्’, उनले भने, ‘मैले यसपाली अलि ढिला लगाएकाले बेच्न बाँकी नै छ, त्यस बेलासम्ममा राम्रो मूल्य पाउँछु होला।’ उनले यस वर्ष २० रोपनीमा आलुखेती गरेका छन्। गत वर्षको भन्दा यस वर्ष राम्रो मूल्य पाइरहेकाले आलुखेतीप्रति किसान उत्साहित भएका उनको भनाइ छ।

वडा नं ६ तीनपिप्लेका किसान बद्री ढुंगानाले यस वर्ष आलुको राम्रो मूल्य पाएकाले पाँचखालका किसान उत्साहित भएका बताए। आलुको राम्रो मूल्य पाएपछि अहिले पाँचखालका किसान खुशी भएका छन्। नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखा प्रमुख ईश्वर अधिकारीले नगरपालिकामा यस वर्ष २६ हजार ५०० हेक्टरमा आलुखेती लगाइएको बताए।

गत वर्षको भन्दा यस वर्ष किसानले प्रतिकिलो रु १० भन्दा बढी मूल्य पाएको उनको भनाइ छ। गत वर्ष किसानले प्रतिकेजी रु २० देखि रु २२ सम्ममा बिक्री गरेका थिए। काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलुमा बढी मात्रामा विषादी प्रयोग गरेको भन्ने आरोप खेप्दै आएकामा कालिमाटीस्थित बाली संरक्षण निर्देशनालय हरिहरभवनअन्तर्गत द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट गरिएको परीक्षणअनुसार सो आलुमा कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट प्रतिशत ११ भन्दा कम भएको पाइएको उनले बताए।

विज्ञका अनुसार कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट ३५ प्रतिशतभन्दा कम भएको आलु खानाका लागि योग्य भएको मानिन्छ। त्यसरी खेती गर्दै आएका किसानलाई सहयोगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइसुपरजोन (आलु)ले विभिन्न प्रक्रियाबाट सहयोग गर्दै आइरहेको छ। किसानको सहजताका लागि गुणस्तरीय बीउ र खेतीमा सहजताका लागि औजारसमेत कम मूल्यमा पाउने गरी कस्टम हायरिङ सेन्टरसमेत स्थापना गरेर सहयोग गरेपछि किसानमा आलुखेती गर्न थप हौसला मिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु) काभ्रेपलाञ्चोकका सञ्चालक समिति अध्यक्ष हरि खतिवडाले बताए।

‘त्यससँगै आलु सुपरजोन कार्यक्रम लागू भएपछि विषादी न्यूनीकरणका लागि किसानलाई विभिन्न प्रकारका सचेतनाका कार्यक्रम गर्दै आइरहेका छौँ’, उनले भने। त्यससँगै किसानलाई माटो सुधार, खेतीको तरिका र आलुको जात छनोटलगायत गोठ सुधारको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad