ad ad

कारोबार


छुट र सुविधापछि भैरहवा र पोखराबाट खाडी उड्दा इन्धनमा मात्रै वायु सेवा कम्पनीको लाख रुपैयाँ बच्ने

छुट र सुविधापछि भैरहवा र पोखराबाट खाडी उड्दा इन्धनमा मात्रै वायु सेवा कम्पनीको लाख रुपैयाँ बच्ने

वसन्त अर्याल
भदौ १, २०८१ शनिबार १२:५५, काठमाडौँ

नेपाल आयल निगमले हवाइ इन्धन प्रतिकिलोलिटर (एक हजार लिटर)मा १०० डलर छुट दिने निर्णयले वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्।

वायुसेवा कम्पनीको प्रतिघण्टा उडान गर्दा ३० हजार रुपैयाँ बढी बचत हुने भएपछि उनीहरुले स्वागत गरेका हुन्। 

साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्ने कार्ययोजना पारित गरिसकेको छ। त्यसमा ती विमानस्थलमा उडान भरेबापत उनीहरुलाई २०८३ भदौसम्म विभिन्न छुटको व्यवस्था मिलाउने उल्लेख छ। 

यसअनुसार पर्यटन बोर्डले प्रतिटिकट लिने गरेको शुल्क दुई एयरपोर्टको हकमा नलिने, सरकारले टिकटमा लगाउने गरेको भ्याट नलिने र इन्धनमा छुट दिने निर्णय गरेको छ। त्यसबाहेक नागरिक उड्डयन प्राधिकरणले उठाउने आधा दर्जन शुल्कमा छुट दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बताएका छन्। 

मन्त्रिपरिषद्बाट कार्ययोजना पास भएसँगै हवाइ इन्धनमा छुट दिने निर्णय भइसकेको छ। बिहीबार बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले प्रतिकिलोलिटर इन्धनमा १०० डलर छुट दिने निर्णय गरेको छ।  

‘बिहीबार बसेको बोर्डको बैठकले प्रतिकिलोलिटरमा १०० डलर छुट दिने निर्णय गरेका छौं’, वाणिज्य सचिव तथा नेपाल आयल निगमका बोर्ड अध्यक्ष मधुसुदन बुर्लाकोटीले नेपालखबरसँग भने, ‘भैरहवा र पोखरामा औसत लागत मूल्यअनुसार १०० डलर छुट दिने निर्णय गरेका हौँ।’

उनले भैरहवाको तुलनामा पोखरामा इन्धनको लागत फरक भए पनि औसत मानेर १०० डलर छुट दिने निर्णय भएको बताए।

भैरहवा र पोखराबाट खाडी मुलुकमा उडान गर्दा इन्धनतर्फ मात्रै लाख बढी बचत हुने 
भैरहवा विमानस्थलबाट जजिरा एयरवेजले हप्ताको ३ वटा उडान कुवेतमा गरेको थियो। अहिले खर्च बढी भएको र अरु सुविधा कमी भएको भन्दै बन्द गरेको छ। सरकारी सुविधाबाहेक जजिराले मुख्य रुपमा हवाइ इन्धनमा छुट माग गरेको थियो।

हिमालय एयरलाइन्सले समेत काठमाडौं–क्वालालम्पुर–भैरहवा उडान गरे पनि धेरै समय टिक्न सकेन। यसको कारण लागतसँगै यात्रु काठमाडौं आउनुपर्ने बाध्यता थियो। हिमालय एयरलाइन्सले सरकारको कार्ययोजनालाई उत्साहजनक रुपमा लिएको छ। 

कम्पनीसँग भैरहवाबाट उडान गर्ने न्यारोबडी जहाज रहेका छन्। हिमालय एयरलाइन्सले एयरबस ३१९ र ३२० जहाजबाट उडान गर्छ। नेपाल एयरलाइन्सले समेत एयरबस ३२० जहाजबाटै उडान भर्छ। भैरहवाबाट कतार, साउदी, दुवई, मलेसिया उडान गर्दा एयरलाइन्स कम्पनीको इन्धनमा मात्रै लाख रुपैयाँ बच्ने देखिएको छ। 

उदाहरणको लागि एयरबस ३२०ले प्रतिघण्टा करिब २५०० लिटर अर्थात् साढे २ किलोलिटर हवाइ इन्धन खपत गर्छ। प्रतिकिलोलिटर सय डलर छुट पाउँदा अमेरिकी डलरको शुक्रबारको मूल्यअनुसार ३३ हजार रुपैयाँ बढी बचत हुन्छ। नेपालबाट खाडी मुलुकको उडान ४ देखि ५ घण्टाको हुने गरेको छ। ४ घण्टा उडान गर्दा करिब १ लाख ३० हजार बचत हुन्छ। 

‘हामीले एक घण्टा उडान गर्दा २ किलोलिटर खपत हुने गरेको छ’, हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्, ‘कति खर्च लाग्ने भन्ने गन्तव्यअनुसार फरक हुन्छ। मध्यपूर्वका उडान करिब ४ घण्टाका हुन्छन्, अब इन्धन छुट पाउँदा सञ्चालन खर्च घट्छ।’

सरकारले इन्धनबाहेकका शुल्कमा पनि छुट दिने उल्लेख गरेकाले पोखरा र भैरहवा विमानस्थल सञ्चालन हुनेमा आशावादी हुनुपर्ने बताए। 

कुन कुनले उडान भर्छन्?
नागरिक उड्डयन प्राधिकरणले एयर एसियालाई भैरहवा उडान गर्ने शर्तमा त्रिभुवन विमानस्थलबाट सेप्टेम्बरबाटै उडान गर्न अनुमति दिएको छ। प्राधिकरणका अनुसार एयर एसियाको थाइल्यान्डमा भएको विंग्स (थाई एयर एसिया)ले त्रिभुवन विमानस्थलमा दैनिक एक उडान गर्नको लागि अनुमति माग गरेको थियो। २० सेप्टेम्बर २०२४ बाट उडान गर्न अनुमति दिएको छ। 

त्रिभुवन विमानस्थल विस्तारको लागि नोभेम्बर ८ बाट विमानस्थल १० घण्टा बन्द हुँदै छ। रातिको समयमा उडान गर्ने वायुयानलाई प्राधिकरणले पोखरा वा भैरहवामा उडानको तालिका पेस गर्न आग्रह गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानका लागि शर्त अघि सारेका थिए। नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २ एयरलाइन्स एयर एस्ट्रे र ड्रुक एयरले भ्याट, सर्भिस चार्ज, ग्राउन्ड ह्यान्डलिङ लगायतको सुविधा माग गरेको छ। यसअघि नै भैरहवामा नियमित उडान गर्न जजिरा एयरलगायतका वायुसेवा कम्पनीले पनि इन्धनमा छुट माग गरेका थिए। जुन सरकारले सम्बोधन गर्ने निर्णय गरिसकेको छ। 

प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशतसम्म छुटसँगै ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सर्भिसमा छुट दिने बताएको छ। हिमालय, जजिरा, एयर एसिया एयर एस्ट्रे र ड्रुक एयरले पोखरा र भैरहवाबाट उडान गर्न सक्ने देखिन्छ।

कम्पनीहरुको माग पूरा भयो अब पोखरा र भैरहवाबाट उडान सुरु हुन्छ : भुल 
नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकृत ज्ञानेन्द्र भुलले काठमाडौंमा एयर ट्राफिक बढेको बताउँदै अब ‘एडजस्ट’ गर्न नसकिने बताए। 

यसका लागि विमान कम्पनीहरु भैरहवा र पोखरा जानुको विकल्प नरहेको उनको भनाइ छ। नयाँ सरकार बनेपछि कम्पनीहरुले राखेका छुट र सुविधाको सम्बोधन भएकाले नयाँ कम्पनीहरुले उडान गर्ने भुलले बताए। 

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट निर्णय भएको छ। त्यसको विस्तृतमा आउन बाँकी छ तर १३ प्रतिशत भ्याट, ग्राउन्ड ह्यान्डलिङ चार्ज, टुजिरजम ट्याक्स र अर्को भैरहवाबाट भर्ने हवाइ इन्धनमा निश्चित रकम छुट हुनुपर्छ भन्ने तरिकाले माग भएकोमा सोहीअनुसार निर्णय भएको छ’, उनले भने।  

उनका अनुसार जजिरा एयरवेजले कुवेतबाट भैरहवा प्रतिहप्ता ४ उडान, विज एयरले आबुधाबीबाट भैरहवा हप्ताको सात उडान र एयर एस्ट्रेले बंगलादेशबाट पोखरामा हप्ताको दुईदेखि तीनवटा उडानको लागि विभिन्न छुटको सेवा सुविधा माग गरेकामा त्यो पूरा भएकाले अब उडान गर्ने उनको आशा छ। 

जजिरा एयरवेजले यसअघि विदेशबाट भैरहवा चारवटा उडान गरेको थियो। यात्रु कम भएपछि घाटा भएको भन्दै उडान गरेको थिएन। भिसा, श्रम, क्वारेन्टाइनका कुराहरु लगायत विदेश जान चाहिने सबै कुराहरु भैरहवा र पोखरामै उपलब्ध भए मात्र २ एयरपोर्टहरु भाइब्रेन्ट हुने भनेर प्राधिकरणले सरकारसँग माग राख्दै आएको भुलको भनाइ छ। 

ती दुई विमानस्थल चलाउन प्राधिकरणले वायुसेवा कम्पनीहरुसँग पनि यात्रुहरुलाई लाभ मिल्ने गरी १०÷१५ हजार छुट दिनुपर्ने कुरा उठाउने उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .