काठमाडौं कलंकीदेखि वसुन्धरासम्म ८ लेनमा विस्तार गर्न चक्रपथ सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्ने भएको छ।
बिहीबार अर्थ मन्त्रालयमा सहयोग आदानप्रदानसम्बन्धी पत्रमा (एलओसी) हस्ताक्षर भएसँगै डीपीआरको काम अघि बढ्ने भएको हो।
चिनियाँ अनुदानमा कोटेश्वरदेखि कंलकीसम्म सडक विस्तार भइसकेको छ। त्योसँगै दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म विस्तार गर्ने समझदारी भएको थियो।
तर महाराजगन्जको नारायणगोपाल चोकका धेरै घर भत्काउनुपर्ने भएकाले चिनियाँ पक्ष वसुन्धरासम्म मात्रै विस्तार गर्न सहमत भएको हो।
सडक विस्तारका लागि झण्डै ५ वर्षअघि २०७६ कात्तिकमा नै रुख कटान भए पनि चिनियाँ पक्षले विभिन्न बहाना देखाउँदै काम सुरु गरेको छैन।
सरकारले सडक छेउका पोल, अस्थायी संरचना हटाए पनि कोभिडलगायत कारण देखाएपछि प्रक्रिया नै अघि बढेन। नेपाल सरकारले सडकका दुवैपट्टि सर्भिस लेन बनाइसकेको छ। सडक निर्माण गर्न अब कुनै अवरोध छैन।

बिहीबार अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ राजदुत छन सोङको उपस्थितिमा चक्रपथसँगै विभिन्न परियोजना अगाडि बढाउनेसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ।
‘काठमाडौं चक्रपथको कलंकीदेखि वसुन्धरा महाराजगन्जसम्मको ८.२ किलोमिटर सडक निर्माणमा सहयोग आदानप्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ’, अर्थमन्त्रीका सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आईसीपी र आईसीडी निर्माणसँगै अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदानप्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भयो।’
नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा. घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरेका छन्।
उक्त कार्यक्रममा अर्थमन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डीपीआर तयार तथा पूर्वाधार निर्माणलगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध समेत गरेका थिए।

नेपालका लागि चिनियाँ राजदूत सोङले सामाजिक सञ्जलामा कलंकी–चक्रपथसहितका ४ वटा आयोजनामा सहयोग आदानप्रदानसम्बन्धी हस्ताक्षर भएको उल्लेख गरेका छन्।
काठमाडौं चक्रपथ सडक विस्तार योजना प्रमुख कृष्णनाथ ओझाले लेटर अफ एक्सचेन्जपछि चिनियाँ पक्ष सर्भे र डिजाइनको लागि नेपाल आउने बताए।
‘बिहीबार हस्ताक्षर भएको थाहा पाएका छौँ। औपचारिक जानकारी आइसकेको छैन’, ओझाले भने, ‘लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएपछि सर्भे र डिजाइनको टोली नेपाल आउँछन्।’
लामो समय चक्रपथ विस्तार नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। पानी पर्दा हिलो र घाम लाग्नेबित्तिकै धूलो उड्दा यात्रुसँगै स्थानीयले समस्या भोग्दै आएका छन्। काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत र काठमाडौं निर्वाचन क्षेत्र नं ५ का सांसद तथा हाल स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा रहेका प्रदिप पौडेलले दबाब यात्रा गरेका थिए।

असारमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनको भावी चीन भ्रमणमा चक्रपथ लगायतका आयोजनामा सहयोग आदानप्रदानसम्बन्धी हस्ताक्षर गर्ने तयारी रहेको थियो। तर नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै उनी चीन भ्रमणमा जान पाएनन् र हस्ताक्षर पनि रोकियो। अहिले चीनको अन्तर्राष्ट्रिय सहयोग नियोगका उपाध्यक्ष नेपाल भ्रमणको क्रममा सम्झौता भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले अब चिनियाँले डीपीआर बनाई सडक विभागमा बुझाउने बताए।
‘लेटर अफ एक्सचेन्ज नहुँदा डीपीआरको काम हुनसकेको थिएन’, सहसचिव अधिकारीले भने, ‘कलंकी–वसुन्धराको कुन खण्डमा के बनाउने भन्ने विस्तृत अध्ययन प्रतिवेदन पेस गर्छन्।’
कलंकी वसुन्धराको प्रिलिमिनरी डिजाइन तय भइसकेको छ। दोस्रो खण्ड विस्तारको डीपीआर पास भएसँगै उनीहरुले काम सुरु गर्न सक्छन्।
‘सडक विस्तारको लागि चिनियाँ पक्षले नै ठेक्का आह्वान गरी जिम्मेवारी दिनेछ’, अधिकारीले थपे, ‘कुन ठाउँमा ओभरपास बनाउने, कुन ठाउँमा पुल भन्ने डीपीआरले तय गर्छ।’

चक्रपथ विस्तार गर्दा स्वयम्भू क्षेत्रमा अहिलेका संरचनालाई यथावत् राखी सडक विस्तार हुनेछ। हालसम्मको समझदारीमा ८ लेनको सडकको बीचमा ग्रिनरी, चोकमा अन्डरपास वा ओभरपास, आकाशे पुलसहितको सडक डिजाइन बनाउने समझदारी भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इन्जिनियरहरुका अनुसार चिनियाँ पक्षले चक्रपथ विस्तारको लागि बजेट छुट्याइसकेको बताएको छ। प्रारम्भिक डिजाइन तय भइसकेको र सडक निर्माणमा कुनै अवरोध नभएकाले चिनियाँ पक्षले छोटो समयमै चक्रपथ विस्तार गर्न सक्छ।
यसअघि चीनले कोटेश्वर–कलंकीको १० किमि सडक २०७५ मा सरकारलाई हस्तान्तरण गरेको थियो। तर डिजाइन गर्दा सुरक्षामा ध्यान नदिएको भन्दै आलोचना भएको थियो। सरकारले अहिले उक्त खण्डकै ग्वार्कोमा ओभरपास बनाइरहेको छ।
Shares

प्रतिक्रिया