कारोबार


ग्लोबल आईएमईले ल्यायो बच्चाको खर्च डिजिटलाइज्ड गर्ने फिचरसहितको एप

ग्लोबल आईएमईले ल्यायो बच्चाको खर्च डिजिटलाइज्ड गर्ने फिचरसहितको एप

नेपालखबर
भदौ १७, २०८१ सोमबार १९:७, काठमाडौँ

ग्लोबल आईएमई बैंकले बच्चाको खर्चलाई डिजिटलाइज्ड गर्दै अभिभावकले नै खर्च निगरानी गर्नसक्ने फिचरसहितको एप सञ्चालनमा ल्याएको छ। 

बैंकले सोमबार ग्लोबल जुनियर एप लन्च गरेको हो। 

१२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै ल्याइएको एपबाटै अभिभावकले खर्चको निगरानी समेत गर्न सकिने बैंकले जनाएको छ। 

परिवारबाटै डिजिटल कारोबारको सुरुवात गर्नका लागि बैंकले बालबालिका र अभिभावकको बीचको सम्बन्धमा सेतुको रुपमा जुनियर एप सञ्चालनमा ल्याएको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले बालबालिकामा डिजिटल बैंकिङ सम्बन्धी ज्ञान हुनु अपरिहार्य भएको भन्दै एपले सानैबाट बालबालिकालाई वित्तीय रुपमा साक्षर बनाउने योजना रहेको बताए। 

उनले भने, ‘भोलिका कणर्धार भनेकै बालबालिका हुन्, त्यसैले डिजिटल युग सुरु हुँदैगर्दा उनिहरु डिजिटल बैकिङमा अभ्यस्त हुन जरुरी छ।’

उनले एपले बच्चा र अभिभावकबीचको आर्थिक सम्बन्धमा सेतुको काम गर्ने धारणा राखे। 

ग्लोबल जुनियर एपमा अभिभावकले आफ्ना बच्चाको निक नेम (नामबाहेकको बोलीचालीका लागि राखिएको अर्को छुट्टै नाम) विद्यालयको आईडी कार्ड, जन्मदर्ता लगायतका कागजात अनलाइनबाटै राखेर खाता खोल्न सक्नेछन्। 

बालबालिकाको एपमा रहेको खाता अभिभावकको सोही एपको खातामा कनेक्ट हुने हुँदा उनीहरुले गर्ने आर्थिक लेनदेनको सम्पूर्ण जानकारी अभिभावकले आफ्नै मोबाइलबाट लिन सक्ने व्यवस्था एपमा गरिएको छ। 

सीईओ रेग्मी अभिभावकको निगरानीमा बालबालिकालाई पैसा कमाउन, खर्च गर्न र बचत गर्न सिकाउने गरी एप ल्याइएको बताउँछन्। 

‘बालबालिकाले पैसा कसरी र कहाँ खर्च गर्दै छन् भन्ने कुराको निगरानी अभिभावकले पाउने हुँदा पनि यो सिकाइ र नियन्त्रणका लागि उपयोगी हुनेछ’, उनले भने। 

बैंकको कुल कारोबार ७५ प्रतिशत कारोबार डिजिटलबाट हुँदै आएको छ। उनले अब बालबालिकालाई पनि यसको दायरामा ल्याउने बताए।

त्यसो त एपमार्फत अभिभावकले खर्चको निगरानी मात्रै गर्दैनन्, बालबालिकाले पैसा माग्नका लागि सिधै रिक्वेस्ट गर्न सक्ने तथा अभिभावकले दिएको रकम एपमार्फत पुन: तान्न मिल्ने व्यवस्था समेत गरेको छ। 

कामकाजी अभिभावकहरुले बच्चाहरुलाई लगाउने स- साना कार्यहरुका विवरण प्राप्त गर्न तथा सोबापतको रिवार्ड पनि उनीहरुलाई दिनसक्ने फिचर एपमा उपलब्ध गराएको छ। 

बालबालिकालाई डिजिटल कारोबार सिकाउँदै पारदर्शी कारोबारमा अभ्यस्त बनाउन एप महत्वपूर्ण रहने बैंकका डेपुटी सीईओ सुमन पोखरेलले बताए। 

‘बच्चाले पैसाको भ्यालु नै गरेनन् भन्ने अभिभावकको गुनासोलाई यो एपले सम्बोधन गर्न सक्छ। बच्चाहरुले पैसा कहाँ कसरी खर्च गर्ने पैसाको व्यवस्थापन कसरी गर्ने र पारदर्शी कारोबार कसरी गर्ने भन्ने कुरा सिकाउन यो एप महत्त्वपूर्ण छ’, उनले भने। 

यो एप एक अभिभावकले दुई सन्तानका लागि मात्र प्रयोगमा ल्याउन सक्छन् भने उनीहरुले गर्ने खर्चको सीमा समेत आवश्यकताअनुसार आफैँले निर्धारण गर्न सक्नेछन्। हाल बैंकले दैनिक ५ हजार र महिनामा १० हजारसम्मको खर्च गर्न सक्ने सीमा कायम गरेको छ। 

एपमा रहेको रकमको ब्याज समेत उपलब्ध हुने हुँदा बालबालिकालाई बचतमा थप प्रोत्साहन मिल्ने बैंकको विश्वास छ। 

बालबालिकाले १७ वर्षसम्म प्रयोग गरिएको उक्त एप १८ वर्ष पुगेपछि भने एप प्रयोग गर्न पाउँदैनन्। यसका लागि बैंकले अभिभावकलाई नै जुनियर एपलाई सेभिङ अकाउन्टमा रुपान्तरण गर्न लगाउँछ। 

बालबालिकालाई डिजिटल बनाउन सिकाउनुका साथै बैंकले वयस्कहरुका लागि अनलाई बाटै ऋण लिन पाउने व्यवस्था पनि गर्दै छ। बैंकका सीईओ रेग्मीले फोनबाटै ऋण लिने र तिर्न मिल्ने व्यवस्था गर्न लागिएको बताए।  

३६ अर्बको पुँजीसहित ग्लोबल आईएमई वाणिज्य  बैंकहरु मध्येको ठूलो वाणिज्य बैंक हो। यसले देशभर ३६४ वटा शाखा कार्यलयहरुबाट बैकिङ सेवा दिँदै आएको छ भने बैंकबाट हुने कुल कारोबारको ७५ प्रतिशत कारोबार डिजिटलबाट गर्दै आएको दाबी समेत गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad