ad ad

कारोबार


एक अर्बपतिको अन्तरिक्ष उडान

बेसमेन्ट स्टार्टअपबाट दौलत कमाए, अब पूरा गर्दै छन् उडानको सोख
एक अर्बपतिको अन्तरिक्ष उडान

अर्बपति ज्यारेद आइज्याकम्यान (ब्लुमबर्ग)


इमिली मेसन
भदौ २९, २०८१ शनिबार ७:३०, काठमाडौँ

ज्यारेद आइज्याकम्यानले न्युजर्सीस्थित आफ्नो परिवारिक घरको भुइँतलादेखि एउटा लामो यात्रा तय गरेका छन्।

किशोर वयमै पारिवारिक घरमा भुक्तानी कम्पनी शिफ्ट४ को बीज रोपेका यी अर्बपति संस्थापकले यही हप्ता अन्तरिक्षको बाहिरी भागको उडान भरे। योसँगै उनी ५० वर्षभन्दा लामो समययता पृथ्वीदेखि सबैभन्दा टाढा पुग्ने व्यक्ति समेत बने। 

अर्का अर्बपति इलोन मस्कको अन्तरिक्षयान कम्पनी स्पेस एक्सले रकेटबाट प्रक्षेपण गरेको ड्रागनमा आइज्याकम्यानसँगै अर्का एक क्रु सदस्यले पनि अन्तरिक्ष उडान भरे। बिहीबार उनीहरु आफ्नो क्याप्सुल (यान)बाट बाहिर निस्किए र नयाँ स्पेससुट्समा स्पेसवाक (शून्य गुरुत्व भएको अन्तरिक्षमा हिँडेका) गरेका थिए। यो आइज्याकम्यानको अन्तरिक्षमा दोस्रो यात्रा हो। 

‘मलाई आफू जीवनमा निकै भाग्यमानी छु झैँ लाग्छ’, अन्तरिक्षयात्राअघि उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘बेसमेन्ट स्टार्टअप त तपाईंलाई थाहै होला, एउटा पिज्जा किन्ने प्रयास मात्र थियो तर यो त निकै राम्रो साम्राज्य बनिदियो।’

शिफ्ट४ बाट पाएको सफलता
आइज्याकम्यान ४१ वर्षको पुगेका छन्। युवावस्थामा अर्को भुक्तानी कम्पनीमा काम गर्दागर्दै उनले शिफ्ट४ खोलेका थिए।

यो कम्पनी सन् २०२० मा पब्लिक बन्यो र बुधबारसम्म यसको बजार मूल्यांकन नै ७ अर्ब डलर पुगिसकेको छ। गत वर्ष २.६ अर्ब डलर राजस्वबाट कम्पनीले १२ करोड ३० लाख अमेरिकी डलर नाफा नै कमाएको छ। 

शिफ्ट४ मा आइज्याकम्यानको १.७ अर्ब डलरको सेयर स्वामित्व छ। 

सन् २०२० को अन्तिमतिर आइज्याकम्यानले स्पेसएक्ससँग सम्बन्ध बनाएका थिए। उनले आफू उडेको मिसनमा आफ्नै पैसा पनि लगानी गरेका छन्। कति गरेका छन् भन्नेचाहिँ खुलाएका छैनन्।

यसबाहेक शिफ्ट४ ले पौने ३ करोड डलर स्पेसएक्सलाई उपलब्ध गराएको छ। 

शिफ्ट४ ले विभिन्नखाले रेस्टुराँ, रिसोर्ट, होटल, क्यासिनो र स्टेडियमहरुमा भुक्तानीको प्रक्रिया मिलाउँछ। मस्कको स्याटेलाइट इन्टरनेट नेटवर्क सेवाप्रदायक स्टारलिंक पनि यसको एक ग्राहक हो। पोलारिस डन नाम दिइएको यो मिसनको एक उद्देश्य अन्तरिक्षमा स्टारलिंकको सञ्चार परीक्षण गर्नु पनि हो र आइज्याकम्यान अहिले यही गरिरहेका छन्। 

आइज्याकम्यानका बाल्यकालका साथी तथा शिफ्ट४का अध्यक्ष टेलर लबरले उनको व्यवसाय विमानसम्बन्धी रुचिसँग जोडिनुमा आश्चर्य नभएको बताए। 

‘यसबाट उनी अन्यत्रै ध्यानकेन्द्रित गर्छन् भन्ने लाग्दैन किनकि उनले आफ्नो २५ वर्ष यही कुरामा बिताएका छन्’, लबरले भने। 

उडानयात्रा : एक सोख 
सन् २००७ मा आइज्याकम्यानले आफ्नो उडानयात्रा सोखका रुपमा थालेका थिए। सन् २०१० मा सिभिलियन पाइलट र अमेरिकी हवाइ बलबाट अवकाशप्राप्त पाइलटहरुको संयोजनमा ब्ल्याक डायमन्ड जेट टिम बनाए।

उनीहरुले पछि ड्रेकन इन्टरनेशनलको स्थापना गरे। जुन सेनाका लागि एक तालिमप्रदातृ कम्पनी थियो। यसलाई अन्ततः ब्ल्याकस्टोन इन्कले किनेको थियो। 

सन् २०२१ मा आइज्याकम्यानको पहिलो अन्तरिक्ष प्रयास भएको थियो। उनले पृथ्वीको कक्षमा पहिलोपटक आममानिस मात्रै पठाउन लगानी गरेका थिए। यस मिसनलाई इन्स्पिरेसन४ नाम दिइएको थियो जुन स्पेसएक्सले चलाएको थियो। यसबाट सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलका लागि २४ करोड अमेरिकी डलर संकलन भएको थियो। 

‘म यसलाई दोस्रो अन्तरिक्ष युगको बिहान भन्न चाहन्छु’, पोलारिस डनका मिसन निर्देशक टड एरिक्सन भन्छन्, ‘इन्स्पिरेसन४ सम्म तपाईंलाई अन्तरिक्षमा जान कुनै देशका अन्तरिक्षयात्री बन्नुपर्ने हुन्थ्यो र हामीले यसको अन्त्य गरिदियौँ।’

आइज्याकम्यानसँगै पोलारिस डन क्रुहरुमा दुई जना स्पेसएक्सका इन्जिनियरहरु पनि सारा गिलिस र एना मेनन तथा अर्का हवाइ बलबाट अवकाशप्राप्त लेउटिनेन्ट तथा आइज्याकम्यानका साथी स्कट पटिट छन्।

टाढाका मानिस 
मंगलबार स्पेसएक्सले पोलारिस डन क्रुहरु १ हजार ४ सय किलोमिटरको उचाइसम्म पुगेको जनाएको थियो।

नासाको एपोलो कार्यक्रमयता मानिसहरु पृथ्वीभन्दा टाढा पुगेको यो नै पहिलोपटक हो। बिहीबार तल्लो उचाइमा क्रुसदस्यहरुले उनीहरुको स्पेस वाक (अन्तरिक्षमा हिँडाइ)का लागि ‘एक्स्ट्राभेहिकुलर एक्टिभिटी सुट्स राखेका थिए। 

विगतमा आइज्याकम्यानले आफ्ना नजिकका मानिसहरुसँग विशेष उडान अनुभव बाँड्ने गरेका थिए। 

इन्स्पिरेसन४ मिसनका दौडान उनले सहभागीका परिवारका लागि शून्यगुरुत्वका उडानको व्यवस्था समेत मिलाएका थिए। जसमा शिफ्ट४ का लामो समय काम गरेका थोरै कर्मचारीहरु पनि सहभागी थिए।

सन् २०१६ मा निजी स्वपुँजी कम्पनी सर्चलाइट क्यापिटल पार्टनर्सबाट शिफ्ट४ ले आफ्नो पहिलो चरणको स्वपुँजी लगानी बन्द गरेपछि आइज्याकम्यान र उनका पाइलट साथीले उक्त कारोबारमा संलग्न सबैलाई फाइटर जेटमा उडाएका थिए। 

आइज्याकम्यानका साथीहरु उनको पछिल्लो अन्तरिक्ष यात्राबारे सुन्न चासोसाथ कुरिरहेका छन्। यो उडानमा स्टारलिंक कनेक्सनको माध्यमबाट वाइफाइ सुविधा समेत छ। 

‘जब ज्यारेदले ३ देखि ५ घण्टाको उडान गर्छन्, कसैले इमेल देख्न र सुन्न पाउँदैनन् भन्ने मजाक हुन्थ्यो’, सर्चलाइटका साझेदार तथा शिफ्ट्४ बोर्डका स्वतन्त्र निर्देशक क्रिस्टोफार क्रुजले भने, ‘तर जब उनी अवतरण गर्छन्, कार्यकारी, बोर्ड सदस्य र हरेकले इन्बक्समा तुरुन्तै सन्देशहरु पाउनेछन्।’ ब्लुमबर्गबाट अनुदित 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .