कारोबार


स्टार्टअपलाई दिन बजेटमा छुट्याइएको १ अर्ब २५ करोड अनुदान कार्यान्वयन होस् : अध्यक्ष ढकाल

स्टार्टअपलाई दिन बजेटमा छुट्याइएको १ अर्ब २५ करोड अनुदान कार्यान्वयन होस् : अध्यक्ष ढकाल

नेपालखबर
भदौ ५, २०८१ बुधबार १३:४९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालू आर्थिक वर्षको बजेटमा छुट्याइएको स्टार्टअपलाई दिने अनुदान कार्यान्वयनमा जोड दिएका छन्। 

स्टार्टअप नेसन सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बजेटमा छुट्याइएको १ अर्ब २५ करोड रुपैयाँ अनुदान प्रदान हुने आशा व्यक्त गरेका हुन्। 

‘ऐन र नियमावलीमा यी बिषय समावेश भै सकेपछि सरकारले स्टार्टअपलाई सहायता प्रदान गर्न सहज भएको छ। उत्साही भएर सरकारले यसपटकको बजेटमा एक अर्ब २५ करोड रुपैया स्टार्ट अपलाई अनुदान प्रदान गर्न छुट्याएको छ’, उनले भने, ‘अब यसको प्रभावकारी कार्यान्वयन हुने र आवश्यकता भएका युवाहरुसम्म यो रकम पुग्ने मैले विश्वास लिएको छु।’ 

यसका लागि युवाहरुलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरु स्थापना गर्नुपर्ने उनले बताए। 

त्यसको सुरुवातका रुपमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया सुरु भएको ढकालले जानकारी दिए। 

‘म संघीय र प्रदेश सरकारहरुसंग सहकार्य गर्न आग्रह गर्दछु’, उनले भने, ‘किनभने महासंघको ७७ वटै जिल्ला र नगर समेत गर्दा १२३ स्थानमा प्रतिनिधित्व छ। सबै प्रदेशमा हाम्रो कार्यालय छ । हामीसंग यसलाई अगाडि बढाउन सक्ने क्षमता पनि छ। त्यसैले सरकारहरुको सहकार्यमा यी केन्द्रहरु स्थापना गर्न सक्षम छौँ।’

सरकारले निजी क्षेत्रलाई महत्त्व दिएको महशुस गरेको उनले बताए। अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको सय दिनको कार्ययोजनामा महासंघले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय पनि रहेकोमा महासंघ खुसी भएको उनले बताए। 

तीन दिनअघि मात्रै सांसद, संसदीय समितिका सभापति, उपप्रधान तथा अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र ऊर्जामन्त्रीको उपस्थितिमा नीतिगत सुधारका लागि आग्रह गरेको उनको भनाइ छ। 

उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रस्तावमा एक प्रतिशतभन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको बताउँदै यस्तो हुने हो भने लगानी लिन चाहनेको संख्या निकै कम हुने दाबी गरे। जसले आर्थिक वृद्धिमै असर पर्ने उनको भनाइ छ।

युवाहरुलाई उद्यमशीलतामा संलग्न गराउन र अर्थतन्त्रमा योगदान पुर्याउन ढिला भइसकेको बताउँदै उनले सन् १९८० देखि २०१० भित्र अमेरिकामा स्टार्टअपहरुले करिब २५ रोजगारी सिर्जना गरेको विभिन्न अध्ययनहरुले देखाएको उल्लेख गरे। 

‘भारत संसारको तेस्रो ठूलो स्टार्ट अप संजाल भएको मुलुक बनेको छ । हामी जस्तै अति कम बिकसित मुलुक बंगलादेशमा बर्षको करिब १० अर्ब स्टार्ट अपमा लगानी हुन थालेको छ’, उनले थपे, ‘हामीकहाँ पनि यो सम्भावना छ । नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहका छन्।’ 

ती युवाहरु नेपालमा निजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिन सक्ने निजी क्षेत्र भएको मध्यपूर्व र मलेसियामा काम खोज्न गएका उनले बताए। 

अहिले नेपालले तीव्र आर्थिक विस्तार गर्ने सम्भावना रहेको बताउँदै उनले दुई ठूला दल मिलेर राजनीतिक र नीतिगत स्थिरताको प्रतिबद्धता जनाएको, हालसम्मकै उच्च विदेशी मुद्राको सञ्चिति रहेको र भुक्तानी सन्तुलन सहज अवस्थामा भएको, बैंकहरुसँग लगानी गर्न पर्याप्त रकम रहेको, क्रेडिट रेटिंग पनि भइरहेकाले विदेशी लगानी आउने सम्भावना रहेको औँल्याए। 

लगानीका सम्भावित स्रोत जुटाउन बाह्य क्षेत्रमा प्रवद्र्धनका लागि यही ४ गते महासंघ, संयुक्त राष्ट संघ र अर्थमन्त्रालयले संयुक्त रुपमा बिकासका लागि लगानी सम्मेलन गर्दै छ। 

प्रधानमन्त्रीको आसन्न थाइल्याण्ड भ्रमणका क्रममा नेपाल थाइल्याण्ड बिजनेस फोरम आयोजना गर्ने उनले बताए। यसअघि दुईपटक भारतमा गरी चीन र दुवईमा यस्तै कार्यक्रम महासंघले आयोजना गरिसकेको छ। 

लगानी सम्मेलनका क्रममा ८ वटा कानुनमा सुधार गरी लगानीकर्ता आकर्षित गर्न खोजिएकोमो खुसी व्यक्त गर्दै उनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको र अब सम्झौता गर्दै जानुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad