ad ad

कारोबार


‘उडाउन ठीक छ’ भनेर जहाजमा बसेका प्राविधिकले लगत्तै ज्यान गुमाए

मर्मतका लागि जाँदै गरेको जहाजमा किन १९ जना चढे?
‘उडाउन ठीक छ’ भनेर जहाजमा बसेका प्राविधिकले लगत्तै ज्यान गुमाए

वसन्त अर्याल
साउन ९, २०८१ बुधबार २०:४६, काठमाडौँ

सौर्य एयरलाइन्सको ९एन–एएमई/सीआरजे २०० जहाज मर्मतको लागि १/२ दिनमै विदेशबाट उत्पादक कम्पनी बोम्बार्डियरकै दुई प्राविधिक पोखरा आउँदै थिए।

यसका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सले ह्यांगरसमेत लिएर पूर्ण परीक्षणको तयारी गरेको थियो। सोहीअनुसार बुधबार बिहान काठमाडौँबाट मर्मतका लागि सौर्य एयरलाइन्सले प्राविधिकहरूसहित जहाजलाई पोखरा पठाउने तय गरेको थियो। 

उडान समयअघि नै सोही जहाजमा पोखरा जान लागेका प्राविधिकहरूले परीक्षण गरेका थिए। परीक्षणपछि उनीहरूले नै ‘ठीक छ’ भनेका थिए। आफैँ जाने प्राविधिकले जहाज उडाउन ठीक छ भनेपछि बिहान ११ः११ मा जहाज उड्यो। तर, उडेको केही सेकेन्डमै दुर्घटना भयो। १८ जनाले ज्यान गुमाए। 

उक्त दुर्घटनामा उडान गर्नुअघि जहाज परीक्षण गरेका इन्जिनियरले नै ज्यान गुमाएका छन्। दुर्घटनामा पर्नेमा सौर्य एयरलाइन्सका ४ व्यवस्थापकसहित १८ जनाले ज्यान गुमाएका छन्।

‘उड्नै नसक्ने जहाजमा किन यति धेरै जना चढेको?’
यस दुर्घटनापछि ‘मर्मत’मा लैजान लागेको जहाजमा किन यति धेरै जना चढेको भनेर प्रश्नहरू गरिएका छन्। 

यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देक हंसराज पाण्डे भन्छन्, ‘धेरैले उड्नै नसक्ने जहाज किन उडाएको भनेको सुनिएको छ तर उड्नै नसक्ने जहाज उडाएको होइन। उडान हुनुअघि नै नियमित चेक गरेर उडानयोग्य भनेरै उडान भरिएको हो।’

उनका अनुसार निश्चित अवधिपछि सबै जहाजहरू पूर्ण परीक्षण गर्नुपर्छ। जहाजमा दैनिक कस्तो चेक गर्ने, १०० घण्टा उडान गरेपछि केके चेक गर्ने र कति समयमा पूर्ण चेक गर्ने भन्ने मापदण्ड हुन्छ। 

‘सी चेक (पूर्ण परीक्षण) गर्नको लागि अझै ५० घण्टा उड्न पाउने समय बाँकी नै थियो’, पाण्डेले दुर्घटनामा परेको जहाजबारे नेपालखबरसँग भने, ‘पूर्ण परीक्षण गर्दा जहाजका सबै पार्ट्स खोलेर हेर्नुपर्छ। त्यसमा पुराना भएका सामान फेर्नुपर्छ।’

सौर्य एयरलाइन्सले सन् २०१४ देखि बम्बार्डियरका जहाज उडाउँदै आएको छ। सन् २०१४ मा सौर्यले ९एन–एएलई आफ्नो पहिलो बम्बार्डियर विमानको रूपमा भित्र्याएको थियो। 

बुधबार दुर्घटनामा परेको जहाजले सन् २००३ बाट नियमित उडान सुरु गरेको थियो। नेपाली आकाशमा भने ९एन एएमई जहाज सन् २०१७ बाट उड्न थालेको हो। कम्पनीले दोस्रो बम्बार्डियर जहाजका रुपमा यसलाई भित्र्याएको थियो। मार्चमा नेपाल ल्याइएको जहाजले त्यही वर्षको अप्रिलमा उडान थालेको थियो। 

प्राधिकरणका अनुसार हरेक उडानअघि जहाजको नियमित चेकजाँच हुन्छ। सी–चेकचाहिँ निश्चित उडान अवधि पुगेपछि गरिन्छ। 

‘गाडी पनि कति किलोमिटर गुडेपछि सर्भिस वा मर्मत गर्ने भन्ने मापदण्ड हुन्छ। गाडी मर्मत गर्नको लागि पनि वर्कसपमै लगिन्छ। त्यसैगरी जहाज उडानयोग्य भएरै मर्मत गर्नको लागि पोखरा लगिँदै थियो’, प्राधिकरणले भनेको छ।

नेपाल वायु सेवा निगमको वाइडबडी जहाज पनि केही समयअघि त्रिभुवन विमानस्थलबाट दुबईमा यात्रु झारेर सी चेक गर्नको लागि इटाली लगिएको थियो। नियमित उडान भइरहेकै जहाजको सी चेक अर्थात् विस्तृत रूपमा जाँच गरिन्छ। 

सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमै मर्मत गर्न सकिने भए पनि ह्यांगरभित्र राख्नलाई ठाउँ अभाव थियो। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नयाँ भएको र ह्यांगर (जहाज मर्मत गर्ने ठाउँ) पनि ठूलो भएको कारण पूर्ण मर्मत पोखरामा गर्न प्राधिकरणले नै कम्पनीलाई स्वीकृति दिएको थियो।

‘जहाजहरूको विस्तृत परीक्षण गर्ने उद्देश्यले नै प्राधिकरणले पोखरामा ह्यांगर बनाएको छ’, पाण्डेले सुनाए, ‘यात्रुको रूपमा गएका १७ मध्ये २ जना परिवारका सदस्यबाहेक सबै प्राविधिक नै थिए। जहाज उड्नयोग्य छ भनेर आफैँ बसेका थिए।’

यसकारण थिए १९ जना 
धेरैको चासो मर्मत गर्ने जहाजमा किन १९ जनाले उडान भरे भन्नेमा छ। जहाजमा थुप्रै प्राविधिक पाटा हुने भएकाले फरक–फरक प्राविधिक हुने पाण्डे बताउँछन्।

‘केही इन्जिन, केही बडी, केही सिट, केही इलेक्ट्रिकलसम्बन्धी प्राविधिक हुन्छन्’, उनले थपे, ‘कम्पनीले राम्रो उद्देश्यले नै सबै प्राविधिकलाई पोखरा लगेर चेक गर्न लैजाँदै थियो। दुर्भाग्यवश दुर्घटना भयो।’

जहाजको सी चेक गर्दा उत्पादक कम्पनीको प्राविधिक पनि हुनुपर्छ। सोही कारण पोखरामा जहाज मर्मतकै लागि २ जना बोम्बार्डियरकै प्राविधिक नेपाल आउँदै थिए। उत्पादक कम्पनीको विज्ञकै नेतृत्वमा पोखरामा बसेर जहाज मर्मत गर्ने उद्देश्य राखिएको थियो। २० दिनदेखि १ महिना लगाएर जहाजको पूर्ण परीक्षण गर्ने तयारी थियो।   

‘सामान्य उडान भरिरहेको जहाजलाई विस्तृत जाँच गर्नको लागि लैजान खोजिएको हो’, उनले थप प्रस्ट्याए, ‘एक चरणको प्राविधिक परीक्षण काठमाडौंमा भएपछि नै पोखरा लैजान खोजिएको हो।’

जडाज उडानयोग्य छ कि छैन भनी प्रमाणित गर्ने प्राविधिकले नै ‘योग्य छ’ भनी जहाजमा चढेकाले प्राधिकरण पनि ढुक्क थियो। जहाजकै प्राविधिकले परीक्षण गरे पनि प्राधिकरणले निरीक्षण भने गर्ने पाण्डे बताउँछन्। दुवैले उडानयोग्य रहेको रिपोर्ट दिएपछि नै जहाज रनवेमा गएको थियो।

‘उडानयोग्य छ भनी प्रमाणीकरण गरेको विषयमा जाँचबुझ आयोगले विस्तृत छानबिन गर्छ,’ उनले भने, ‘चेकजाँच गर्ने इन्जिनियरको सट्टा सर्वसाधारण उडेको भए बढी शंकाको दृष्टिले हेर्न सकिन्थ्यो।’ 

१८ जनाको मृत्यु, क्याप्टेन बाँचे 
काठमाडौँबाट उड्नासाथ बुधबार बिहान ११ बजेर ११ मिनेटमा उक्त जहाज दुर्घटनामा परेको थियो। 

प्राधिकरणले भनेको छ, ‘आज मिति २०८१/०४/०९ गते बुधबारका दिन सौर्य एयरलाइन्सको सीआरजे ९एन–एएमई जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो।’

जहाजमा पाइलट, कोपाइलटसहित १९ यात्रु सवार रहेका थिए। जसमा १ जना बच्चा र १ जना विदेशी इन्जिनियर थिए। क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भए पनि अरुले ज्यान गुमाएका छन्। 

मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट  सुसान्त कटुवाल रहेका छन्। सौर्य एयरलाइन्सका मनुराज शर्माले आफ्नो परिवार प्रिजा खतिवडा र छोरा अधिराज शर्मालाई सँगै लगेका थिए।

यीमध्ये सौर्य एयरलाइन्स ४ जना व्यवस्थापकहरू सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युइङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल र क्वालिटी एस्युअरेन्स प्रमुख दिलिप बर्माले ज्यान गुमाएका छन्।

अपरेसन डाइरेक्टर क्याप्टेन मनिषरत्न शाक्य दुर्घटनामा परे पनि भाग्यले बाँचे। क्याप्टेन शाक्यको अहिले उपचार भइरहेको छ। उपचारमा संलग्न डाक्टरले उनी ‘खतरामुक्त’ रहेको बताएका छन्।

क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्सको जहाज उडाउन सुरु गरेका थिए। सन् २०१२ मा उनी स्रिमिक एयरलाइन्समा आबद्ध भई सिम्रिककै उडान सुरु गरेका थिए। करिब ३ वर्ष सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरको रुपमा काम गरेका शाक्यले सन् २०१४ देखि सौर्य एयरलाइन्समा उडान सुरु गरे। 

पछिल्लो ९ वर्ष ८ महिनादेखि कम्पनीमा उनी अपरेसन प्रमुख रहेका छन्। शाक्यले उत्तराखण्ड, भारतको मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका छन्। 

सीआरजे २०० जहाजको नेपालमा पहिलो ठूलो दुर्घटना
क्यानेडियन कम्पनी बोम्बार्डियरको सीआरजे २०० जहाज नेपालमा पहिलो पटक दुर्घटनामा परेको हो। एभिएसन सेफ्टी नेटवर्कको रेडर्क अनुसार २०१८ र २०१९ मा सीआरजे २०० सामान्य दुर्घटनामा परे पनि मानवीय क्षति भएको थिएन। 

२०१८ सेप्टेम्बर १७ मा काठमाडौंबाट विराटनगर उडानको क्रममा चरासँग ठोक्किए पनि चालक दलसहित ५२ यात्रु सकुशल थिए। त्यस्तै सन् २०१९ नोभेम्बर ८ मा बोम्बार्डियरको श्री एयरलाइन्सको जहाज पार्किङको समयमा यति एयरलाइन्सको पंखासँग ठोक्किएको थियो। त्यतिबेला पनि मानवीय क्षति भएको थिएन।

बुधबारको दुर्घटनामा चालक दलसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ। जुन बोम्बार्डियर सीआरजे २०० को नेपालमा भएको पहिलो ठूलो दुर्घटना हो। 

उत्पादक कम्पनी बोम्बार्डियरले सीआरजे २०० को पहिलो उडान १९९५ मा सुरु गरेको थियो। विश्वभर हालसम्म ७९ वटा यस सिरिजका जहाज दुर्घटनामा परेका छन्। 

नेपालमा बुधबार दुर्घटनामा परेको बोम्बार्डियर ९एन एएमइ जहाज सन् २००३ मा उत्पादन भएको थियो। यसमा २ वटा जेट इन्जिन छन्। नागरिक उड्डयन प्राधिकरणले गत वैशाख १४ गते १ वर्षको लागि जहाजलाई उडान अनुमति दिएको थियो। उक्त दिनसम्म जहाजले २८ हजार ७८५ घण्टा ५७ मिनेट उडान भरिसकेको थियो। 

नेपालमा बोम्बार्डियरको जहाज अहिले सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले उडान गर्दै आएका छन्। 

दुर्घटनासम्बन्धी थप सामग्री- 

सबै तस्बिर : सरोज बैजु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .