कारोबार


उद्योग मन्त्रालयलाई परिसंघको प्रस्तावः इतिहास झल्काउने गरी विराटनगर जुट मिल सञ्चालन गर्छौँ

उद्योग मन्त्रालयलाई परिसंघको प्रस्तावः इतिहास झल्काउने गरी विराटनगर जुट मिल सञ्चालन गर्छौँ

दीपक भट्ट
फागुन २०, २०७६ मंगलबार १३:१५,

नेपाल उद्योग परिसंघले नेपालको पहिलो उद्योग विराटनगर जुट मिललाई इतिहास झल्काउने उद्योगको रुपमा सञ्चालन गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष गरेको छ।

हाल रुग्ण अवस्थामा रहेको उक्त उद्योगलाई नेपालको औद्योगिक क्षेत्रको इतिहास झल्काउने गरी सञ्चालनमा ल्याउने प्रस्ताव परिसंघले  सोमबार मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको हो।

उद्योग परिसंघ उद्योगहरुको छाता संगठन रहेको र नेपालको पहिलो उद्योग संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्नका लागि उक्त प्रस्ताव मन्त्रालय समक्ष गरेको परिसंघले जानाकारी गराएको छ।

हाल विराटनगर जुट मिल रुग्ण अवस्थामा छ। सरकारले रुग्ण उद्योगहरु निजी क्षेत्रलाई लिजमा दिने तयारी गरिरहेका बेला परिसंघले भने संगठनकै मातहतमा उद्योग सञ्चालन गर्नेगरी प्रस्ताव गरेको हो।

परिसंघले लगेको प्रस्तावमा उद्योगिक क्षेत्रको वातावरण झल्कने गरी उद्योग क्षेत्र परिसरमा अभिलेखालय नै स्थापना गर्ने उल्लेख भएको परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालखबरलाई जानाकारी दिए। उनका अनुसार उद्योग परिसंघले उद्योग क्षेत्रलाई केही योगदान दिनेगरी उक्त उद्योग सञ्चालनको प्रस्ताव गरिएको हो।

उद्योगहरुले सरकारले गरेको लगानीअनुसार प्रतिफल दिन नसकेपछि निजी क्षेत्रलाई सहकार्यमा चलाउन दिने तयारी गरिरहेको उद्योग राज्यमन्त्री मोतिलाल दुगडले जानकारी दिए।

‘सरकारले हरेक वर्ष उद्योगका लागि बजेट छुटउनु पर्ने र उद्योगले प्रतिफल पनि केही दिन नसक्ने भएपछि यस्ता उद्योगहरुलाई निजी क्षेत्रको सहकार्यमा चलाउने तयारी गरिएको हो’, राज्यमन्त्री दुगडले नेपालखबरसँग भने, ‘परिसंघको प्रस्ताव विराटनगरको जुट उद्योग सञ्चालन गर्ने गरी आएको छ। त्यसको अध्ययन गर्न बाँकी नै छ। तर, यस्तो प्रस्तावको स्वागत गर्नुपर्छ र सरकारको नीति पनि निजी क्षेत्रसँग सहकार्य गर्ने नै हो।’

उनका अनुसार अहिले केही उद्योगहरु निजी क्षेत्रलाई लिजमा दिने पनि तयारी भरहेको छ। र विराटनगर जुट मिललाई पनि निजी क्षेत्रको सहकार्यमा लानका लागि सरकार सकरात्मक नै रहेको उनको भनाइ थियो।

परिसंघको प्रस्तावमा के छ?
परिसंघका तर्फबाट अध्यक्ष मोरले मन्त्रालयमा पेस गरेको उक्त प्रस्तावमा विरटानगर जुट मिल नेपालकै उद्योगहरुको जेठो उद्योग भएका कारण त्यसलाई संरक्षण गर्नुपर्ने अवश्यकता रहेको उल्लेख छ।

परिसंघले उद्योगको संरक्षण तथा प्रर्वद्धन समेत हुनेगरी सञ्चालन गर्न आफू तया रुहेको र उद्योगको परिसरमा यसको इतिहास झल्काउने पार्क तथा अभिलेखालयको निर्माण गर्ने समेत प्रस्तावमा उल्लेख गरेको छ।

परिसरले उद्योगको पूर्ण क्षमता अनुसार सञ्चालन गरिने जनाएको छ। परिसंघलाई लिजमा सञ्चालनको पूर्ण जिम्मा दिए पनि आफूहरु मञ्जुर हुने तथा अहिलेको उद्योगको सम्पति मुल्यांकन गरी सरकारले नै सेयरमा परिणत गरेर सञ्चालन गर्ने भए पनि परिसंघ सहयोग गर्न तयार रहेको प्रस्तावमा उल्लेख छ।

यस्तो छ विराटनगर जुट मिलको इतिहास
विसं १९९३ असार ३० गते स्थापत भएको यो नेपालकै जेठो उद्योग हो।

सुरुमा यो उद्योग नेपाल सरकार, भारतीय लगानीकर्ता र निजी क्षेत्र (विशेष गरि गोल्छा अर्गनाइजेसन)को संयुक्त लागनीमा सञ्चालनमा आएको थियो। बीच–बीचमा बन्द हुँदै फेरि सञ्चालन हुुँदै आएको यो उद्योग २०६५ सालदेखि पूर्ण रुपले बन्द रहँदै आएको छ।

२०७५ भदौमा तत्कालिन उद्योग मन्त्री मातृकाप्रसाद यादवको पहलमा केही दिन उद्योग सञ्चालनमा आए पनि उद्योग अहिले फेरि बन्द छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad