गण्डकी प्रदेशका विभिन्न स्थानमा घुम्न जानेमा सबैभन्दा बढी युरोपेली मुलुकका पर्यटक छन्। नेपाल राष्ट्र बैंकले प्रदेशका ६ जिल्लामा गरेको सर्वेक्षणअनुसार उनीहरूले दैनिक साढे ८ हजार खर्च गर्ने गरेका छन्।
अध्ययनअनुसार यहाँ आउने पर्यटकको औसत बसाइ २२ दिन छ। १२ दिन गण्डकीमै बिताउँछन्। सर्वेक्षणमा संलग्न पर्यटकहरूको नेपालको औसत बसाइको तुलनामा गण्डकी प्रदेशको औसत बसाइ ५४.५५ प्रतिशत छ।
गण्डकीमा पुरुष पर्यटकको तुलनामा महिला पर्यटकको औसत बसाइ अवधि उच्च पाइएको छ। नेपाल भ्रमण गर्ने महिला पर्यटकहरूले औसतमा २५ दिन र पुरुष पर्यटकहरूले औसतमा २० दिन भ्रमण गर्ने गरेका छन्। पर्यटकहरूको भारित औसत दैनिक खर्च ६२.८९ अमेरिकी डलर छ।
सर्वेक्षणमा समावेश पर्यटकहरूमध्ये केही पनि समस्या अनुभव नगरेका पर्यटकहरू २८.४१ प्रतिशत हुँदा बाँकी ७१.५९ प्रतिशत पर्यटकहरूले विभिन्न समस्या परेको बताएका छन्। यीमध्ये यातायातको समस्या भोग्ने २३.११ प्रतिशत, भुक्तानीको समस्या व्यहोर्ने १५.३४ प्रतिशत र भाषागत जटिलताको अनुभव गर्ने १२.३१ प्रतिशत पर्यटक छन्।
गण्डकी प्रदेशमा सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाबाट पर्यटक आउने गरेको अध्ययनले देखाएको छ।
महादेशगत तुलनामा सबैभन्दा बढी आउने पर्यटक युरोपबाट ४६.२५ प्रतिशत र सबैभन्दा कम दक्षिण अमेरिकाबाट ०.७५ प्रतिशत छन्।
गण्डकी प्रदेशमा आउने पर्यटकहरूमध्ये ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकहरू सबैभन्दा बढी ३३ प्रतिशत रहेको पाइएको छ भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका पर्यटकहरू १.५ प्रतिशत रहेको देखिएको छ।
साहसिक क्रियाकलापमै बढी रमाउँछन्, मनाङ घुम्ने धेरै दिन बस्छन्
राष्ट्र बैंकको सर्वेक्षणले गण्डकी प्रदेशमा पर्यटकहरू सबैभन्दा बढी साहसिक क्रियाकलापमा संलग्न (४०.१८ प्रतिशत) पाइएका छन्। मनोरञ्जनका लागि २४.३ प्रतिशत, सांस्कृतिक प्रयोजनका लागि १६.८४ प्रतिशत, धार्मिक प्रयोजनका लागि १०.१८ र सबैभन्दा कम २.९८ प्रतिशत पर्यटकहरू व्यापारिक प्रयोजनका लागि आउने गरेका छन्।
गण्डकीमा पहिलोपटक आउने पर्यटकहरू ६८ प्रतिशत भेटिएका छन् भने ३२ प्रतिशत एकपटकभन्दा बढी आएका पाइएका छन्।
एकलरूपमा घुम्न आउने पर्यटक ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत छ।
अध्ययनमा संलग्न पर्यटकहरूमध्ये ३१ देखि ४५ उमेर समूहका पर्यटकको औसत बसाइ अवधि उच्च छ। त्यसैगरी ५५ देखि बढी उमेर समूहका पर्यटकहरूको गण्डकी प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा न्यून छ।
‘६ महादेशबाट आएका पर्यटकहरूमध्ये दक्षिण अमेरिका महादेशबाट आएका पर्यटकहरूको औसत बसाइ अवधि सबैभन्दा धेरै १९ दिन रहेको पाइयो भने सबैभन्दा कम औसत बसाइ अवधि ९ दिन एसिया महादेशबाट आउने पर्यटकहरूको रहेको पाइयो’, सर्वेक्षणमा उल्लेख छ।
गण्डकी प्रदेशका विभिन्न ६ जिल्लाबाट नमूना संकलन गरिएकोमा मनाङ जिल्लामा भेटिएका पर्यटकहरूको गण्डकी प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा धेरै १८ दिन र गोरखा जिल्लामा भेटिएका पर्यटकहरूको गण्डकी प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा न्यून ४ दिन छ।
गण्डकी प्रदेशमा आउने पर्यटकहरूको प्रदेशमा बसाइको अनुभवप्रतिको दृष्टिकोण विश्लेषण गर्दा ६० प्रतिशत पर्यटकहरू एकदमै सकारात्मक, ३४.७५ प्रतिशत सकारात्मक, ५ प्रतिशत तटस्थ र ०.२५ प्रतिशत नकारात्मक रहेको अध्ययनले देखाएको छ।
गण्डकी घुम्ने पर्यटकहरूमा स्वतःस्फुर्त रुपमा ७६ प्रतिशत र प्याकेज भ्रमणमा आउने पर्यटकहरू २४ प्रतिशत छन्। प्याकेज लिएर भ्रमण गर्न आउने पर्यटकहरूमध्ये राष्ट्रिय प्याकेज लिने पर्यटकहरूको अंश ५३.१२ प्रतिशत र अन्तर्राष्ट्रिय प्याकेज लिने पर्यटकहरू ४६.८८ प्रतिशत छन्।
प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत खर्च दैनिक ११ हजार ८६६ रुपैयाँ र स्वतःस्फुर्त रुपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरूको दैनिक औसत खर्च ७ हजार २१७ रुपैयाँ छ।
खानामा सबैभन्दा बढी खर्च, नगदै भुक्तानी गर्नुपर्ने बाध्यता
पर्यटकहरूले सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत गर्ने गरेका छन्। यसबाहेक बसाइमा २७ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत खर्च गर्ने देखिएको छ।
उमेर समूहका आधारमा पर्यटकहरूको खर्च गर्ने प्रवृत्ति हेर्दा ४६ देखि ५५ उमेर समूहका पर्यटकहरूको बसाइ खर्च ३२.४९, खानपिन खर्च २९.२६ र धार्मिक खर्च १.५७ प्रतिशत छ। पुरुषले बसाइ खर्च र महिलाले खानपिनमा बढी खर्च गर्छन्।
भुक्तानी नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले, कार्डको माध्यमबाट ४.९७ प्रतिशत पर्यटकले र मोबाइल वालेटको माध्यमबाट ०.१० प्रतिशत पर्यटकले विभिन्न खर्चका लागि भुक्तानी गरेका छन्।
विभिन्न खर्चको भुक्तानी गर्दा नगद नै बढी प्रयोग हुनुको कारणहरूमा कार्ड रिडिङ मेसिन सबै ठाउँमा सहजै उपलब्ध नहुनु, भएकाले पनि सबै कार्ड स्वीकार नगर्नु, कमिसन शुल्क धेरै हुनु, कार्डबाट नगद निकाल्ने सीमा थोरै हुनु, सबै ठाउँमा अनलाइन भुक्तानी गर्न नसक्नुजस्ता कारण रहेको अध्ययनमा औँल्याइएको छ।
Shares
प्रतिक्रिया