कारोबार


व्यवसायी भन्छन्: ५ महिनालाई पुग्ने औषधि छ, आत्तिनुपर्ने अवस्था छैन

व्यवसायी भन्छन्: ५ महिनालाई पुग्ने औषधि छ, आत्तिनुपर्ने अवस्था छैन

सन्तोष न्यौपाने
फागुन २२, २०७६ बिहिबार १४:२,

नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) फैलिन सक्ने त्रास बढेसँगै औषधि लगायतका सामाग्रीको जोहो गर्ने बढेको छन्।

सामान्य रुघाखोकी लाग्दा चाहिने प्यारासिटामोल, डिकोल्डलगायतका औषधि समेत सोहि त्रासका कारण केहि दिनयता धेरै बिक्री हुन थालेको औषधि बिक्रेताहरु बताउँछन्।

उपभोक्ताले यी औषधि किनेर स्टकमा समेत राख्न थालिरहेका बेला सम्बन्धित व्यवसायीहरुले भने त्यसरी आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्। सबै प्रकारको औषधि प्रयाप्त मात्रामा रहेकाले नआत्तिन सम्बन्धित व्यवसायीले आग्रह गरेका हुन्।

नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले पाँच महिनालाई पुग्ने औषधि रहेको बताए।

‘हामीसँग कम्तिमा पाँच महिनलाई पुग्ने औषधि छ,’ नेपालखबरसँग कुरा गर्दै दाहालले भने, ‘औषधि नपाइएला कि भनेर कोही पनि आत्तिनु पर्दैन।’

उनका अनुसार तयारी औषधि दुई महिनाका लागि स्टकमा छ। साथै उत्पादनका लागि थप ३ महिनालाई पुग्ने कच्चापदार्थ रहेको उनले बताए।

सन् २०१९ जनवरीदेखि २०१९ डिसेम्बरसम्म प्यारासिटामोललाई चाहिने १ लाख ६४ हजार ९ सय २७ किलो कच्चापदार्थ नेपाल भित्रिएको छ।

उनका अनुसार जनवरीमा मात्र प्यारासिटामोलको कच्चा पदार्थ ३८ टन भित्रिएको छ। ‘यसबाट ४ करोड ६० लाख ट्यावलेट प्यारासिटामोल बनाउन सकिन्छ,’ दाहालले भने, ‘यस्तो अवस्थामा सिटामोल नपाइएला कि भनेर डाराउनु पर्दैन।’

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष तथा देउराली फार्मास्युटिकल्सका संचालक हरिभक्त शर्माले पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए।

‘हामीसँग प्रयाप्त मात्रामा औषधि छ,’ शर्माले भने, ‘औषधि नपाइएला कि भनर आत्तिनु पर्दैन।’

केही औषधीमा सामान्य मूल्य वृद्धि हुनसक्ने तर नपाइने भन्ने नहुने उनको भनाइ छ। डलरको भाउ महंगो भएको र चीनबाट आउने कच्चापदार्थ पनि महंगिएकोले औषधिको मूल्य वृद्धि हुनसक्ने व्यवसायीको भनाइ छ।

अहिलेको अवस्थामा औषधि जोहो गर्ने भन्दा पनि वातावरणलाई कसरी सहज बनाउने भन्नेबारे सरकारले ‘एक्सन’मा जानुपर्ने उनको धारणा छ।

भारतले नेपालमा केही औषधि र कच्चापदार्थ निर्यात गर्न रोक लगाएपछि बजारमा त्रास फैलिएको छ।

भारतले अहिले २६ प्रकारका औषधि र त्यसका कच्चापदार्थ निर्यात रोकेको छ। त्यसमध्ये १३ प्रकारका औषधि नेपालमै उत्पादन हुन्छ। सिटामोललगायतका औषधिलाई रोक लगाएपछि नेपालमा पनि त्यसको प्रभाव पर्नसक्ने आंकलन गरिएको छ।

भारतमा पनि ती औषधि बनाउने कच्चापदार्थ चीनबाट आयात हुन्थ्यो।

नेपाली व्यवसायीले भने भारतले निर्यात रोक्दैमा केही महिनालाई फरक नपर्ने बताउँछन्। नेपालमा भारत, चीन लगायतका देशबाट औषधिको लागि चाहिने कच्चापदार्थ आयात हुन्छ।

कोरोना भाइरसको चपेटामा परेको चीन बिस्तारै व्यवसायमा फर्किदै छ। चीनका सप्लायरले सामान लैजान सक्ने सन्देश पठाइसकेकाले भारतबाट नआए पनि चीनबाट कच्चापदार्थ ल्याउन सकिने दाहालको भनाइ छ।

मुलुकमा अहिले ६० वटा औषधि उद्योग सञ्चालनमा रहेका छन्। नेपालमा चाहिने औषधिमध्ये ४५ प्रतिशत नेपालमै उत्पादन हुने दाहालले बताए।

‘हामीसँग नेपालमा चाहिने ७० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता छ,’ दाहालले भने, ‘सरकारले सहयोग गर्नुपर्छ।’

सरकारले आपतको बेला मात्र हल्ला गर्ने तर अन्य बेलामा केही नगर्ने कारणले औषधिमा बेलाबेलामा समस्या भइरहने उनको भनाइ छ।

यसैबीच, औषधि निर्यात रोक्ने भारतको निर्णयका विषयमा नेपालले दक्षिणी छिमेकीसँग छलफल गर्ने तयारी गरेको छ।

कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई कारण देखाउँदै भारतले २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ। यसबाट नेपालीलाई प्रत्यक्ष असर पर्ने भन्दै चिन्ता व्यक्त भइरहँदा भारतसँग संवादको तयारी भइरहेको सरकारका प्रवक्ता तथा सञ्चार एवं अर्थमन्त्री युवराज खतिवडाको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

भारतले एमोक्सिलिन, मोक्सि फ्लोक्सेसिन, डक्सी सिलिन एन्टिबायोटिक्सदेखि पारासिटामोल र टीबीका औषधिसम्म निर्यात नगर्ने निर्णय गरेको छ। औषधि उत्पादनमा आवश्यक एपीआईका लागि नेपालका कम्पनीहरु समेत चीन र भारतसँग निर्भर छन्।

याे पनि: 
भारतले निर्यात रोक लगाएका औषधि ल्याउन छलफल गर्दै नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad