ad ad

कारोबार


एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : पर्यटन मन्त्रालयले भन्यो- उद्धारमा ढिलाइ भएको छैन

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना : पर्यटन मन्त्रालयले भन्यो- उद्धारमा ढिलाइ भएको छैन

नेपालखबर
साउन २४, २०८१ बिहिबार ८:३८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा ढिलाइ नभएको दाबी गरेको छ। 

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको सचिवालले हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वभाविक ढिलाइ भएको भन्ने ढंगले प्रकाशित कतिपय समाचारप्रति मन्त्री पाण्डेको गम्भीर ध्यानाकषर्ण भएको जनाउँदै यस्तो दाबी गरेको हो।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका- ७ सूर्यचौरमा दिउँसो पाँचजना सवार एयर डाइनेष्टिको एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो। दुर्घटनामा एक नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो। 

हेलिकप्टर दुर्घटना लगत्तै मन्त्री पाण्डेले नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायतका सम्बन्धित पदाधिकारीसँग जानकारी लिएका थिए।  

‘घटनाका सम्बन्धमा क्यानका पदाधिकारीलाई सम्पर्क गर्दा प्राविधिक कारणले दुर्घटना यकिन गर्न केही समय लागेको थियो,’ पाण्डेको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘दुर्घटनास्थल पहिचान हुनासाथ प्रतिकुल मौसमका बाबजुत उद्धारका लागि प्रभु कम्पनीको हेलिकप्टर पठाइएको थियो।’

प्रभुको हेलिकप्टर पनि प्रतिकूल मौसमको कारण फिर्ता हुन नसकी राति पनि सोही स्थानमा रहेको पाण्डेको सचिवालयले जनाएको छ। 

करीब १५ दिनको अवधिमा नेपालमा दुईवटा हवाइ दुर्घटना हुनुलाई पर्यटन मन्त्रालयले दुर्भाग्यपूर्ण भनेको छ। 

‘करीब १५ दिनको अवधिमा दुईवटा हवाइ दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको निश्कर्षसहित मन्त्रालयले हवाइ सुरक्षाको विषयलाई उच्चतम् प्राथिमकतामा राख्दै आजैबाट तत्तकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको छ,’ प्रेस नोटमा भनिएको छ।
 
दुर्घटनापछि मन्त्री पाण्डेले एक हप्ताभरका लागि पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम स्थागित तथा जरुरी बाहेकका भेटघाटलाई बन्द गरेका छन्। यस अवधिमा हवाई सुरक्षाका विषयमा केन्द्रित भएर आवश्यक कदम चाल्नको लागि मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने तयारी गरिएकाे पनि मन्त्रालयले जनाएको छ।

‘नेपाली उड्डयन क्षेत्रले भोग्नु परेको यो असहजताको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गरिएको छ,’ प्रेस नोटमा भनिएको छ।

मन्त्रालयले हवाई सुरक्षाको सम्बन्धमा तत्काल र दीर्घकालमा चाल्नु पर्ने कदमका विषयमा कुनै सुझाव वा जानकारी भएमा सुझाव दिन सबैमा अनुरोधसमेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .